Erani Mahal
श्रमशक्तिलाई उपयाेग गर्न नसकेकाे पूर्व गभर्नर नेपालकाे भनाई
dr chir
पाल्पा - नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर चिरन्जीवी नेपालले सरकारले मुलुकको श्रमशक्तिलाई सही उपयोग गर्न नसकेको बताउनुभएको छ । नेपालमा ५७ प्रतिशत श्रम गर्न सक्ने शक्ति छ तर सरकारले सही तरिकाले परिचालन गरेर लाभ लिन नसकेको उहाँले बताउनुभयो । प्रभात माध्यमिक विद्यालय रिब्दीकोट गाउँपालिका–७, मैनादीमा शुक्रबार आयोजित प्रि डिप्लोमा वाली विज्ञान कक्षा शुभारम्भ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अहिले युवा जमात विदेशमा छन्, त्यहाँको उन्नति गर्न उनीहरूले मरुभूमिमा फूल रोपिरहेको उहाँले बताउनुभयो । ‘बेचिएका युवाबाट आएको रेमिट्यान्सले सरकार चलिरहेको छ’ उहाँले भन्नुभयो ‘सरकारले युवालाई जागिर दिन पनि परेको छैन्, जुन सरकार आएपनि आनन्द लिइरहेका छन्, रेमिट्यान्समा मजा लिइरहेका छन् ।’ नेपालीले पछिल्लो समयमा मेहनत गर्न छाडेको उहाँ बताउनुहुन्छ । अर्कालाई दोष लगाउने, नेता बदमास भए, नेपालमा केही हुँदैन्, देश बिगारे भन्दै छोराछोरी विदेश पठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘विदेशमा नेपाली युवाले दोस्रो दर्जाको नागरिक भएर काम गर्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘सीप नभएकाले जस्तोसुकै काम गर्दा रोगी भएर फर्किएका छन् । त्यसैले प्राविधिक शिक्षा अध्ययन गरेर सीप सिक्न आवश्यक छ ।’ प्राविधिक ज्ञान र सीप आर्जन गरेर सरकारसँग व्यवसाय, रोजगार सिर्जना गर्न माग गर्दै युवा एक पटक सडकमा गएर आन्दोलन गर्न जरुरी छ । दलालको पछि लागेर विदेश नजानले सुझाव दिनुभयो । परिवारसँगै बसेर जीवन जिउनको लागि प्राविधिक शिक्षाको विकल्प नभएको उहाँले बताउनुभयो । प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउन सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने नेपालले बताउनुभयो । प्राविधिक शिक्षाले मानिसको जीवनस्तरमा परिवर्तन ल्याउने उहाँले बताउनुभयो । सहज र सरल जीवनयापन गर्न प्राविधिक शिक्षा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update