Erani Mahal
साक्षरता कार्यक्रम हस्तान्तरण
131988230_848470342362388_5565476329618737921_n
पाल्पा – रुम टु रिड नेपाल र बेस नेपालले पाल्पाका २५ वटा विद्यालयमा साक्षरता कार्यक्रम हस्तान्तरण गरेको छ । सन २०१७ देखि विद्यालयमा संचालित साक्षरता कार्यक्रम एक भर्चुअल कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरेको हो । सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पाल्पाका कार्यबाहक सभापति मीरा मरासिनीले विद्यार्थीहरुको सिकाई उपलब्धीलाई निरन्तरता दिन स्थानीय सरकार, सरोकारवाला, गैर सरकारी संस्था एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । साक्षरता कार्यक्रम लागु भएका विद्यालयका विद्यार्थीहरुको सिकाई उपलब्धी, कक्षाकोठाको शैक्षिक वातावरणलाई नजिकबाट हेर्ने अवसर प्राप्त गरेको र विद्यार्थीहरुको सिकाई उपलब्धी प्रभावकारी रहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सबै पक्ष एक भएर अगाडि बढ्नुपर्ने सभापति मरासिनीले बताउनुभयो । कार्यक्रममा बोल्दै सभापति मरासिनीले रुम टु रिड नेपाल र बेस नेपालले सामुदायिक विद्यालयमा सञ्चालन गरेको साक्षरता कार्यक्रम अन्र्तगत कक्षा शिक्षण विधि तथा पुस्तकालय व्यवस्थापनले साना विद्यार्थीहरुको पढ्ने सीप र बानीको विकास गरेको र शिक्षकहरुलाई समेत जिम्मेवार बनाएको बताउनुभयो । प्रभावकारी सिकाईलाई निरन्तरता दिन विद्यालय, स्थानीय निकाय, सरोकारवालालाई अनुरोध गर्दै विद्यालयलाई शुभकामना समेत व्यक्त गर्नुभयो । हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले रुम टु रिड नेपाल र बेस नेपालले जिल्लास्थित सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै, हस्तान्तरणपछि विद्यालयलाई थप जिम्मेवारी थपिएको बताउनुभयो । प्रमुख पौडेलले विद्यालयमा भएका गतिविधिहरुलाई निरन्तरता दिने साथै कार्यक्रमबाट सिकेका सीपहरुलाई अझ थप गरी दिगो रुपमा लैजानुपर्ने बताउनुभयो । साथै साक्षरता कार्यक्रमलाई विद्यालयमा प्रभावकारी बनाउन र निरन्तरता दिन अनुरोध गर्नुभयो । कार्यक्रममा रैनादेवी छहरा गाउँ पालिकाका शिक्षा शाखा प्रमुख निशा पाण्डेय, रुम टु रिड नेपाल तनहुँ फिल्ड कार्यालयका वरिष्ठ फिल्ड व्यवस्थापक सुशील तिमिल्सिना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयका तर्फबाट आदर्श माध्यमिक विद्यालय रिब्दीकोटका प्रधानाध्यापक निर्मल खनाल, सृजना आधारभूत विद्यालय तिनाहुँका प्रधानाध्यापक श्री भद्र गौतम तथा लक्ष्मी माध्यमिक विद्यालय तानसेनका व्यवस्थापन समितिका अध्यक्ष विन्दु रावल लगायतले साक्षरता कार्यक्रमले विद्यार्थीहरुका सिकाई उपलब्धी बृद्धिमा सहयोग पु¥याएको भन्दै आगामी दिनमा विद्यालयमा यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले साक्षरता कार्यक्रमका उपलब्धी र आगामी योजना र अपेक्षाका विषयमा जानकारी गराउनुभएको थियो । श्रेष्ठले कोभिड १९ का कारण साक्षरता कार्यक्रमको हस्तान्तरण भर्चुअल माध्यमबाट गर्नुपरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा तथा समन्वय इकाई पाल्पाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखको रोहबरमा साक्षरता कार्यक्रमलाई हस्तान्तरण गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो । २५ विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुको सहभागीता रहेको हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सभापति मीरा मरासिनीको प्रमुख आतिथ्यता, बेस नेपालका अध्यक्ष छविलाल सुवेदीको सभापतित्व र बेस नेपालका कार्यक्रम संयोजक प्रकाश पाण्डेको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update