Erani Mahal
स्याङ्जामा धान उत्पादन बढ्यो
Dhan
स्याङ्जा - स्याङ्जा जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ मा एक हजार ७७४ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष १८ हजार १२० हेक्टर क्षेत्रफलमा ६५ हजार ३३२ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार १३७ हेक्टर क्षेत्रफलमा ६७ हजार १०६ मेट्रिक टन धान उत्पादन भएको हो । धान उत्पादन वृद्धि हुनुको मुख्य कारण गत वर्षको तुलनामा यस वर्ष धानखेतीको क्षेत्रफल बढ्नु रहेको कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षेत्रफल बढ्नुको अलावा आधुनिक यन्त्र उपकरणको प्रयोग, उन्नत बीउको प्रयोग, मौसम अनुकूल हुनु र बन्दाबन्दीका कारण जनशक्ति पर्याप्त हुनुलगायतका कारणले उत्पादनमा वृद्धि भएको हो ।’ विगतका वर्षमा धान रोप्न शुरु गर्ने समय र अन्त्य गर्ने समयको अन्तर धेरै हुने गरेकामा यस वर्ष समयमै रोपाइँ शुरु भई समयमै सकिएकाले पनि उत्पादनमा वृद्धि भएको जनाइएको छ । जिल्लाका चापाकोट टार, जिमुहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेवाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update