Erani Mahal
पाल्पामा सवारी दुर्घटना न्यूनिकरणका लागि चालकलाई प्रशिक्षण
Trafic_ prasikshad
पाल्पा – सडकमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि पाल्पामा सवारी चालक तथा सह–चालकलाई प्रशिक्षण दिन शुरु गरिएको छ । बिहीवार पाल्पा सदरमुकाम तानसेनको बसपार्कमा बस, जीप तथा ट्याक्टर चालक तथा सह–चालकलाई प्रशिक्षण दिईएको छ । सवारी दुर्घटना बढ्दै गईरहेकाले त्यसको न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र बसपार्कस्थित सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीवार प्रशिक्षण दिईएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविन मरासिनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख उपेन्द्र बुढाथोकीले सवारी दुर्घटना न्यूनिकरण, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा बोल्दै प्रहरी निरीक्षक मरासिनीले सवारी दुर्घटना न्यूनिकरण गर्न सबै चालक तथा सह–चालक जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो । उहाँले जिम्मेवार भएर सवारी चलाउन चालकहलाई आग्रह गर्नुभयो । पाल्पाका ट्राफिक प्रमुख बुढाथोकीले चिसो बढेसंगै दुर्घटना पनि बढेको बताउँदै त्यसलाई मध्येनजर गर्दै प्रशिक्षण शुरु गरिएको बताउनुभयो । छिट्टै टिप्पर चालकलाई पनि प्रशिक्षण दिईने उहाँले बताउनुभयो । श्रीनगर यातायात व्यवसायी समिति प्रा.लि.का कोषाध्यक्ष किरण चित्रकार, सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश उप्रेतीले सुस्त गति नै दुर्घटना न्यूनिकरणको उपाय भएको भन्दै गतिमा ध्यान दिन सवारी चालकलाई आग्रह गर्नुभयो । प्रशिक्षणमा सवारी चालक, सह–चालकहरु तथा यातायात व्यवसायीहरु गरी ७० जना बढीको सहभागीता थियो । सडक दुर्घटना न्यूनिकरण गर्न प्रशिक्षण प्रभावकारी हुने विश्वास ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीले जिल्लामा हुने गरेको सवारी दुर्घटना न्यूनिकरण गर्न सक्रियता बढाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update