Erani Mahal
पाल्पा–बुटवल सडक सुधार गर्न तीन वर्षमा १७ करोड ४९ लाख खर्च
siddhartha-rajmarga
पाल्पा – सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड सुधार तथा मर्मतमा १७ करोड ४९ लाख रुपियाँ खर्च भएको छ । राजमार्गको सडक सुधार र मर्मतमा मात्रै तीन वर्षको अबधिभित्र १७ करोड ४९ लाख खर्च भएको हो । शिद्धबावादेखि राम्दीसम्मको सडकको लम्बाई ६४ किलोमिटर बढी छ । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार राजमार्गको पाल्पा–बुटवल खण्डमा मोड सुधार, नाली निर्माण, खाल्टाखुल्टी टाल्ने र पहिरो हटाउने कार्यमा १७ करोड बढी खर्च भएको छ । यद्यपी सडक मर्मतमा करोडौँ खर्च भएपनि यो सडकका यात्रा गर्ने यात्रुहरूले भने सास्ती बेहोर्दै आएका छन् । सडक कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७४/०७५ मा पाँच करोड ७९ लाख सडक सुधारमा खर्च गरेको थियो । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा चार करोड ८८ लाख, आर्थिक वर्ष २०७६/०७७ मा छ करोड ४३ लाख रुपियाँ सिद्धार्थ राजमार्गको मर्मतमा खर्च भएको थियो । यो वर्ष वर्षात्का कारण अबरुद्ध बनेको सडक खुलाउन मात्रै ३९ लाख रुपियाँ खर्च भएको छ । सिद्धार्थ राजमार्गमा खसेको पहिरो हटाउन ३४ लाख ५० हजार रुपैयाँ तेल खर्च र चार लाख ४८ हजार रुपैयाँ कर्मचारीको भत्ता र खानाका लागि खर्च भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो । सडक कार्यालयले करोडौँ रकम खर्च गरेतापनि सडकको अवस्था भने सुधार हुन नसकेको यात्रु तथा चालकको गुनासो छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको विभिन्न स्थानमा अहिले पनि खाल्टाखुल्टी र उबडखाबड छ । ठूला सवारीसाधन कच्ची सडकमा जस्तै गुड्छन् । सडकमा सवारीसाधनलाई गुड्न सहज अवस्था नरहेको बस चालक प्रकाश केसीले बताउनुभयो । सडक कार्यालयले सिद्धबावा क्षेत्रको सडक सुधार गर्न सबैभन्दा बढी खर्च गरेपनि त्यस क्षेत्रमा सवारीसाधन गुड्नै नसक्ने गरी सडक विग्रिएको छ । तर, सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी खत्रीले सिद्धबावा क्षेत्रमा भौगोलिक जटिलताले सडक बिग्रने गरेको बताउनुभयो । ‘झुम्सादेखि तल्लो शिद्धबावासम्मको सडकमा माथिबाट निरन्तर पहिरो खस्ने समस्या छ’ उहाँले भन्नुभयो –‘त्यसले पनि सडक बिग्रिएको हो ।’ सिद्धार्थ राजमार्गमा अत्याधिक भारका सवारीसाधन गुड्नाले मर्मत गरेको सडक टिक्न नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । विशेष गरेर अत्याधिक भारका ट्रिपर सञ्चालनले पनि सिद्धबावा क्षेत्रको सडक कमजोर बनेको हो । सडकको अवस्था नाजुक भएका कारण सिद्धबावा क्षेत्रमा अत्याधिक दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख उपेन्द्र बुढाथोकीले बताउनुभयो । उहाँले सडक सुधार/मोड कटानका क्रममा निस्किएको माटो सडकमा राख्ने गर्नाले पनि दुर्घटनाको जोखिम तथा सडकको अवस्था झन जिर्ण बन्दै गएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update