Erani Mahal
बगनासकालीका विद्यालय सोमबारदेखि सञ्चालन हुने
22
पाल्पा - पाल्पाको वगनासकाली गाउँपालिकाका सम्पूर्ण विद्यालयहरु सोमबारदेखि संचालन हुने भएका छन् । कोरोना महामारीका कारण विद्यालयहरुमा हुने सिकाई क्रियाकलापमा ठूलो प्रभाव परेको निचोड निकाल्दै गाउँपालिकाले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय संचालनको निर्णय गरेको छ। गाउँपालिकाको शिक्षा समितिको आईतबारको बैठकले नियमितरुपमा विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने निर्णय गरेको हो। विद्यालय संचालन सम्बन्धि कार्यढाँचा २०७७ अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालयमा हुने सिकाई क्रियाकलापलाई सुचारु गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई सम्बन्धित वडाबाट विद्यालय संचालनको स्वीकृति लिई संचालन गर्न सकिने अध्यक्ष बस्यालले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दा अभिभावकहरुको सहमती लिनुपर्ने छ । विद्यालय संचालन गर्दा अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने व्यवस्था मिलाउनुपर्नेछ । त्यस्तै, कक्षाकोठाभित्र विद्यार्थीको भौतिक दुरी कायम गर्न एक बेञ्चमा दुई जना विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनुपर्ने छ । रुघा, खोकी, ज्वरोका लक्षण देखिएमा त्यस्ता विद्यार्थीहरुलाई घरबाट नआउने भन्ने साथै कोरोना पोजेटिभ देखिएका परिवारका विद्यार्थीहरु समेत विद्यालयमा नआउन भन्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ज्वरो नाप्ने थर्मोल गन र स्यानीटाइजर एकपटकलाई उपलब्ध गराउन गाउँपालिकालाई अनुरोध गर्न आग्रह गरिएको छ । सबै मापदण्डहरुको पूर्ण पालना गर्ने/गराउने दायित्व सम्बन्धित विद्यालयको प्रध्यानाध्यापकको रहनेछ । सम्बन्धित वडाको जनप्रतिनिधि, राजनीतिक दल, संघ–संस्थाको प्रतिनिधि र सरोकारवालाहरुले तोकिएको मापदण्डअनसुसार विद्यालय संचालन भए/नभएको अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । पाल्पाको निस्दी गाउँपालिकामा आईतबारदेखि विद्यालयमै पठनपाठन शुरु गरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update