Erani Mahal
पाल्पाका पुष्प व्यवसायीले भने – तिहारमा मागअनुसार फूल पुर्‍याउन सकेनौं !
phool_kheti6
पाल्पा - २ रोपनी जग्गामा ढकमक्क फुलेको सयपत्री फूलले तिहारमा बजार पाउँदैनकी भन्ने चिन्तामा रहनुभएकी तानसेनकी प्रतिक्षा सिंजाली अहिले मख्ख हुनुहुन्छ । केही साथीहरुसंग मिलेर तानसेन –७ काजीपौवामा फूल खेती गर्नुभएकी उहाँले यसवर्षको तिहारमा मागअनुसार फूल पुर्याउनै नसकेको बताउनुभयो । ‘कोरोनाको समय भएकाले राम्रो बिक्दैनकी भन्ने चिन्ता थियो’ प्रतिक्षाले भन्नुभयो –‘तर नसोँचेको माग भयो । यहाँको फूलले पुर्याउन नसकेर अन्यन्त्रबाट १ सय वटा माला ल्याएर समेत बिक्री गर्यौ ।’ उहाँले यसवर्ष तिहारमा फूल बिक्रीबाट ५० हजार बढी आम्दानी गरेको बताउनुभयो । पाल्पासंगै रुपन्देही, नवलपरासी, काठमाडौंसम्म फूल पुगेको बताउनुभयो । रामपुरका पुष्प व्यवसायी दिल बहादुर थापाले पनि अपेक्षा गरेभन्दा निकै बढी फूलको माग भएको बताउनुभयो । उहाँले फूलको माग धेरै भएकाले तिहारमा फूलको अभाव भएको बताउनुभयो । ‘माग पुर्याउनै सकेनौं । निकै राम्रो व्यापार भयो’ –दिलबहादुरले भन्नुभयो । उहाँले ४ रोपनी जग्गामा लगाउनुभएको फूल तिहारमा स्याङ्जा, तनहुँ, रुपन्देही, नेपालगन्जसम्म पुगेको बताउनुभयो । तिहारमा फूल बिक्रीबाट १ लाख ५० हजार बढी आम्दानी भएको उहाँले बताउनुभयो । उहाँले यसवर्ष फूलको माग धान्न नसकेकाले आउँदो वर्ष अझ बढी उत्पादन गर्ने योजना बुनिसक्नुभएको छ । कोरोना महामारीकै बीचमा पनि फूलको व्यापार राम्रो भएपछि माथागढी –२ रुप्सेका व्यवसायी दामोदर घर्ती पनि खुसी हुनुहुन्छ । यसवर्ष परीक्षणका रुपमा २ रोपनी जग्गामा फूल खेती गर्नुभएका उहाँले व्यापार अपेक्षा गरेभन्दा राम्रो भएको बताउनुभयो । उहाँले तिहारमा ५० हजार रुपैयाँ बढीको फूल बिक्री गरेको बताउनुभयो । आउँदो वर्ष अझ विस्तार गर्ने उहाँले सुनाउनुभयो । पाल्पामा पछिल्लो समय व्यवसायिक फूलखेती फस्टाउँदै गएको छ । यसवर्ष फूलको माग राम्रो भएपछि व्यवसायी थप उत्साहित पनि भएका छन् । तानसेन, रामपुर, माथागढी बाहेक बगनासकाली, तिनाउ लगायतका स्थानमा पनि तिहारका लागि व्यवसायिक फूलखेती गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update