Erani Mahal
रामपुरमा ‘विद्या मन्दिर सार्वजनिक पुस्तकालय’ स्थापना
pustakalaye_Rampur
पाल्पा (रामपुर) – पाल्पाको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्याएको छ । गण्डकीबेशीको बढ्दो शहरीकरण रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले ‘विद्या मन्दिर सार्वजनिक पुस्तकालय’ सञ्चालनमा ल्याएको हो । पाल्पाको तानसेनमा नेपालकै पुरानो धवल पुस्तकालय रहेकोमा थप व्यवस्थित रुपमा रामपुरमा सार्वजनिक पुस्तकालय स्थापना गरिएको फाउण्डेशन नेपालले जनाएको छ । मानिस विद्यालयमा पढेर शिक्षित भएपनि बाहिरी फराकिलो ज्ञान बढाउने र पढ्ने बानीको विकास गराउने उद्देश्यले रामपुर –५ बेझाँड नहअफिसमा पुस्तकालय स्थापना गरिएको फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले बताउनुभयो । यस पुस्तकालयमा आएर जो कोहीले बसेर पुस्तक पढ्न सकिने उहाँले बताउनुभयो । पुस्तकालयमा अहिले धार्मिक, इतिहास, सांस्कृतिक, राजनितिक, अन्तराष्ट्रिय सम्बन्धका पुस्तक, सबै विधाका साहित्य, स्कुल र क्याम्पस तहका पाठ्यक्रमका पुस्तक, कृषि, स्वास्थ्य, जिवनोपयोगी पुस्तकसहित पाल्पाबाट प्रकाशित पुस्तक गरी ४ हजार ५ सय बढी पुस्तक छन् । निरन्तर रुपमा आवश्यक पुस्तक थप गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । प्राध्यापक, शिक्षक, विद्यार्थी, कृषकसंगै उद्योगी, व्यवसायी तथा स्थानीयले पुस्तकालयबाट ज्ञानले लिन सक्नेछन् । पुस्तकालयको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सांसद एवं नेपाली कांग्रेस पाल्पाका सभापति विर बहादुर रानाले पछिल्लो समय हरेक क्षेत्रमा नैतिक शिक्षाको खडेरी परेको बताउँदै व्यवहारिक र नैतिक शिक्षाको अभावले शासन व्यवस्था परिवर्तन भए पनि अभाव र समस्या कायम रहेको बताउनुभयो । उहाँले समाजलाई सचेत गराउन उचित ज्ञानको अभाव रहेको भन्दै यसको परिपूर्ति पुस्तकालयले गर्ने बताउनुभयो । एउटा सामाजिक संस्थाले शुरुवात गरेको पुस्तकालयलाई स्थानीय सरकार, अन्य संघसंस्था र व्यक्तिले साथ दिएर सबैको साझा हिसाबले उपयोगी र फलदायी बनाउन सबैलाई रानाले आग्रह गर्नुभयो । उहाँले आफ्नो तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने बताउँदै पुस्तकालयको दिगोपनको लागि सबैले चासो राख्नुपर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पछिल्लो समय प्रविधिको विकाससंगै पुस्तक पढ्ने बानी हराउनु दुःखद् रहेकोमा आवश्यक ज्ञान आर्जन गर्ने सहज आधार अब पुस्तकालय बन्ने बताउनुभयो । ‘रामपुरमा पुस्तकालय हुनु नगरको गौरवको विषय हो’–थापाले भन्नुभयो– ‘कालीगण्डकी फाउण्डेशनको यो नमुना र अत्यावश्यक कार्यमा नगरपालिका सदा साथमा छ ।’ उहाँले यस संस्थाले विगतदेखि सामाजिक सेवाका काम गर्दै आएको बताउँदै आवश्यक सहयोगको लागि प्रतिवद्ध रहेको बताउनुभयो । रामपुर नगरपालिकाका उप–प्रमुख विष्णुदेवी घिमिरे आचार्यले पुस्तकालय सञ्चालन र पठनले मानिसलाई व्यवहारिक बनाउने हुँदा विकृति हटाउन समेत टेवा पुग्ने बताउनुभयो । ज्ञान गुन भन्दा पनि समय बिताउने निहूँमा मोबाईल तथा इन्टरनेटमा झुम्मिने पछिल्लो पुस्तालाई यसतर्फ आकर्षित गर्न सकेमा ठूलो राहत मिल्ने उहाँको भनाई छ । कालीगण्डकी फाउण्डेशन नेपालका सल्लाहकार सन्दिप रानाले रामपुर क्षेत्रमा आवश्यक रहेको पुस्तकालय सञ्चालनमा आउनु अत्यन्तै स्रहानिय कार्य भएको बताउनुभयो । पुस्तकालय अहिले सुरुवात मात्र गरिएको बताउँदै रानाले यसको विस्तार र दिगोपनाको लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । ‘रामपुर अझ सम्भावना बोकेको ठाउँ हो पुस्तकालयले थप नयाँ आयाम थपेको छ’ रानाले भन्नुभयो– ‘शिक्षित भएपनि विगत वर्तमान पढेर आगामी कल्पना र त्यही परिधिमा हिँड्न र समृद्ध बन्ने–बनाउने ज्ञान यस्ता पुस्तकालयबाट पाइनेछ ।’ रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले नैतिक शिक्षा र व्यवहारिक ज्ञान प्रदानमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, किताब यात्राका प्रमुख ऋषि अधिकारी र रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले पुस्तकालयको दिगो सञ्चालनको शुभकामना दिँदै ज्ञानको लागि पुस्तक अपरिहार्य रहे पनि पठनसीपको अभाव रहेकोमा पढ्ने बानीको विकासमा पुस्तकालय कोशेढुङ्गा सावित हुने बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका सचिव सीता डोटेलले पुस्तकालय सञ्चालन कार्यविधि र मापदण्ड अनुसार पुस्तकालय सञ्चालन गरिने बताउनुभयो । अहिले इ लाईब्रेरीको विकास भइसकेको खण्डमा विस्तारै यसलाई व्यवस्थित गराई इलाईब्रेरीको ढाचामा लैजाने उहाँले बताउनुभयो । यसको लागि स्थानीय, प्रदेश र संघिय सरकारसँग समन्वय र सहकार्य गरिने संस्थाले जनाएको छ । संस्थाले हाल पुस्तकालय हल सहित ५ कोठे संस्थाको कार्यालयमा पुस्तकालय सञ्चालन गरेको छ । पुस्तकालयमा भारतबाट ल्याइएको देवी सरस्वतीको मूर्ति राखिएको छ । आगामी दिनमा रामपुरमा पुस्तकालयको आफ्नै भवनमा पुस्तकालय स्थापना र सञ्चालनका लागि संस्थाले स्थानीय सरकारसँग समन्वय र अन्य निकायसँग छलफल बढाई पढ्ने थलोको रुपमा रामपुरमा पुस्तकालयको विकासमा संस्थाले सहकार्य अगाडी बढाउने जनाएको छ । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षतामा भएको पुस्तकालय शुभारम्भ कार्यक्रम सहभागीलाई उपाध्यक्ष पवित्रा ढकाल पौडेलले स्वागत गर्नुभएको थियो भने संस्थाका सचिव सीता डोटेलको सञ्चालनमा कार्यक्रम भएको हो ।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update