Erani Mahal
तानसेनका स्वर्गीय गैरेको परिवारलाई सहयोग रकम हस्तान्तरण
sahayog
पाल्पा – तानसेन नगरपालिका वडा नं ६ बर्तुङका स्वर्गीय नारायणप्रसाद गैरेको परिवारलाई पाल्पाली सेवा समाज दोहा कतारले सहयोग रकम हस्तान्तरण गरेको छ । १ महिना अघि गैरेको दुबै मृर्गौला फेल भएको र उपचारका लागि आर्थिक अभाव भएको खबर थाहा पाएपछि समाजले कतारमा सहयोगार्थ रकम संकलन गरी पठाएको थियो । गैरेको उपचारकै क्रममा यही कात्तिक १८ गतेको निधन भएको थियो । स्व. गैरेको परिवारलाई बिहीवार ६० हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो । कतारमा रही सामाजिक अभियानको नेतृत्व गर्दै आउनुभएका समाजका अध्यक्ष महलबहादुर केसीको नेतृत्वमा रकम संकलन अभियान चलाइएको थियो । उपचारकै क्रममा उहाँको निधन भएपछि संकलित रकम छोरीहरुको शिक्षादिक्षाका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रदान गरिएको हो । सहयोग रकम हस्तान्तरण गर्दै पाल्पाली सेवा समाज दोहा कतारका निर्वतमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, युवा समाजसेवी ईश्वर काफ्लेले समाज मार्फत पाल्पालीहरुको दुःख–सुःखमा विभिन्न सहयोग रहँदै आएको बताउनुभयो । तानसेन नगरपालिकाकी कार्यपालिका सदस्य मैयादेबी घिमिरे, इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिना लगायतले सो रकम स्व. गैरेका परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । सन् २००७ मा स्थापित पाल्पाली सेवा समाज दोहा कतारले विभिन्न रचनात्मक कार्यक्रमहरुका साथै अप्ठेरोका परेका, रकम अभावमा उपचार गराउन नसकेका ब्यक्तिहरुका लागि सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update