Erani Mahal
पाल्पामा दशैं–तिहारमा १५ सय बढी सवारी चालक कारवाहीमा
image_
पाल्पा – पाल्पामा दशैं–तिहारमा १ हजार ५ सय ५० सवारी साधन चालक कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने चालकहरु कारवाहीमा परेका हुन् । कारवाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाईकल चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दशैंको सुरुवातदेखि तिहारको भाइटीकाको दिनसम्म ५ सय १७ मोटरसाईकल चालक कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख, प्रहरी नायव निरीक्षक उपेन्द्र बुढाथोकीले ईरानीमहललाई बताउनुभयो । मोटरसाईकल चालकमध्ये १२ जना मापसे गरेर सवारी चलाउनेहरु रहेको समेत उहाँले बताउनुभयो । त्यस्तै, जीप/कार/भ्यानका गरी ४ सय २६ चालक कारवाहीमा परेका छन् । १ सय ४२ जना बस चालक कारवाहीमा परेका छन् । बढी भाडा लिने ३ जना जीप तथा बस चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यस अवधिमा ३ सय ७६ जना ट्रक तथा टिप्पर चालक कारवाहीमा परेका छन् । कारवाहीमा परेका ट्रक तथा टिप्पर चालकमध्ये अधिकांश ‘ओभरलोड’ बोकेका तथा कागजात नबोक्नेहरु हुन् । त्यस्तै ९० जना ट्रयाक्टर चालक कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथांकमा उल्लेख छ । ट्राफिक नियम उल्लंघन गर्ने यी सवारी चालकलाई कारवाही गर्दा ९ लाख २३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दशैं तिहारको समयमा जिल्लामा सवारी चेकजाँचलाई थप कडाई बनाईएको थियो । १२ सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २१ घाईते दशैं तिहारको अवधिमा पाल्पामा १२ सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ती सवारी दुर्घटनामा परी २१ जना घाईते भएका छन् । दुर्घटना हुने सवारी साधनमा ७ वटा जीप, ४ वटा मोटरसाईकल, १ वटा ट्रयाक्टर रहेका छन् । पाल्पाका ट्राफिक प्रमुख बुढाथोकीले ईरानीमहलसंग भन्नुभयो, –‘अधिकांश दुर्घटना ‘ओभरस्पिड’कै कारण भएको पाएका छौँ । त्यसलाई न्यूनिकरण गर्न समय र स्थान परिवर्तन गरेर चेकजाँचलाई थप कडाई गरेका छौं । यसले आउँदा दिनमा दुर्घटना न्यूनिकरणमा थप भूमिका खेल्ने विश्वास लिएका छौं ।’
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update