Erani Mahal
गायनमा पाल्पाकी संगीता, गायनमै भविष्य बनाउने सोँच
sangita__
पाल्पा - नेपाली सांगीतिक क्षेत्रमा भविष्य बनाउने सोँच बोक्नुभएकी प्रतिभावान नव–गायिका हुनुहुन्छ, – संगीता सारु । सानैदेखि गीत गुनगुनाउँदै आउनुभएकी तथा केही गीतमा स्वर दिईसक्नुभएकी पाल्पाको माथागढी गाउँपालिका –३ कसेनी सराईकी संगीताले सांगीतिक क्षेत्रमै भविष्य बनाउने सोँच लिनुभएको छ । २३ वर्षीय संगीताले हाल स्नातक तहसम्मको अध्ययन पुरा गर्नुभएको छ । कक्षा ९ मा पढदै गर्दा पहिलोपटक गीत रेकर्ड गर्नुभएकी उहाँले एसएलसीपछि बुटवलमा बसेर स्नातक तह पुरा गर्नुभएको हो । यो बिचमा उहाँले केही चलचित्रका गीत, केही कभर गीतहरु गाएको तथा केही मेला/महोत्सवसंगै रियालिटी शोहरुमा समेत भाग लिएको बताउनुभयो । उहाँले धेरै कभर गीत, केही चलचित्रका गीत तथा केही अन्य गीतहरु गाउनुभएको छ । यसवर्ष तिहारमा उहाँको आवाजमा रहेको भैलो गीत सार्वजनिक भएको थियो । भैलो गीत : उहाँलाई गायन क्षेत्रमा लाग्न परिवारको ठूलो साथ र सपोर्ट रहेको छ । विशेष त बुवाको प्रेरणाले गायनप्रतिको रुचि बढेको संगीताले बताउनुभयो । उहाँका बुवा लोकेन्द्र थापा शिक्षण पेशासंगै कलाकारितामा पनि आवद्ध हुनुहुन्छ । संगीताले स्मरण गर्दै भन्नुभयो, –‘बाबालाई देखेर नै गायनप्रति आकर्षित भएकी हुँ । म सानै हुँदादेखि नै बाबाले घरमै किबोर्डहरु ल्याएर सारेगमप सिकाउँनुहुन्थ्यो । गीत गाउनमा अगाडी सार्नुहुन्थ्यो । गायन क्षेत्रमा लाग्न प्रेरणाको स्रोत नै बाबा हुनुहुन्छ ।’ उहाँले आफ्नो संगीत गुरु निर्देशक, गायक तथा संगीतकार दिपक श्रेष्ठ रहेको बताउनुभयो । संगीताले भन्नुभयो, ‘पहिलो गीत रेकर्डिङ्देखि गीत संगीतमा अगाडी बढाउनमा उहाँको ठूलो योगदान छ । बाबाको प्रेरणाले गीतसंगीतमा लागेपनि मेरो संगीत गुरु दिपक सर हुनुहुन्छ । गीत रेकर्डिङ् होस् चाहे सांगीतिक कार्यक्रममा प्रस्तुति, उहाँकै कारणले सम्भव भएको हो ।’ संगीताले हरेक क्षेत्रमा सफल हुन संघर्ष गर्नुपर्ने बताउनुहुन्छ । साधना गर्ने हो भने गीतसंगीतमा पनि भविष्य रहेको बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘आफूले गरेको मेहनत अनुसारको फल पाईने हो । साधना नछोडेर लाग्ने हो भने एक दिन सफल भइन्छ जस्तो लाग्छ ।’ त्यसैले अहिलेसम्म पढाईमा बढी केन्द्रित रहनुभएकी उहाँ अब भने काठमाडौं बसेर संगीत प्रशिक्षण लिई सांगीतिक यात्रा अगाडी बढाउने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, –‘पढाईका कारण संगीतमा धेरै समय दिन पाएकी थिइन् । अब काठमाडौं बसेर संगीत प्रशिक्षण लिने सोँच छ ।’ संघर्ष गर्दै अगाडी बढ्दा आफू पनि सांगीतिक क्षेत्रमा सफल हुने उहाँको भनाई छ । झट्ट हेर्दा नायिका वा मोडलजस्तो देखिनुहुन्छ, संगीता । त्यसैले साथीहरुले अभिनयमा पनि लाग्न सुझाव दिन्छन् तर उहाँको रुचि र रोजाई गायनमै रहेको छ । उहाँलाई विशेषगरी आधुनिक गीत बढी मनपर्छ । आफूलाई गायिकामा मेलिना राई, अञ्जु पन्त मनपर्ने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update