Erani Mahal
कथा- भाइटीका
Bhai-Tika
- गम बयम्बु मगर "सयपत्री, किन यसरी झोक्रिरहेकी ? सन्चो छैन ? म के सहयोग गर्न सक्छु भन।" मायालु भएर अभिभावकत्व देखाउँदै लालुपातेले सोधे। लालुपाते त्यो फूलबारी वरिपरिको सबै भन्दा ठुलो थियो। ज्यान ठुलो। अरु भन्दा लाँगिलो। अग्लो। "लालुपाते दाइ, ज्यान त सन्चै छ। तर मन सन्चो भएन। यो मनको व्यथा निको पार्ने औषधी के होला र खै ?" सयपत्री भावुक भएर बोली। लालुपाते उसै त रातो। सयपत्रीको कुरा सुनेर अझैं गाढा रातो रङ्ग पोतियो। "किन र ? किन मन खिन्न पारेकी ?" लालुपाते बोले। "हेर्नुस् न दाइ, यसपाली दाजुभाइको निधार खाली हुने भयो। उनीहरूको गला भरि माला बनेर साँजिन नपाउने भयो। कोरोना भाईरस संसार भरि फैलिएर तिहार नमनाउने भएछ ।" बेखुशी हुनु र झोक्रिन पर्नुको कारण बताई सयपत्रीले। "चिन्ता नगर न। समयले साथ नदिएपछि। परिस्थिले बाध्यतामा पारेपछि भोग्नै पर्यो। मन बुझाउनु पर्छ। चिन्ता गरेर केही हुन्छ र ?" लालुपाते बोले। सयपत्रीले मुन्टो हल्लाउँदै हवस् दाइ भनी। मुखले त भनी तर मनले कहाँ मान्दो हो। लालुपातेले बगैँचा भरिका हरेक फूलहरूलाई एक एक गर्दै नियाल्न थाले। उसको नजर मखमलीमा गएर रोकियो। मखमली पनि उत्साहीत थिएन। निन्याउरो देखिन्थी। लालुपातेले उनैलाई बुझ्न चाहे। "ए मखमली, किन निराश भएर बसेकी तिमी ? कसैले केही नराम्रो भन्यौ ? म के गर्न सक्छु तिम्रो लागि ?" लालुपातेले सोधे। "लालुपाते दाइ, कसले देख्छ र मन भित्रको व्यथा। कसले बुझ्छ र पीडा ! मेरो पिर मलाई मात्रै थाहा छ।"मखमलीले पिर परेको कुरा गरि। "ओहो! आज किन यस्तो मात्रै देखिरहछु म ? तिम्लाई के भयो फेरि ? भन्न मिल्छ भने सुनाओ न मलाई। मन शान्त हुन्छ। मनमा कुरा गुम्स्याएर राख्यो भने मन जलेर खरानी बन्छ भन्छन्।" लालुपातेले ढाडस दिँदै बोल्यो। "दाजु, के हुनु र! कोरोना भाइरसले गर्दा मलाई औधी माया गर्ने मेरो दाजु परदेशबाट आउन नसक्ने हुनु भयो। म यता टीका र माला लिएर दाजुको अनुपस्थितिमा तड्पिरहनु पर्ने। उता सात समुन्द्र पारी मेरो दाजुको निधार खाली भएर दाजु छटपटिरहनु पर्ने। यो कस्तो समय आयो होला दाजु ? न भोक छ। न रातमा निन्द्र छ। आफ्नत्व र महत्व भन्ने कुरा आवश्यकता पुर्ति नभएपछि महशुस हुँदोरहेछ। मलाई मेरो दाजु साथमा नहुँदा संसारै शुन्य र खल्लो भएको छ।" मखमलीले मनको दुखेसो पोखिन्। लालुपातेले बगैँचाका फूलहरू नियाल्दै एक छेउ देखि अर्को छेउ सम्म। एक कुना देखि अर्को कुना सम्म पुगे। गुरदौली फूलको हालत देखेर नबोली फर्किन आँट गरेन। गुरदौली संग कुरा गर्न नजिकै गए। त्यत्ति बेला गुरदौलीले आँसु पुछ्दै रोईरहेकी थिई। "गुरदौली, किन रोएकी ? नरोऊ। सबैले देख्ने गरि रुन हुन्न। शत्रुले देखे भने खाइस् भन्छन्। तिम्लाई कसैले नराम्रो वचन लगायौ ?" प्रेमपुर्वक नम्र र मीठो बोलीमा लालुपातेले सोधे। "हेर्नहस् न लालुपाते दाइ, माईतीघर टाढा छ। माईतीमा तीन तीन जना दाजुभाइहरू हुनुहुन्छ। निधार खाली नराख्न टीका दिन आए हुन्थ्यो बहिनी भनिरहनु भएको छ। जानलाई महामारीको बेलामा कतिखेर के हुने हो। कसरी हुने हो पत्तै छैन। नजाउँ त दाजुहरूको निधार खाली हुन्छ। म कति अभागी बहिनी रहेछु। म के गरूँ ?" गुरदौली घुँक्क घुँक्क गरेर रुन थाली। एक्लै रोइरहेको बेलामा लालुपातेले के भयो भनेर सोध्न पुग्दा गुरदौली लाई आफ्नै ठुल्दाजु आएर सोधेको जस्तो आभास गरायो। त्यही हुनाले नै उनले रुवाई थाम्न नसकेर जोड जोडले रोएकी थिई। लालुपातेले सम्झाए। फकाए। नरुन भने। गुरदौलीको आँसु रोकियो। त्यो बगैँचा भरि नजर डुलाउँदै गर्दा बाह्रमासे फूल मात्रै हाँस्दै थिए। हाँस्दा हाँस्दा उसको मुहार रातै भएको थियो। खित्का छोडेर हाँस्दै थिए। लालुपाते त्यहाँ पुगे। के को खुशियाली छ त्यसलाई ? मनमा खुल्दुली लिएर नजिकै गए। र सोधे । "ए बाह्रमासे, के को खुशियाली मनाउँदैछौ ? लाखौंको चिठ्ठै पर्यो कि कसो ? समाजका आफन्तहरू कोरोनाको कारणले भाइटीका खल्लो भयो। दाजुभाइको निधार खाली हुने भयो भनेर रुँदैछन्। त्यही समाजको सदस्य भएर तिमी फेरि मरि हाँसिरहछौ। तिम्रो दिल भित्र अलिकति पनि दया छैन ?" लालुपातेले अलि खरो भएरै बोले। समाजमा बसेपछि एकले अर्कोको दु:ख पीडा बुझ्ने। अरुको दु:खलाई आफ्नो दु:ख बराबर मान्नु पर्छ भन्ने सल्लाह दिँदै थिए। बाह्रमासेले वास्तै गरेन। बरु हाँसी रह्यो। "मलाई मतलब छैन। अरु जस्तै सिजन र तिथि कुर्ने वाला परिनँ म। बाह्रैमास फुल्न स क्ने क्षमता छ म भित्र। म बाट सिके हुन्छ कसरी फुल्ने। कसरी खुशी रहने।" उसले बाह्रैमास फुल्न सक्नुमा निकै ठुलो घमण्ड र अहंकार देखायो। त्यती बेला सम्म सबै त्यहाँ जम्मा भैसकेका थिए। पालैपालो बाह्रमासेलाई सम्झाउन थाले। सयपत्री- "हेर, बाह्रमासे भाइ, तिमी बाह्रैमास फुल्न सकेँ भनेर घमण्ड नगर्नु। दिन सधैँ उस्तै आउँदैन। कुनै समय महा खडेरी आयो भने बाह्रैमास हैनौ, एकमास फुल्न नसकेर जिन्दगी उजाड बन्न बेर लाग्दैन। के मान्छेहरूले कल्पना गरेका थिए होला त, एकदिन संसारमा कोरोना भाइरस फैलिएर मुख छोपेर हिड्नु पर्ने दिन आउँछ भनेर। मान्छेलाई घमण्ड थियो। संसार हाम्रै हातमा छ भनेर। अहिले हेर त, एक अदृश्य भाइरसबाट कसरी जोगिने भनेर दिन रात सन्त्रसमा छन्।" बाह्रमासे चुप लागे। मखमली- "स्वार्थ र अहंकारले आफैँलाई हानी गर्छ बाह्रमासे दाइ। म जति सक्षम कोही छैन कहिल्यै नसोंच्नु। बरु सक्नु हुन्छ भने आफुसंग भएको क्षमता देखाएर अरुलाई सघाउन सक्नु बुद्धिमानी र धर्म हुन्छ।" मखमलीले बोली। गुरदौली- "एउटै डुङ्गामा बसेर छेउको साथी पानीमा डुब्न लाग्दा सहयोग गर्न छोडेर 'है सन्चै ! म तिरको भाग त डुब्दैन' भनेर उफ्रिनु मुर्खता हो बाह्रमासे। अरु रोएको देख्दा देख्दै खित्का छोडेर हाँस्नु भनेको कहाँ सम्मको बिजाइँ हो त्यत्ति पनि ख्याल गर्न सक्नु हुन्न है ?" घुरदौली कुर्ली। माह्रमासे बोल्न सकेन। घोसेमुन्टो पारेर हेरिरहे मात्रै। बाह्रमासे- "म बाट ठुलो गल्ती भयो । मैले मेरो स्वार्थ मात्र हेरेको रहेछु। मलाई माफ गरि दिनु। अर्को चोटी यस्तो गल्ती गर्दिनँ।" बाह्रमासेले माफ मागे। उसले आफ्नो गल्तीको प्रश्चित गरेको देखेर लालुपाते फेरि बोल्छ। लालुपाते- "गल्ती हरेकबाट हुन सक्छ। गल्ती गरेको महशुस गर्नु नै फेरि त्यस्तो गल्ती नदोहोर्याउने उत्तम विकल्प हो।" लालुपातेको कुरा सुनेर सयपत्री, मखमली र गुरदौलीहरू एकै स्वरमा बोल्छन्। "गल्ती गरेँ भनेर आत्मग्लनी गरेकोमा बाह्रमासेलाई माफी त दिइन्छ नै। तर हाम्रो एउटा प्रस्ताव छ। त्यो प्रस्ताव पनि स्वीकार गर्नुहुन्छ भनेर हामी तीनै जना आशावादी छौं। त्यो प्रस्ताव हो- "यसपाली लालुपाते दाजु र बाह्रमासेले सयपत्री, मखमली र गुरदौलीको हातबाट भाइटीका लगाएर द्वितीय मनाउने। टाढा कही कतै नजाने हाम्रै बगैँचामा भाइटीका मनाएर रमाइलो गर्ने।" दुबै जनाले प्रस्ताव स्वीकार गर्छन्। लालुपाते र बाह्रमासे एउटै समाजको आफन्त मात्र नभएर अब तीनै जना दिदी बहिनीहरूको आफ्नै दाइभाइहरू बन्छन्। र भाइटीका को दिन टीका लगाउने निधो गरेर छुट्टिए। ~ इति ~ मिति- २०७७/०७/२९
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update