Erani Mahal
बाँझो जग्गामा कृषि गर्ने किसानलाई गाउँपालिकाको अनुदान
Anudan pradan (1)
पाल्पा - जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले बाँझो जग्गामा कृषि कार्य गर्ने किसानलाई अनुदान वितरण गरेको छ । कृषि कार्य गर्न योग्य तर वर्षौदेखि बाँझो रहेका जमिनमा खेती गर्ने किसानलाई गाउँपालिकाले अनुदान वितरण गरेको हो । बाँझो रहेका कृषियोग्य जमिनमा खेती गर्न प्रोत्साहन गर्न र उब्जनी बढाउन गाउँपालिकाले अनुदान वितरण गरेको जनाएको छ । बाँझो रहेका जमिनमा फलफुल तथा तरकारी खेती गरेका किसानलाई प्रतिरोपनी दुई हजार र अन्न तथा खाद्यान्न बालीको खेती गरेका किसानलाई प्रतिरोपनी तीन हजारका दरले अनुदान वितरण गरिएको हो । यो वर्ष बाँझो जग्गामा व्यवसायिक तरकारी तथा खाद्यान्न खेती गरेको भनेर १७० जना किसानले गाउँपालिकामा निवेदन दिएका थिए । निवेदन दिएकामध्ये ११४ जनाले मात्र अनुदान पाउन योग्न भएको गाउँपालिकाले जनाएको छ । बाँझो जग्गाको उपयोग गरेर कृषिमा स्वरोजगार बनाई आम्दानी बढाउन अनुदान प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । अनुदान वितरणले कृषियोग्य जग्गा बाँझो नरहने र गाउँबाट भएको युवा पलायन समेत रोकिने उहाँले बताउनुभयो । गाउँपालिकाले हालसम्म बाँझो जग्गामा खेती गरेका वडा ४, ६, ७ र ८ का ६४ जना किसानलाई अनुदान दिइसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले बाँझो जग्गामा धान, मकै, कोदो उत्पादन गर्ने ४७ र फलफूल सुन्तला, कागती खेती गर्ने १७ जना किसानलाई अनुदान वितरण गरिएको बताउनुभयो । गाउँपालिकाले खाद्य सङ्कटलाई मध्यनजर गर्दै दुई वर्षदेखि बाँझो रहेका खेतीयोग्य जमिन सदुपयोग गर्न यस्तो नीति लिएको जनाएको छ । गाउँपालिका भित्र कृषि गर्न योग्य ६३२ रोपनी जग्गा बाँझो रहेको गाउँपालिकाको कृषि शाखाले उल्लेख गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update