Erani Mahal
रानीमहल : कोरोना महामारीकाबीच पनि छ पर्यटकको चहलपहल !
7
पाल्पा - हिजोआज रानीमहलमा पर्यटकको चहलपहल छ । कोरोना महामारीकाबीच पनि पर्यटकहरु रानीमहल आएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण चैतदेखि सुनसान रहेको रानीमहलमा दशैंको समयमा पर्यटकको चहलपहल बढेको हो । तानसेन –१३ बौघागुम्बास्थित कालीगण्डकी नदी किनारमा अवस्थित रानीमहल दरबार पर्यटकका लागि अझै खुला गरिएको छैन् । तर, दैनिक सयौंको संख्यामा पर्यटकहरु दरबार घुम्न आउने गरेका छन् । स्थानीय व्यवसायी प्रविन भट्टराईले दशैंको टीकाको दिनदेखि रानीमहलमा पर्यटकको चहलपहल बढेको ईरानीमहललाई बताउनुभयो । ‘हिजोआज दैनिक २ देखि ३ सयसम्म पर्यटकहरु आउनुभएको छ । लामो समय सुनसान रहेको रानीमहलमा हिजोआज ह्वात्तै चहलपहल बढेको छ’– उहाँले भन्नुभयो । दुःख भोग्दै आयौं, भित्र घुम्न पाएनौं रानीमहलमा अहिले देशका विभिन्न जिल्लाबाट पर्यटकहरु आएका छन् । बिहीबार छिमेकी जिल्लासंगै चितवन, पोखरा, धादिङ्, काठमाडौंसम्मबाट आएका पर्यटकहरु धेरै भेटिए । त्यसैमध्येका एक हुनुहुन्थ्यो, काठमाडौं पाटनबाट आउनुभएका सन्तमान महर्जन । यसअघि भिडियो तथा फोटोहरुमा रानीमहल हेर्नुभएका उहाँलाई प्रत्येक्ष रानीमहल हेर्ने चाहना थियो । त्यहि चाहाना पुरा गर्न बिहीवार रानीमहल पुग्नुभएका उहाँले ईरानीमहलसँग भन्नुभयो, ‘दुःख गरेर यहाँसम्म आयौं तर भित्र घुम्न नपाउँदा नरमाईलो लाग्यो ।’ नवलपरासी सुनवलबाट आउनुभएकी देवी घिमिरेले पनि रानीमहल बाहिर घुमेर फर्किनुभयो । उहाँले भन्नुभयो, –‘भित्र घुम्न पाएनौं । बाहिर घुमेर केही तस्वीरहरु खिचेर फर्कियौं ।’ छोरा बुहारीका साथ धादिङ्देखि आउनुभएकी माकुरी सेञ्चुरी पनि रानीमहल भित्र घुम्न नपाएकोमा दुःखी भएको बताउनुभयो । रानीमहल घुम्न आएका अधिकांश महलभित्र घुम्न नपाउँदा निराश देखिन्थे । पर्यटकहरु दुःख झेल्दै टाढाटाढाबाट रानीमहल आउने गरेको तर भित्र घुम्न नपाउँदा निराश हुँदै फर्किनुपर्ने अवस्था रहेको स्थानीयहरु बताउँछन् । उनिहरुको सुझाव छ, –‘सबै क्षेत्र खुलिसकेका छन् । अब सुरक्षा सावधानी अपनाएर रानीमहल खोल्नुपर्छ । पर्यटकलाई भित्र घुम्ने वातावरण मिलाउनुपर्छ ।’ -तस्वीरहरु : सुशिल नेपाल/ईरानीमहल
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update