Erani Mahal
सांसद् पाण्डेयद्वारा पाल्पाको कोरोना प्रयोगशालालाई थप पीसीआर परीक्षण किट हस्तान्तरण
pcr kit
पाल्पा– सांसद् एवं पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले तानसेनस्थित ‘कोभिड १९ परीक्षण प्रयोगशाला’को लागि पीसीआर परीक्षण किट हस्तान्तरण गर्नुभएको छ । बुधवार तानसेनमा एक कार्यक्रमबीच उहाँले स्वास्थ्य विभागबाट प्राप्त १ हजार थान पीसीआर परीक्षण किट पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेय र मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिश कुँवरलाई हस्तान्तरण गर्नुभयो । तानसेनको काजिपौवामा निर्माण गरिएको कोरोना प्रयोगशाला पाल्पा अस्पतालको मातहतमा रहेको छ । सांसद् पाण्डेयकै विशेष पहलमा स्थापना भएको प्रयोगशालाको लागि संघीय सरकारले एक करोड रुपैयाँ छुट्याएको थियो । सोही रकमबाट पीसीआर मेसिन खरिद खरिएको हो । प्रयोगशालामा दुई साता अघिदेखि कोरोना परीक्षण हुँदै आएको छ । सांसद् पाण्डेले यसअघि पनि दुई पटक पीसीआर परीक्षण किट ल्याएर हस्तान्तरण गर्नुभएको थियो । किट हस्तान्तरण गर्दै सांसद् पाण्डेयले निकै जोडबलका साथ बजेट विनियोजन गरिएको र प्रयोगशाला शुरु भएको बताउनुभयो । अहिले किट व्यवस्थापनमा पनि सहज नभएकाले आफै लिएर आएको बताउनुभयो । अस्पतालका अध्यक्ष नेत्र पाण्डेयले बजेट अभावका कारण प्रयोगशाला संचालनमा समस्या भएको बताउनुभयो । उहाँले स्थानीय तहले बजेट उपलब्ध गराउने निर्णय गरेपनि हालसम्म नगराउँदा समस्या भईरहेको बताउनुभयो । तानसेन नगरपालिकाबाट ९ लाख रुपैयाँ उपलब्ध भएपनि अन्य स्थानीय तहबाट नआएको उहाँले बताउनुभयो । प्रयोगशालामा ६ सय बढीको पीसीआर बिधिबाट नमुना परीक्षण गरिएको छ । हालसम्म ६ सय ३० जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको प्रयोगशालाका इञ्चार्ज खिमध्वज कार्कीले जानकारी दिनुभयो । बिचमा केहीदिन मेसिनमा समस्या आएको भएपनि अहिले दैनिक ९० नमुना परीक्षण भईरहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update