Erani Mahal
पाल्पाकाे एउटै गाउँका महिलाले बिक्री गरे डेढ कराेडकाे खसीबाेका !
bakhra
पाल्पा – रम्भा गाउँपालिका–२, फोक्सिङ्कोट गाउँबाट महिलाहरूले एक करोड ३८ लाखको खसीबोका बिक्री गरेका छन् । स्थानीय उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत यहाँका महिलाहरूले गत वर्ष एक करोड ३८ लाखको खसीबोका बिक्री गरेका हुन् । गत वर्ष झण्डै डेढ करोडको खसीबोका बिक्री गरेको सहकारीले यो वर्षको दशैँमा मात्र ३५ लाखको खसीबोका विक्री गरेको सहकारीले जनाएको छ । गतवर्ष एक हजार १०० वटा खसीबोका बिक्री भएको थियो, यो वर्षको दशैँ र तिहारमा ५०० खसीबोका बिक्री गर्ने लक्ष्य लिएको सहकारीका व्यवस्थापक कृष्णमाया पाँडेमगरले बताउनुभयो । दशैँका लागि यहाँका महिलाले ३०० सय बढी खसीबोका बिक्री गरेको उहाँले बताउनुभयो । फोक्सिङ्कोटको झोकेदी, सुरुङ्डाँडा, रानीबास र भाङ्ज्याङ्चोक गाउँका ६३० जना महिला सदस्यहरू सहकारीमा आबद्ध छन् । उनीहरू रहेको सहकारीले महिलाको आयआर्जन बढाउन व्यावसायिक बाख्रापालनमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष गंगीसरा सिंजालीले बताउनुभयो । सहकारीमा आबद्ध केही सदस्यहरूले हाल १०० वटासम्म बाख्रा पाल्दै आएका छन् । सहकारीमा आबद्ध रहनुभएकी धनकुमारी पाडेँले यो दशैँमा ११ वटा खसी बिक्री गरेर एक लाख १६ हजार आम्दानी गरेको बताउनुभयो । सहकारीले खसीबोका बिक्री गर्ने नेतृत्व लिएपछि आफूहरू बिचौलियादेखि ठगिनबाट बचेको उहाँले बताउनुभयो । सहकारीले आफ्ना महिला सदस्यहरूलाई बाख्राको माउ र उन्नत जातका बोका दिने गरेको छ । यस्तै खसीबोका बिरामी परेको बेला उपचार तथा औषधि, दाना व्यवस्थापन र किसानलाई आवश्यक तालिमको समेत व्यवस्था गर्दै आएको छ । सहकारीले खसीबोका बिक्री गर्न थालेपछि किसान व्यवसायिक बनेको उहाँले बताउनुभयो । ‘पहिले घरमा दुई/चार वटा बाख्रा पाल्ने महिला अहिले १०० वटा बाख्रा पाल्ने भएका छन्’ उहाँले भन्नुभयो सामूहिक कामबाट सबैलाई फाइदै भएको छ ।’ सहकारीले किसानबाट जिउँदो खसीबोका ४५० रुपियाँमा खरिद गर्ने र ४५५ रुपियाँमा बिक्री गर्ने गरेको छ । खरिद गरेका खसीबोका स्याङ्जा, पोखरा, तानसेन, बुटवलसम्म बिक्री हुने सहकारीले जनाएको छ । किसान र सहकारीको काम देखेर रम्भा गाउँपालिकाले वार्षिक १०० किलोभन्दा बढी खसीबोका बिक्री गर्ने किसानलाई प्रतिकिलो खसीबोकाको २५ रुपियाँका दरले अनुदान दिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update