Erani Mahal
२२ वर्षीय युवाको उद्यम : तानसेनमै ‘हवाई चप्पल’ उत्पादन !
chappal
पाल्पा – २२ वर्षीय युवाले तानसेनमा चप्पल उद्योग सुरु गर्नुभएको छ । रुपन्देही बुटवलका युवा मनोज ज्ञवालीले ‘आर.आर.फुट वेयर उद्योग’ दर्ता गरेर तानसेन-७, काजीपौवा बेसीमा चप्पल उद्योग सुरु गर्नुभएको हो । दुवईमा दुई वर्ष विताएर फर्किनुभएका उहाँले त्यसपछि क्यानडाको भिषा समेत त्यागेर अब कहिल्यै विदेश नजाने सोँच बनाउँदै ब्यवसाय सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, –‘विदेश जाने सोँच त्यागेको छु । अब नेपालमै मेहनत गर्नेछु ।’ चप्पल मानिसलाई दैनिक आवश्यक पर्ने सामाग्री हो । यो लामो समयसम्म पनि नबिग्रिने भएका कारण आफूले चप्पलको उत्पादन रोजेको बताउनुभयो । अहिले हवाई चप्पल बनाउँदै आउनुभएका उहाँले दशैंपछि फेशनेवल चप्पल, स्यान्डिलका चप्पलहरु उत्पादन गर्ने योजना बुन्नुभएको छ । चप्पल उत्पादन गर्नसके बिक्रीका लागि कुनै समस्या नभएको समेत उहाँको दाबी छ । ‘चप्पल बिक्रीका लागि बजारको कुनै समस्या छैन् । लकडाउन खुलेपछि मात्रै १ लाख ५० हजार रुपैयाँ बढीको चप्पल बिक्री भएको छ’ –उहाँले भन्नुभयो । उहाँले चप्पल उत्पादनसंगै ब्रोइलर कुखुरा, बाख्रा, हाँस तथा माछा समेत पाल्नुभएको छ । यी सबै व्यवसाय सुरु गर्दा ३५ लाख रुपैयाँभन्दा बढी लगानी भएको उहाँले बताउनुभयो । पहिलो लटमा ५ सय कुखुरा बिक्री गरेर ५० हजार रुपैयाँ नाफा कमाएको उहाँले बताउनुभयो । बोयलर कुखुरा ४५ दिनमा बिक्रीका लागि तयार हुन्छ । अहिले दोस्रो लटमा पनि ५ सय कुखुरा पाल्नुभएको छ । आगामी दिनमा कुखुराको संख्या अझ बढाउने सोँच बनाउनुभएको छ । युट्युबबाट केही कुराहरु सिकेपछि विराटनगर पुगेर केही दिन प्रशिक्षण लिएर फर्केपछि चप्पल बनाउन थालेको उहाँले बताउनुभयो । ज्ञवालीले चप्पल बनाउनका लागि चाहिने कच्चा पदार्थ विराटनगरबाट ल्याउँदै आउनुभएको छ । अहिले व्यवसायमा पाँच जनालाई रोजगार दिनुभएको छ । भविष्यमा यसलाई बढाउँदै जाने व्यवसायी ज्ञवालीको योजना छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update