Erani Mahal
पाल्पा अस्पतालका डा. कुवँरको सुझाव : दशैंमा कोरोना थप फैलिन सक्छ, सचेत बनौं
jagdish Kunwar
पाल्पा - पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या थप बढ्दो छ । पछिल्लो केही दिनयता दिनहूँजसो धेरै संख्यामा संक्रमितहरु देखिन थालेका छन् । आईतबारसम्म पाल्पामा कोरोना संक्रमित हुनेहरुको संख्या ९ सय ९१ पुगेको छ । यसमध्ये ७ सय ५० जना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ३७ रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । नेपालीहरुको महान चार्ड दशैं सुरु भईसकेको छ , बजारमा सर्वसाधारणको चहलपहल छ । दशैंमा विदेश तथा अन्य जिल्लाबाट आउनको संख्या पनि बढ्दो छ । यस्तो अवस्थामा थप सजगता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सक भन्छन्, ‘सर्वसाधारण सचेत नहुने हो भने दशैंमा कोरोना थप फैलिन सक्छ ।’ त्यसैले दशैंमा विशेष सचेत हुन चिकित्सकको सर्वसाधारणलाई सुझाव छ । पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. जगदिश कुवँरले कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै दशैंमा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले यसवर्ष आफू जहाँ छौं, त्यही बसेर दशैं मनाउनु नै सबैभन्दा उत्तम रहेको बताउनुभयो । ‘विभिन्न जोखिम स्थानबाट आएर भेला भएर दशैं मनायौं भने कोरोना थप फैलिने मौका हुन सक्छ । त्यसैले जहाँ छौं त्यही दशैं मनाउनु सबैभन्दा उत्तम हुन्छ’– उहाँले ईरानीमहलसंग भन्नुभयो । [caption id="attachment_14077" align="alignnone" width="768"] -मेडिकल सुपरिटेन्डेण्ट डा. जगदिश कुवँर[/caption]  डा. कुवँरले यसवर्ष दशैं मनाउँदा विगतमा जस्तो भीडभाड नगरी कम संख्यामा मनाउनुपर्नेमा जोड दिनुभयो । अन्य व्यक्तिसँग धेरै घुलमिल नहुने, दूरी कायम गर्ने, टीका लगाउँदा भरसक खुला ठाउँमा लगाउने हो भने कोरोनाको जोखिम न्यूनिकरण गर्न सकिने उहाँको सुझाव छ । संक्रमणबाट जोगिनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न उहाँको सुझाव छ । ‘बाहिर निस्किँदा अनिवार्य मास्क लगाउने, भीडभाडमा जाँदा दूरी कायम गर्ने, मास्कलाई नियमित रुपमा निश्चित ठाउँमा डिस्पोज गर्ने गर्नुपर्छ’ उहाँले भन्नुभयो, –‘त्यस्तै बाहिर गएर आईसकेपछि वा केही सामान छोइसकेपछि साबुन पानीले हात धुने, त्यो सम्भव नभए सेनिटाइजरको प्रयोग गरियो भने कोरोनाको जोखिमबाट बच्न सक्छौं जस्तो लाग्छ ।’
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update