Erani Mahal
भैरवनाथ दर्शनार्थीका लागि खुला, तापक्रम नापेर हातमा सेनिटाइजर दल्दै मन्दिर प्रवेश !
Bhairavstan_

पाल्पा – चार जना भैरवस्थान मन्दिर बाहिर पुग्दैथिए । नजिकै बसेका एक व्यक्तिले नाम दर्ता गर्न बोलाए । सबैलाई दूरी कायम गर्न भने । तीन जनाको मुखमा मास्क थियो । अर्का एक जनालाई मास्कको प्रयोग गर्न लगाए । सबैलाई हातमा सेनिटाइजर थाप्न भने, शरिरको तापक्रम नाप्ने उपकरण निधारमा तेर्साए । तापक्रम नापेपछि दर्शनार्थीहरु हातमा सेनिटाइजर दल्दै मन्दिर प्रवेश गरे ।

 

पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिर अहिले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर दर्शनार्थीका लागि खुला गरिएको छ । नाम दर्ता गर्दै तापक्रम नाप्ने यहि काममा खटिनुभएको छ, मन्दिरका कर्मचारी संजित कुमार राजभण्डारी । उहाँले बिहीवार ईरानीमहलसंग भन्नुभयो–‘मास्कको प्रयोग भएको छ/छैन हेरेर, शरिरको तापक्रम नापेर, सामाजिक दूरी कायम गरेर मात्र मन्दिर प्रवेश गर्न दिएका छौं ।’

 

रिब्दिकोट गाउँपालिका, ४ भैरवस्थानमा अवस्थित मन्दिर नेपालमा कोरोना भाइरसको संक्रमण शुरु भएसंगै लामो समय बन्द थियो । अहिले स्थानीय सरकारसँगको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बताउनुभयो ।

मन्दिर खुला गरिएसंगै सामान्य चहलपहल शुरु भएको समेत उहाँले बताउनुभयो । ‘अहिले केही चहलपहल शुरु भएको छ । टाढाका दर्शनार्थी नआएपनि नजिक–नजिकका दर्शनार्थी आउन थाल्नुभएको छ’– अध्यक्ष अधिकारीले भन्नुभयो । अहिले दैनिक एक सयदेखि दुई सयसम्म दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा दशैंको समयमा विशेष भीडभाड हुने गर्दछ । मन्दिर खुलेसंगै यहाँ रोट तथा पूजा सामाग्रीका पसलहरु समेत संचालनमा आएका छन् । तस्वीरहरु : सुशिल नेपाल

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update