Erani Mahal
पाल्पामा तीन महिनामा विपद्का घटनाबाट आठ जनाको मृत्यु, डेढ करोडको भौतिक क्षति
nnnnnn
पाल्पा – पाल्पामा विगत अढाई महिनाको अवधिमा बाढी र पहिरोका कारण एक करोड ५५ लाख बराबरको भौतिक क्षति भएको छ । गत साउन, भदौ र असोज महिनामा विपद् सम्बन्धी घटना पहिरो, आगलागी, बाढीका कारण घर तथा भौतिक सम्पत्ति मात्र डेढ करोड बढीको क्षति भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा २०७७ साउन १ गतेदेखि हालसम्म गएको बाढी र पहिरोले आठ जना मानिसको मृत्यु भएको थियो । यस्तै घर, विद्यालय भवन, सामुदायिक भवनमा समेत क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा साउनयता असोज महिनासम्ममा ५८ वटा विपद्का घटना भएको प्रशासनको तथ्यांकमा उल्लेख छ । अढाई महिनाको अवधिमा १७ वटा घर पहिरोले बगाएको छ । १९ वटा घरलाई पहिराले क्षति पुर्याएको छ । यस्तै बस्तुभाउको १२ वटा गोठमा पहिरोले क्षति पुर्याएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । विपद् व्यवस्थापन समितिमा आएको तथ्याङ्क अनुसार पहिराले गोठसँगै च्यापिएर ३४ वटा पशुचौपायको मृत्यु भएको छ । बाढी र पहिराले तानसेन, रिब्दीकोट, रम्भा, तिनाउ, माथागढी, रामपुर, बगनासकाली र निस्दीका विभिन्न स्थानमा क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताउनुभयो । बाढी र पहिराले सय भन्दा बढी परिवार बिस्थापित भएका छन् । उनीहरू अहिले आफन्त, विद्यालय तथा स्वास्थ्य चौकीमा बास बसिरहेका छन् । विपद् व्यवस्थापन समितिमा सडक, पुल, रोप्वे, कुलो, लघुजलविद्युत्, विद्युतको लाइन तथा अन्य संचारका पूर्वाधारमा भएको क्षतिका बारेमा भने तथ्याङ्क आउन सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update