Erani Mahal
कोरोना कहरबीच दशैंमा चिटिक्क बन्दैछन् गाउँका घर आँगन !
Lippot

पाल्पा – दशैं नजिकिँदै गर्दा गाउँका घर आँगनहरु चिटिक्क बन्दैछन् । गाउँघरमा दशैंअगाडि घर आँगन लिपपोत गर्ने तथा झ्याल ढोकाहरुमा रङ लगाउने प्रचलन पुरानो हो ।

पाल्पाका ग्रामिण क्षेत्रका स्थानीयहरुमा पनि यतिबेला घर आँगन लिपपोत र सरसफाईको चटारो शुरु भएको देखिन्छ । यसवर्ष कोरोना कहरका कारण विगतमा जस्तो उत्साह नभएपनि स्थानीयहरु लिपपोतमा तल्लिन देखिन्छन् ।

 

बगनासकाली गाउँपालिका, ७ खानीगाँउ झाँक्रीस्थानकी टंकी मिधुन छोरीसँग मिलेर घर लिपपोत गर्न शुरु गरेको बताउनुभयो । ‘पहिलेदेखि चलिआएको प्रचलन हो । अरुबेला नसकेपनि वर्षमा एकपटक दशैंमा त घर सिंगार्नुपर्यो नी !’ –उहाँले ईरानीमहलसँग भन्नुभयो ।

यस्तै, बगनासकाली ७ कै तिलक श्रेष्ठ पनि केही दिनयता घर लिपपोतमा लागेको बताउनुभयो । ‘घरलाई लिपपोत गरेर चिटिक्क नबनाउँदासम्म दशैं आएजस्तो नै लाग्दैन् । अहिले गाउँमा धेरैजना लिपपोतमा ब्यस्त हुनुहुन्छ–’ सेतो चुनाले घर पोत्दै गर्नुभएका उहाँले भन्नुभयो ।

माटोको जोहो गर्न कठिन पछिल्ला वर्ष लिपपोतमा प्रयोग हुने रातो माटो, कमेरोको जोहो गर्न स्थानीयलाई समस्या हुने गरेको छ । स्थानीयहरु पहिले पहिले जस्तो सहज रुपमा रातो माटो र कमेरो नपाईने गुनासो गर्छन् । बगनासकाली ७ की टंकी मिधुनले निकै टाढा पुगेर माटोको जोहो गरेको बताउनुभयो । ‘नजिक पाईदैन, घण्टौं हिँडेर गाईघाट खोलामाथी गुम्बा पुगेर माटो ल्याएकी हुँ’ –उहाँले समस्या सुनाउनुभयो । रातो माटो र कमेरो खोज्न समस्या हुने भएपछि अहिले त्यसको विकल्पमा चुना र आधुनिक रंगको प्रयोग बढेको देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update