Erani Mahal
लुम्बिनी प्रदेश प्रहरीद्वारा चाडपर्वमा अपराध नियन्त्रणमा ७२ सय जनशक्ति परिचालन
lumbini-prahari
वुटवल- लुम्बिनी प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा हुने अपराध नियन्त्रणका लागि प्रदेशभरमा ७ हजार २ सय ३३ प्रहरी जनशक्ति परिचालन गरेको छ । लुप्र प्रहरीले दसैं तिहार सुरक्षा योजनाअन्र्तगत प्रदेशभर शान्ति सुरक्षाको व्यवस्थापनका लागि विशेष प्रहरी टोली गठन गरी जिल्लामा परिचालन गरेको छ । चाडपर्वको बखत हुने अपराध नियन्त्रणका लागि प्रदेशभर पेट्रोलिङ, मोटरसाइकल, पैदल गस्ती, चेकजाँचलगायतका कार्यहरु बढाइएको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एवं डिआइजी रविन्द्र बहादुर धानुकले जानकारी दिनुभयाे । प्रदेशमा कुनै पनि घटनाको जानकारी प्राप्त भएमा तत्काल परिचालन हुने गरी प्रदेशभर २१ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) गठन गरी परिचालन गरिएको छ । 'हामीलाई कुनै घटनाको जानकारी आएलगत्तै तयारी अवस्थामा रहने क्यूआरटी तत्काल घटनास्थलमा पुग्नेछ,' डिआइजी धानुकले भने, 'यसले अपराध नियन्त्रणमा मद्दत पुग्नुका साथै पीडितको तत्काल उद्दार र घटनाको अपराधीलाई पक्राउ गर्न समेत सहज हुनेछ ।' यात्राका क्रममा आवश्यक सहयोग एवं समन्वयका लागि प्रदेश अन्र्तगत ३० स्थानमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा समेत प्रवाह गरिएको छ । चाडपर्वमा हुने जुवातासलगायत अवैध क्रियाकलाप नियन्त्रण गर्न प्रदेशभर २५ वटा विशेष प्रहरी टोली परिचालन गरिएको छ । त्यस्तै चाडपर्वमा ओभरस्पिड, मापसे गरी सवारी चलाउने, झुण्डीएर लगायतका कारण हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न ट्राफिक प्रहरी सहितको ४१ वटा प्रहरी टोली परिचालन गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार वैदवारले जानकारी दिए । 'चाडपर्वलाई लिएर हामी निकै सजग छौँ’, उनले भने, 'प्रदेशको शान्ति सुरक्षाका लागि हामीले कुनै कसर बाकी राख्दैनौँ ।' उहाँका अनुसार प्रदेशमा गुण्डागर्दी, चोरी, झै–झगडा लगायतका क्रियाकलाप नियन्त्रण गर्नका २५ वटा र लागुऔषध, हातहतियार, मानव बेचबिखन लगायतका अपराधिक क्रियाकलाप नियन्त्रण गर्न राजमार्गहरुमा ६५ वटा चेक प्वाइन्ट राखि निगरानी एवं चेकजाँच गर्ने भइरहेको छ । सीमा क्षेत्रमा हुने चोरी तस्करी, ठगी, डकैती जस्ता अपराधिक घटनाहरु निरुत्साहित गर्न सीमा क्षेत्रका ७० वटा युनिटबाट गस्तीको व्यवस्था मिलाइएको र महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई यात्राको क्रममा कुनै हिंसा भएमा तत्काल उद्दार एवं कारवाहीको लागि प्रत्येक जिल्लामा प्रहरी टोली खटाइएको लुप्र प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुनै समस्या परेमा १०० नम्बरमा वा सार्वजनिक गरिएको जिल्लाको सूचना अधिकारीलाई फोन सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update