Erani Mahal
तानसेनमा विकासकाे काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही !
palpa cold store
पाल्पा – विकास निर्माणको जिम्मा लिएर समयमै काम नगरेका ठेकेदारलाई तानसेन नगरपालिकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाको बोर्ड बैठकले समयमै काम नगरेका ६ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । आव २०७६/०७७ मा सङ्घीय सरकार, प्रदेश सरकार र तानसेन नगरपालिकाको संयुक्त लगानीका विभिन्न योजनाको कामै सुरु नगरेका व्यवसायीलाई कारबाही गर्नुपर्ने नगर बोर्डले निर्णय गरेको छ । काम नगरेपछि नगरपालिकाको विकासमा दीर्घकालिन महत्व राख्ने छ वटा योजनाको रकम फ्रिज भएको छ । प्रदेश सरकार र तानसेन नगरपालिकाको संयुक्त लगानीमा हुने भनिएको छ वटा योजनाको कामै सुरु नगरेका ठेकेदारलाई कारबाही गर्नुपर्ने नगर बोर्डको निष्कर्ष छ । तानसेनको वडा नं. ९ स्थित गुन्द्रेखोला सारेम जाने मोटरबाटोको स्तरउन्नति गर्न जीवन एण्ड ब्रदर्स तानसेनसँग २०७६ फागुन २२ गते ६७ लाखमा सम्झौता भएको थियो । यस्तै गुफाचउर जाने मोटरबाटो स्तरउन्नतिका लागि साइन कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग गत फागुनमै ७० लाखमा सम्झौता भएको थियो । तर निर्माण कम्पनीले काम सुरु नै नगरेको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । साइन कन्स्ट्रक्सनसँगै सोही मितिमा डाँडाकटेरी केरबारी अर्तुङ्गा जाने बाटो निर्माणका लागि ३२ लाख १४ हजारमा सम्झौता भएको थियो । यस्तै लायन्स धर्मशाला क्षेत्रको बाटो निर्माण गर्न २१ लाख १७ हजारमा गत बैशाखमा साइन कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग सम्झौता भएको थियो । यस्तै भालेबास पीपलडाँडा तिनाउ सडकको स्तरउन्नतिका लागि सुदिप सुदिक्षा निर्माण तथा सप्लायर्ससँग २०७६ फागुन २२ गते ६१ लाख ३१ हजारमा सम्झौता भएको थियो । सुदिप सुदिक्षा निर्माणले सोही मितिमै नारनडाँडा विसुनडाँडा, अर्चले सापाखुम जाने सडकको काम गर्न नसक्दा ४७ लाख ६४ हजार रकम फ्रिज भएको छ । नगरपालिकाका प्रमुख अशोककुमार शाहीका अनुसार नगरका विकासमा महत्व राख्ने योजना सम्पन्न नगर्ने ठेकेदारसँग स्पष्टीकरण लिने प्रक्रिया अगाडि बढेको छ । उहाँले ठेकेदारको लापरबाहीले तीन करोड रुपियाँ भन्दा बढी फ्रिज भएको बताउनुभयो । एकवर्षिय योजना भएकाले ठेकेदारले समयमै काम नगर्दा नगरपालिकाले महत्वपूर्ण मानेका योजना अधुरा बनेको नगरपालिकाको भनाई छ । तानसेन नगरपालिकाको क्रोनिक योजनाको रुपमा रहेको बाघखोर चिस्यान केन्द्र निर्माण भएको आठ वर्ष बितिसकेको छ । यद्यपी यो योजना अहिलेसम्म सम्पन्न हुन सकेको छैन । निर्माणको जिम्मा लिएको हिम्दुङ्ग एण्ड ठोकर÷जय रक्तकाली जेभीले यो काम अहिलेसम्म सकेको छैन । उक्त चिस्यान केन्द्र निर्माणमा समेत ठेकेदारले लापरबाही गर्दै आएको छ । उक्त निर्माण व्यवसायीलाई समेत नगरपालिका कारबाही गर्नुपर्ने अडानमा छ । यस्तै तानसेनको कोर बजारमा ढुङ्गा छापिरहेको निर्माण कम्पनी श्री सीएम शिवालय जेभी बानेश्वरले समेत ढुङ्गा छाप्ने काममा ढिलाई गर्दै आएको छ । पटक–पटक म्याद थप गरेर पनि उसले काम समयमै सम्पन्न गर्न सकेको छैन । पछिल्लो पटक थप गरिएको म्याद अनुसार अगामी पुस मसान्तभित्र उसले काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । यस्तै तानसेनको बतासे, कैलाशनगर, श्रीनगर सडक तथा रोज रिसोर्ट, आँखा अस्पताल जाने सडक मर्मतको ठेक्का पाएको शर्मा निर्माण सेवाले समेत हालसम्म काम सुरु गरेको छैन । गत बैशाखमा सम्झौता भएपनि उसले छ महिनाभित्र सक्नुपर्ने काम अहिलेसम्म सुरु नगरेको तानसेन नगरपालिकाले जनाएको छ । नगरपालिकाको बोर्ड बैठकले समयमै काम नगर्ने ठेकेदारलाई स्पष्टीकरण लिने निर्णय गरेको छ । चित्तबुझ्दो जवाफ नआए नगर बोर्डले कारबाही गर्न सम्बन्धित निकायमा पेश गर्ने जनाएको छ । तर निर्माण कम्पनीहरुले भने कोरोना महामारीका कारण आफूहरुले समयमै काम गर्न नसकेको बताउँदै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update