कृष्ण थापा
पहाडको खोंचबाट
गिठालाई सुम्सुमाउदै
कलकल बगेको पानीमा रमाउदै
खुइय्य स्वास फेर्दै
बस्तुभाउको आहार जुटाउन तल्लिन गोरे दाइ
माटोको ढिस्कोमा आड लाएर
आँखा चिम्म गर्न के भ्याउछन्
सोचमग्न हुन्छन् उनी
पेटको बिकार हावा बाहिर फ्याक्दै
अलिकति गम्न खोज्छन्
झस्याङ्ग हुन्छन्
नाडी फताकफुतुक भए जस्तो हुन्छ
चिट चिट पसिना आउँछ उनको निधारमा
उनले पल्तिरको काकालाई हेर्छन्
उस्तै छन् काका
दीलका उदार छन् उनी
मझेनी भाउजूको चित्र उत्रिन्छ उसै गरी
सहृदयी सबैकी प्यारी
परको रामुलाई सम्झन्छ
काममा असाध्यै लगनशील छन्
फलाममा ह्यामरले हिर्काइरहन्छन्
तल्लारे सुन्तली भुन्टाभुन्टीको पेटको किरा मार्न
सधै काम खोजेर हिँड्छिन्
उपल्लारे आमै सधै बररर आँसु बगाउछिन्
नातिनातिनाको भबिस्य सम्झिएर
कागजका पातहरू टिप्न पठाएको कलिलो छोरो
बाकसभित्र कैद भएर फर्केको घटनाको यादले
माथिल्लारे साइली घुँक्क घुँक्क गर्छिन्
परायासङ्ग प्रेमजालमा फसेकी छोरी
कतै अत्तोपत्तो छैन
कुनै काल कोठरीमा परी कि भनेर
फेरि झस्कन्छन् उनी हरिलाई सम्झेर
खोइ कहाँ कहाँ पुग्यो
गैँटी उचालेको पनि देखेन उसलाई
न कहिल्यै हलि बन्यो
न कहिको जागिरे
उनकै दमाली पो त
´चन्दन`उपनामले भासण गर्दा त झण्डै भुलेको उसलाई
गरिबको यसो गरिन्छ
गरिबको उसो गरिन्छ
म पनि त गरिब हु आदि
कुर्लेको हिजो जस्तो लाग्छ गोरे दाइलाई
तर ऊ त कारमा चढ्ने पो भैसकेछ
गरिब भन्ने कोहि छैन भन्दै
भासण पो गर्न थालेछ
साँझ पर्न थाल्दै गर्दा आफ्नो झुपडी सम्झदै
झस्कदै पसिना पुच्छन् गोरे दाइ
कतै तिनीहरुको समाजवाद आइसक्या त होइन?
प्रअ देववाणी माध्यमिक विद्यालय तानसेन पाल्पा ।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७ १९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय