Erani Mahal
सिद्धार्थ आर्थिक कोरिडोरमा २० अर्ब लगानी गर्ने सम्झौता
120620222_10222736620500289_182173200287558626_n (1)
पाल्पा – सिद्धार्थ आर्थिक कोरिडोरमा २० अर्ब लगानी गर्ने सम्झौता भएको छ । सिद्धार्थ आर्थिक कोरिडोर क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ लोकल इन्टरभेन्सन ग्रुप बेलायत र सिद्धार्थ आर्थिक कोरिडोरको संयोजन गरिरहेको तानसेन नगरपालिकाका बीचमा सम्झौता भएको हो ।   यो वर्षदेखि नै सिद्धार्थ आर्थिक कोरिडोरसँग जोडिएका गाउँपालिका/नगरपालिका तथा महानगरपालिकामा लगानी हुने बताइएको छ । उक्त ग्रुपले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर लगानी गर्ने जनाएको छ । कृषि क्षेत्रमा लागेका उद्यमी तथा सिर्जनशील नवउद्यमीले पाँच लाखसम्म अनुदान पाउने गरी कार्यक्रम लागू हुने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो ।       सिद्धार्थ आर्थिक कोरिडोरको अबधारणा तानसेन नगरपालिकाको अगुवाईमा अघि सारिएको आर्थिक कोरिडोर भएकाले यसमा क्रमशः नेपाल सरकार र दातृ निकायको चासो बढेको उहाँले बताउनुभयो । मूलतः यस क्षेत्रमा रोजगार सिर्जना गर्ने र सिर्जनशील सीप तथा श्रमलाई पलायन हुन नदिने कोरिडोरको लक्ष्य रहेको शाहीले उल्लेख गर्नुभयो । उहाँले लोकल इन्टरभेन्सन ग्रुपलाई सिद्धार्थ आर्थिक कोरिडोर क्षेत्रमा लगानी गरेर यस क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्न लागेकोमा धन्यवाद दिनुभयो ।   सम्झौता हस्ताक्षर तथा सार्वजनिक कार्यक्रममा ग्रुपका कार्यकारी अधिकृत प्रणव बुढाथोकीले ग्रुपले उद्यमशिलता विकास सम्बन्धी तालिम, विशेष प्रशिक्षण, कानुनी र वित्तिय र बजारीकरणमा सेवा प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले सिद्धार्थ आर्थिक कोरिडोरभित्र रहेका १५ वटा पालिकाभित्र आफूहरूले कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।   सिद्धार्थ आर्थिक कोरिडोर अन्तर्गत समेटिएका पालिकाहरूका बीचमा भेला, बैठक तथा जुम मिटिङ् भएका छन् । भेला तथा छलफलपछि १५ वटै पालिकाहरूले सिद्धार्थ आर्थिक कोरिडोरसँग समेटेर आर्थिक आयआर्जन तथा उद्यमशिल कार्यक्रम सञ्चालन गरिरहेका छन् । यस्तै सचिवालय गठन तथा सञ्चालन, कोरोना महामारी नियन्त्रणका बारेमा समेत छलफल भएको सचिवालयका फोकल पर्सन विष्णु पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update