X

डाक्टर–इन्जिनियर बनौं तर आर्टस् पनि पढौं

रानीमहल संवाददाता || १९ आश्विन २०७७,सोमबार १२:३४

खेमकुमार अर्याल, नेपालमा उच्चशिक्षाबारे मिलन पाण्डेले हालै नयाँ पत्रिकामा एउटा महत्वपूर्ण विषय उठाउनुभएको छ। आफूलाई एक इन्जिनियरको रुपमा परिचित गराउने पाण्डेले नेपालका ‘टपर’ विद्यार्थीहरुलाई भने मेडिसिन तथा इन्जिनियरिङजस्ता विषयको साटो आर्टस् पढ्न सुझाउनु भएको छ।

नेपालको राष्ट्रिय शिक्षा नीति लगभग दिशाहीन, गन्तव्यहीन र अन्योलग्रस्त छ। राष्ट्रिय जीवनका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने जनशक्तिको अभाव खट्किरहँदा पनि नेपालका नीतिनिर्माता र निर्णयकर्ताहरुमा शिक्षा नीतिबारे गम्भीर चिन्तन गर्ने चासो देखिँदैन।

 

 

कतिपय तहबाट मानविकीसँग सम्बन्ध राख्ने केही विषयलाई हटाइएको छ। यस्तो बेलामा पाण्डेले उठाएको यो बहस अझ सान्दर्भिक बनेको छ। यस्ता सार्वजनिक बहसले हाम्रो उच्चशिक्षामा गर्नैपर्ने सुधार र पुनर्संरचनाको विषयलाई सम्बन्धित शैक्षिक, प्राज्ञिक तप्का र आम समुदायबीच छलफलमा लैजाने आशा गर्न सकिन्छ। शिक्षा आमसरोकारको विषय हो, तसर्थ शिक्षासम्बन्धी विमर्श निश्चित व्यक्ति र कोठे छलफलमा मात्र सिमित हुनुहुन्न। यसले साँचो अर्थमा सार्वजनिक बहसको रुप लिनु पर्छ।

विश्वविद्यालय अनुदान आयोगद्वारा प्रकाशित शैक्षिक वर्ष २०७०/७१ को तथ्यांकअनुसार सो वर्ष उच्च शिक्षाका लागि भर्ना भएका कुल ४ लाख ५८ हजार ६ सय २१ विद्यार्थीमध्ये ८५ दशमलव ४८ प्रतिशत विद्यार्थीले गैरप्राविधिक (जनरल कोर्स) रोजेका थिए। उनीहरुले व्यवस्थापन, शिक्षा, मानविकी तथा समाजशास्त्र, कानुन, बौद्ध तथा संस्कृत विषय पढेका थिए। सो वर्ष १४ दशमलव ५२ प्रतिशत विद्यार्थी प्राविधिक संकायतर्फ विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, मेडिसिन, कृषि तथा वन विज्ञानमा भर्ना भएका थिए। गैरप्राविधिकमा भर्ना हुनेमध्ये १२ दशमलव ५२ प्रतिशत विद्यार्थीले मानविकी तथा समाजशास्त्रलाई रोजेका थिए।

 

 

 

हरेक वर्ष स्नातक पूरा गरी विश्वविद्यालयबाट बाहिरिने विद्यार्थीमध्ये कतिले बजारमा रोजगारी प्राप्त गर्छन् र कति बेरोजगार रहन्छन् भन्ने आधारभूत तथ्यांक राख्ने संरचना समेत हाम्रोमा अझै बनेका छैनन्। वास्तवमा पढाइपछि रोजगारीको अवस्था, बजारमा आफूले पढाउने विषयमा स्नातकहरुको माग र पूर्तिको अवस्थाबारेको बहस हाम्रो शिक्षा प्रणालीका अंग अझै बन्न नसक्नु चिन्ताजनक पक्ष हो। तर, मानविकी पढ्नेहरु पढाइमा कमजोर विद्यार्थीहरु हुन् र उक्त विषयले बेरोजगार र देशलाई त्यति आवश्यक नपर्ने स्नातकहरु उत्पादन गरिरहेको छ भन्ने जनमत भने हावी छ।

आफू मानविकी विषयको विद्यार्थी भएका कारण मेरा केही आग्रहहरु पनि हुन सक्छन्। तर मानविकी पढ्नेहरु सबैले विज्ञान संकायमा अध्ययन गर्न अयोग्य ठहरिएका कारण मात्र यो विषय रोजेका हुँदैनन्। हजारौं उत्कृष्ट विद्यार्थीले मानविकी पढिरहेकै छन्। त्यसैले अहिले आर्टस् पढ्ने धेरै विद्यार्थीहरु उत्कृष्ट पनि छन्।

 

योसँगै ‘लिबरल आर्टस्’ पढेर मात्रै समाजलाई नेतृत्व दिन सक्ने जनशक्ति उत्पादन हुन्छ भनेर मान्ने हो भने त हामीसँग अहिले नेतृत्वको यो खडेरी महसुस हुनै नपर्ने हो। त्यसैले उत्कृष्ट विद्यार्थीले आर्टस् नपढेकै कारण यो अवस्था आएको भन्न उपयुक्त नहोला। एसईई वा अन्य कुनै परीक्षामा अलिकति अङ्क बढी ल्याउँदैमा कोही विद्यार्थी टपर तथा बढी योग्य र अन्य विद्यार्थी कुनै विषय अध्ययन गर्न अयोग्य सम्झने हाम्रो परिपाटी पनि आफैंमा घातक छ।

विज्ञ जनशक्तिको खाँचो
नेपाल अहिले आफ्नो पूरै सामर्थ्यका साथ विकासको चरणमा होमिनुपर्ने अवस्थामा छ। मेडिकल कलेजहरुको संख्या त बढेको बढ्यै छ। तर, हामीलाई देशभर चाहिने चिकित्साकर्मीहरुको अभाव पूर्ति हुनसकेको छैन। हामीले विकासका क्षेत्रमा अरु देशको गति पछ्याउन व्यापकरुपमा भौतिक पूर्वाधारको विकास नगरी सुखै छैन। त्यसका लागि हामीलाई ठूलो संख्यामा फरकफरक विज्ञतासहितका इन्जिनियर नभई हुँदैन। योसँगै वित्तीय र व्यवस्थापन क्षेत्रको फैलावट व्यापक हुनैपर्छ र त्यसका लागि दक्ष जनशक्तिबिना यो सम्भव छैन। पर्यटनलाई देश विकासको एउटा खम्बा मान्ने हो भने होटल व्यवस्थापन, हस्पिटालिटी तथा ट्राभल जस्ता क्षेत्रमा अहिलेभन्दा कैयौं गुणा बढी जनशक्ति चाहिन्छ। कृषि तथा पशुपालन विज्ञहरुको खाँचो उत्तिकै छ।

 

 

हामी विकासको यो चरणमा रहेका बेला किन स्कुल तथा कलेजका उत्कृष्ट विद्यार्थी (टपर)हरुलाई यस्ता पेसागत विषयको साटो मानविकी संकाय रोज्न भन्दैछौं त? त्यसो गर्दा हामी फेरि बेरोजगार उत्पादन गर्ने चक्रमै त रुमल्लिँदैनौं? मानविकीलगायत ‘लिबरल आर्टस्’ अन्तर्गतका अरु विषयहरुको उच्चशिक्षामा रहेको महत्व के हो?

हामी अहिले विकासको जुन चरणमा छौं, त्योअनुसार त हामीले प्रतिभाशाली युवाहरुलाई प्रबिधि र पेसागत क्षेत्रका दिग्गज विज्ञको रुपमा स्थापित हुन प्रोत्साहित गर्नुपर्ने होइन र?

देशमा समग्र नेतृत्वमा देखिएको संकट समाधानका लागि भनेर सक्षम विद्यार्थीलाई साहित्य, इतिहास, दर्शन, फाइन आर्टस् जस्ता विषय मात्र पढ्न लगाउँदा देश विकासका लागि चाहिने विज्ञ नेतृत्व र जनशाक्तिको आवश्यकता एकैसाथ पूर्ति होला त?

शिक्षाको आधारशिला र असल नागरिक
कुनैपनि मुलुकको शिक्षा प्रणालीको पहिलो उद्देश्य विद्यार्थीलाई असल नागरिक बनाउनु र देशका लागि आवश्यक जनशक्ति तयार गर्नु हो। उच्चशिक्षा प्रणालीले नागरिकहरुलाई आत्मनिर्भर बन्न र कुशलताका साथ आफ्ना जिम्मेवारीहरु पूरा गर्न सक्ने बनाउनुपर्छ साथै विभिन्न क्षेत्रमा नेतृत्व प्रदान गर्ने व्यक्तिका रुपमा पनि तयार गर्नुपर्छ।

 

 

त्यसो भए असल नागरिक भनेका को हुन्? कस्ता नागरिक असल हुन्? विश्वविद्यालय शिक्षाको मुख्य अवधारणा के हो? शिक्षा प्रणालीबारे छलफल गर्दा यी मुलभूत विषयमा घोत्लिनु आवश्यक छ।

पुरानो तर अहिलेसम्म पनि उत्तिकै चर्चित पुस्तक ‘दि आइडिया अफ अ युनिभर्सिटी’का लेखक जोन हेनरी न्युम्यानले विश्वविद्यालयलाई सिकाइको थलोको रुपमा व्याख्या गरेका छन्। यो त्यस्तो सिकाइ हो, जुन आफ्नै लागि हुन्छ र विश्वविद्यालय त्यस्तो ठाउँ हो, जहाँ विभिन्न बौद्धिक परम्पराबाट आएका विद्यार्थीहरु जम्मा हुन्छन् र प्राप्त ज्ञानलाई आफ्नो अध्ययनको क्षेत्रमा उचित तवरले प्रयोग गर्छन्। यो अभ्यासले विद्यार्थीको दिमागमा यस्तो बौद्धिक क्षमता (बानी)को विकास गर्छ, जुन जीवनभर कायम रहन्छ। स्वतन्त्रता, समानता, शान्तपन, सन्तुलन र विद्वता यसका मूलभूत गुणहरु हुन्।

 

 

यस आधारमा हेर्दा विश्वविद्यालयको शिक्षाको परम्परा कुनै निश्चित व्यावसायिक तालिम तथा वस्तुगत सीपसँग नभई लिबरल आर्टस् शिक्षासँग जोडिएको छ।

विश्वकै सबैभन्दा पुरानो मानिने भारतीय उपमहाद्वीपको तक्षशिला विश्वविद्यालय लिबरल आर्टसको केन्द्र थियो, जहाँ विभिन्न क्षेत्र र संस्कृतिबाट आएका १० हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्थे।

प्राचीन ग्रिसमा ‘लिबरल आर्टस्’लाई कुनैपनि व्यक्तिको शिक्षाको अभिन्न अंगको रुपमा लिइन्थ्यो। यही शिक्षाले नै नागरिकलाई सामाजिक (सिभिक) सहभागिताका लागि योग्य बनाउँथ्यो। उनीहरुलाई सार्वजनिक बहसमा सहभागी हुन तयार पार्थ्याे। एक स्वतन्त्र नागरिकको रुपमा प्रस्तुत हुन सक्षम बनाउँथ्यो र उनीहरुलाई अदालत र सेनाजस्ता महत्वपूर्ण निकायमा काम गर्नसक्ने बनाउँथ्यो।

प्राचीन समयमा ‘लिबरल शिक्षा’मा मुख्यतः तीनवटा विषय हुन्थे– व्याकरण (ग्रामर), अभिव्यक्ति तथा प्रस्तुति (रेटोरिक) र तर्क दर्शनशास्त्र (लजिक)। यी तीनलाई एकमुष्ट रुपमा ट्रिभियम भनिन्थ्यो।

मध्यकालीन अवधिमा लिबरल आर्टसमा अन्य चार विषय थपिए– अंकगणित, ज्यामिति, संगीत र खगोलशास्त्र। नैतिक, सद्गुणी, विद्वत र प्रखर नागरिक तयार गर्नु यी विषय अध्यापनको मुख्य लक्ष्य थियो।

आधुनिक समयमा त विद्यार्थीहरुसँग छनोटका विविध विकल्पहरु छन्। साहित्यदेखि मनोविज्ञान, विज्ञान, इतिहास, वातावरण शिक्षा, सिर्जनशील लेखन आदि। तर अन्ततः यी सबै विषयहरुको मुख्य उद्देश्य भनेकै सर्वपक्षीयरुपमा दक्ष व्यक्तिहरुको विकास गर्ने हो, जसले रचनात्मक तथा आलोचनात्मक विचारमा दक्षता राखून् र प्राप्त ज्ञानलाई आफ्नो समाजको विशिष्ट परिवेश र आवश्यकताअनुसार प्रयोग गर्न सकून्।

प्राज्ञिक र पेसागत दक्षता
संक्षिप्तमा भन्दा, कुनै निश्चित कार्यसम्पादनका लागि प्रशिक्षित हुनु र शिक्षित हुनुमा ठूलो भिन्नता छ। पेसागत तालिमले कुनै व्यक्तिलाई निश्चित सीप र विधिका आधारमा काम गर्न र आइपर्ने समस्या सुल्झाउन सक्षम बनाउँछ। उदाहरणका लागि गाडी चलाउन वा जहाज उडाउन, पुलका लागि सर्वे गर्न, आय–व्ययको लेखा राख्न वा करको हिसाब गर्न यस्तै पेसागत दक्षता आवश्यक पर्छ, जुन निश्चित पढाइ, तालिम र विधिका आधारमा हासिल गर्न सकिन्छ। विश्वविद्यालय तथा तालिम केन्द्रद्वारा प्रदान गरिने व्यावसायिक विषयहरु यी र यस्तै दिशातर्फ उन्मुख हुन्छन्।

त्योभन्दा फरक केही यस्ता विधाहरु हुन्छन् जसले विद्यार्थीलाई कुनै निश्चित सीप सिकाउँदैनन्। साहित्य पढेर कुनै व्यक्ति राम्रो समालोचक बन्नसक्ला तर उसका ती सीपहरु सबैका लागि एकै किसिमले लागू हुँदैनन्। ती सीपलाई वैज्ञानिकरुपमा सबैले एकै प्रकारले सिक्न र प्रयोग गर्न सक्तैनन्। निरन्तरको लेखन साधनाबाट कुनै व्यक्ति राम्रो लेखक बन्नसक्ला तर उसले सिकेको दक्षता हस्तान्तरण गर्न उसले अरु कसैलाई ‘प्रेसक्रिप्सन’ भने दिन सक्दैन किनभने उसको हकमा लागू भएको कुराले अरुका लागि काम नगर्न सक्छ। एउटा बायोलोजीको ल्याबमा एकजनाले प्रयोग गर्ने परीक्षणको विधि (प्रोटोकल) र अरुले गर्ने विधि एउटै भएजस्तो सिर्जनशील लेखन वा दर्शन जस्ता विधामा निश्चित विधि वा खाकाभित्र काम हुन सक्दैन।

लिबरल आर्टसतर्फ विद्यार्थीको आकर्षणको ट्रेन्ड नेपाल र अन्यत्र फरक देखिन्छ। संसारभर लिबरल आर्टसका विद्यार्थी घटिरहेका छन्। उदाहरणका लागि, अमेरिकामा सन् १९७१ मा ७.६ प्रतिशत विद्यार्थीले अंग्रेजी भाषा र साहित्यमा स्नातक गरेका थिए भने सन् २०१२ मा त्यो संख्या घटेर ३ प्रतिशतमा झरेको थियो।

अमेरिकामा लिबरल आर्टस् विषयमा किन थोरै विद्यार्थी भर्ना भइरहेका छन् त भन्ने सन्दर्भमा चर्चित पत्रकार तथा लेखक फरिद जकारियाले आफ्नो पुस्तक ‘इन डिफेन्स अफ लिबरल एजुकेसन’मा लेखेका छन्ः ‘उच्चशिक्षामा प्रवेश गर्ने सबै नवप्रवेशीहरु लिबरल आर्टसभन्दा रोजगारमुखी तालिम रोज्ने ढर्रा नै कतिलाई ठिक लाग्नसक्छ। ठिक हुन पनि सक्छ। तर, शिक्षा विस्तारको सुरुका चरणहरुमा यस्तो थिएन। उदाहरणका लागि सन् १९५० र ६० को दशकमा विद्यार्थीहरुले कलेजलाई ‘ट्रेड स्कुल’भन्दा बृहत् रुपमा हेर्थे। उनीहरुले यसलाई आफ्नो करिअरमा प्रवेशमार्गको रुपमा त लिन्थे तर त्योसँगै अमेरिकी समाज र संस्कृतिभित्र समाहित हुने एउटा कडीका रुपमा पनि बुझ्थे।’

तर, त्यो क्रम बिस्तारै घट्दै गएर अहिले मूलरुपमा लिबरल आर्ट्स पढ्ने विद्यार्थीको संख्या तुलनात्मक रुपमा एकदमै कम भएको छ। त्यसको साटो नयाँ पुस्ता व्यवस्थापन, कम्प्युटर साइन्सजस्ता व्यावसायिक विषयतर्फ बढी लागेका छन्। राष्ट्रिय नीति निर्माणको तहबाट पनि लिबरल आर्टसभन्दा यस्ता व्यावसायिक विषयहरुलाई स्रोतसाधन बढी उपलब्ध गराइएको छ। लिबरल आर्टस् पढ्ने र पढाइने अवस्थामा पनि यो शिक्षालाई कसरी आर्जनमूलक बनाउन सकिन्छ भन्नेतर्फ उच्चशिक्षासम्बन्धी निकायका नेतृत्व लागिपरेको देखिन्छ। यो ट्रेन्डले पार्ने तत्कालीन र दिर्घकालीन असरबारे चिन्ता व्यक्त गर्न पनि थालिएको छ। जकारियाले व्यक्त गरेको चिन्ता यस्तै एउटा चिन्ता हो र पाण्डेको चिन्ता पनि यससँगै मिल्दोजुल्दो देखिन्छ।

उच्चशिक्षालाई व्यावसायिक शिक्षातर्फ मात्र उन्मुख गर्दा के समस्या आइपर्छ त?

यो पक्षलाई बुझ्नका लागि कुनै क्षेत्रमा निश्चित समय काम गरेर प्राप्त अनुभव वा निश्चित अवधिको तालिम लिएर बनेका व्यावसायिकहरु र विश्वविद्यालयबाट डिग्री प्राप्त गरी बनेका व्यावसायिकहरुबीचको भिन्नताबारे चर्चा गरौं।

हामी अहिले पनि कति स्वास्थ्यकर्मीहरु भेट्छौ, जो वर्षौं काम गरेका आधारमा कुनै औपचारिक योग्यताबिना पनि बिरामीको रोग पहिचान गर्ने तथा उपचार गर्ने काम राम्रोसँग गर्न सक्छन्। एक इन्जिनियरको सहयोगीको रुपमा काम गर्न सुरु गरेर इन्जिनियरले गर्नुपर्ने प्रायः काम गर्नसक्ने मानिस पर्याप्त छन्। औपचारिक डिग्री पाप्त नगरे पनि कार्यसम्पादन लगभग डिग्रीप्राप्त व्यवसायिकले जस्तै गर्नसक्नेहरुको संख्या ठूलो छ।

यहाँनेर प्रश्न गर्न सकिन्छ– यदि कार्यसम्पादन उस्तै हो भने डिग्री हासिल नगर्दा के समस्या भो त? ती काम गर्न सीप र अनुशरण गर्ने निश्चित विधि (प्रोटोकल) को कुरा उनीहरुसँग पनि छ भने हामीले औपचारिकरुपमा उच्चशिक्षाको डिग्रीप्राप्त व्यावसायिकबाट के फरक नतिजा अपेक्षा गरेका हुन्छौं त?

यो त्यही कुरा हो जुन लिबरल आर्टसबाट प्राप्त हुन्छ। कुनै एउटा पेसागत व्यक्तिले यान्त्रिक रुपमा कुनै कार्यसम्पादन गर्न सफल भएर मात्र पुग्दैन। सडकको सर्भे गरेर मात्र एउटा इन्जिनियरको उत्तरदायित्व पूरा हुँदैनन्। जबसम्म ती पेसागत सीप मानवीय र सामाजिक उत्तरदायित्वसँग तादात्म्य मिलाएर प्रयोग हुनसक्ने अवस्था हुँदैन र ती पेसाकर्मी जबसम्म स्वतन्त्रता, सामाजिक न्याय, शान्ति र सौहार्धता तथा नैतिक मूल्य र मान्यताबाट निर्देशित हुनसक्ने अवस्था सिर्जना हुँदैन, तबसम्म हामीले शुद्ध तालिम प्राप्त व्यक्तिमात्रै उत्पादन गरिरहेका हुन्छौं।

अहिले नेपालको हकमा देखिएको कमजोरी धेरै हदसम्म यहीँनेर हो। माध्यमिक तहमै विज्ञान, व्यवस्थापन र मानविकी संकाय छुट्टिएको छ। हाम्रा विद्यार्थीहरु माध्यमिक तहपछि मेडिकल, इन्जिनियर जस्ता पेसागत विषयहरु पढ्न सुरु गर्नासाथ उनीहरु सबै लिबरल आर्टसबाट टाढिन्छन्। त्योसँगै उनीहरु मानवीय पक्षसँग पनि टाढिदै जान्छन्। ती प्राविधिक र व्यावसायिक संकायमा जानेहरुले आफ्नो पाठ्यक्रम अन्तर्गत साहित्य, कलाबारे केही बुझ्नै पर्दैन। भाषा, दर्शन, इतिहास, समाज, विश्वशान्ति, भूमण्डलीकरण, पर्यावरण, मानवीय जीवनका सम्बन्धबारे उनीहरुले सोच्नै पर्दैन। त्यसैले हाम्रो शिक्षा झन्झन् एकलकाँटे बन्दै गएको छ।

जबसम्म हामीले व्यावसायिक सीपलाई मानवीय मूल्यमान्यता र सामाजिक उत्तरदायित्वसँग जोड्न सक्तैनौं, तबसम्म शिक्षा अपूरो हुन्छ। बिरामीको मुटुको अप्रेसनसँग अनगिन्ती कुरा जोडिएर आएका हुन्छन्। त्यस्तै एउटा खोलामा झलुङ्गे पुल बन्नु र नबन्नुसँग कैयौं कुरा सम्बन्धित हुन्छन्।

मुटुको अप्रेसन गर्ने पनि निश्चित विधिहरु होलान् तर पनि हरेक मुटुको अप्रेसन आफैंमा फरक हुन्छ। त्यसैले एउटा राम्रो सर्जनले कुनै सर्जरी गर्नुअघि, गर्नेबेला र गरेपछिका अनगिन्ती विषयलाई ध्यान दिएको हुन्छ। हो, त्यहीँनेर आवश्यक पर्छ सिर्जनशीलता र विश्लेषणात्मक क्षमता। त्यसैले गर्दा त सबै न्युरो सर्जन उपेन्द्र देवकोटा बन्न सक्दैनन्, सबै मुटुसर्जनहरु भगवान कोइराला बन्न सक्दैनन्। कुनै निश्चित विषयमात्र पढेको भन्दा ‘समाज समेत पढेको र बुझेको’ मान्छेको बुझाइ चाहिन्छ भन्ने गरिन्छ। लिबरल आर्टसको अध्ययनले यही कमी पूरा गर्छ। यिनै पक्षहरुलाई ध्यानमा राखेर अहिले कति ठाउँमा ‘मेडिकल ह्युमानिटिज्’ जस्ता विषयहरुको विकास गरिएको छ।

तर त्यसो भन्दैगर्दा अहिलेको श्रम बजार र माग जुन किसिमको छ, यसबीच सबैलाई वा क्षमतावान सबैलाई आर्टस् पढ्नुपर्छ भन्नु व्यवहारिक कुरा होइन। नेपाल अहिले आर्थिक र सामाजिक विकासको जुन चौबाटोमा उभिएको छ, त्यस अवस्थामा अहिलेका मुख्य आवश्यकता दक्ष मानवस्रोत र समग्र पक्षमा राम्रा नागरिक हुन्।

एक्काइसौं शताब्दीको यो बजार व्यवस्थामा विभिन्न मुलुकले यी आवश्यकताबीच कसरी सन्तुलन मिलाइरहेका छन् त?

युरोपबाट सुरु भएको भए पनि लिबरल आर्टसको पढाइ अहिले अमेरिकामा बढी प्रचलित छ र युरोपले पनि विस्तारै त्यो दिशातर्फ गति बढाइरहेको छ। वास्तवमा, केही दशकयता, अरु कैयौं मुलुकमा पनि लिबरल आर्टसमै केन्द्रित विश्वविद्यालयहरु स्थापना गरिएका छन्। भारतमा सन् २०१४ बाट सञ्चालनमा आएको अशोका विश्वविद्यालयलाई दक्षिण एसियाको एउटा उदाहरणको रुपमा लिन सकिन्छ। अमेरिकामा अहिले पनि लिबरल आर्टस् शिक्षाका लागि थुप्रै क्याथोलिक युनिभर्सिटीहरुलाई सम्झिइन्छ। साथसाथै तक्षशिला विश्वविद्यालयको पुनरोत्थान प्रयासलाई पनि यसै अभियानसँग जोड्न सकिन्छ।

तर कुनै पनि मुलुक अहिले आफ्ना नागरिक साहित्य, दर्शन, इतिहास वा संगीतजस्ता विषयको अध्ययनमा मात्र केन्द्रित रहुन् भन्ने सोच्न सक्तैन। अहिलेको अर्थव्यवस्थाका आवश्यकता र प्राचीन ग्रीस वा मध्ययुगीन युरोप, वा १७औँ तथा १८औं शताब्दीको अमेरिकाका आवश्यकताबीच आकास–जमिनको भिन्नता छ। हामी व्यक्तिको रुपमा अहिलेको आवश्यकता र यथार्थमै बाँच्नु छ भने समग्र समाज र अर्थतन्त्रलाई जगाउन कयौं डाक्टर, इन्जिनियर र व्यवस्थापकहरु नभई भएको छैन।

सिर्जनशीलता र विश्लेषणात्मक चेतसहितको विज्ञता
त्यसैले अहिलेको हाम्रो शिक्षा प्रणालीले लिबरल आर्टस् शिक्षालाई सुधार तथा प्रोत्साहन मात्र नभई राम्रा व्यवसायिकहरु (डाक्टर, इन्जिनियर र व्यवस्थापकहरु)को उत्पादन पनि गर्नुपर्छ। जसले आफ्ना पेसागत सीपलाई रचनात्मक र आलोचनात्मक चेतसहित प्रयोग गर्न सकून्। उनीहरुले व्यक्तिगत तथा पेसागत भूमिकालाई मात्र नभई समग्र मानवीय योगदान, सामाजिक न्याय, अवसर र साधन स्रोतको समतामा आधारित पहुँचलाई समेत ध्यान दिन सकून् र राष्ट्रिय जीवनका विविध क्षेत्रमा नेतृत्व प्रदान गर्न सकून्।

हामीले यसो भनिरहँदा नेपालमा मानविकी विषय पढ्नेहरु सबै सामाजिक न्याय, अवसर र साधनको समतामा आधारित पहुँचलाई ध्यान दिनसक्ने, असल नागरिक हुन् र अरु चाहिँ त्यसो बन्न सकेका छैनन् भन्ने पटक्कै होइन। र, यो आफैँमा छुट्टै छलफलको विषय हुनसक्छ। तर के चाहिँ हो भने जति हामी लिबरल आर्टसको घेरा सानो बनाउँछौं, उति हामी व्यवसायिक शिक्षालाई नितान्त प्राविधिक र रोजगारमुखी तालिममा सिमित गरिरहेका हुन्छौं। यस अर्थमा सबै जनाले वा सबै टपरहरुले आर्टस् पढून् भन्ने भन्दा पनि व्यवसायिक विषय अध्ययन गर्नेहरुलाई पनि लिबरल आर्टस् कसरी पढाउने भन्ने बढी महत्वपूर्ण कुरा हो। यी दुई पक्षको उचित सन्तुलन नै अहिलेको आवश्यकता हो।

अमेरिकामा अहिले लिबरल आर्टस् नै पढाउने विश्वविद्यालयहरु छन्। तर यसका विद्यार्थी घटिरहेका छन्। यसका अतिरिक्त उच्चशिक्षा हासिल गर्न खोज्ने सबैले लिबरल आर्टस् अध्ययन गर्नैपर्ने आवश्यकतालाई जेनरल एजुकेसनले समेट्ने गरेको छ। यसको अवधारणा के हो भने जुन संकाय पढेको भए पनि विश्वविद्यालयबाट स्नातक गर्ने कुनैपनि विद्यार्थीमा आफ्नो व्यावसायिक सीप र ज्ञानका अतिरिक्त निश्चित तहको बौद्धिक क्षमता, सिर्जनशीलता तथा विवेचनात्मक सोचको विकास होस्। त्यसले गर्दा उसमा साझा मानवीय सरोकारका स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरुलाई राम्रोसँग बुझ्न र सम्बोधन गर्न सक्ने क्षमता होस्।

जेनरल एजुकेसन पाठ्यक्रमलाई अहिले स्नातक शिक्षाको मुख्य आधारशिला नै मानिन्छ। अमेरिकी विश्वविद्यालयहरुमा सामान्यतया सम्पूर्ण स्नातक कोर्सको एक तिहाइदेखि आधा कोर्स जेनरल एजुकेसनले नै समेटेको हुन्छ। तर, प्राविधिक विषयतर्फ भने जेनरल एजुकेसनको अंशलाई अलिक कम गरिएको हुन्छ। सामान्यतया विद्यार्थीहरुले कला, साहित्य, दर्शन, इतिहास, सञ्चार, नागरिक शिक्षा, राजनीतिक शास्त्र, सोसल साइन्स, गणित र नेचुरल साइन्सेस लगायत यस्तै विषयहरुमा निश्चित कोर्स पूरा गर्नैपर्ने पाठ्यक्रम बनाइएको हुन्छ। पछिल्लो समयमा पर्यावरण र जनजाति तथा पहिचानसम्बन्धी विषयहरुको अध्ययन पनि समेटिएका छन्।

अहिले नेपालको सन्दर्भमा भने स्नातक तहमा लिबरल आर्टसका विषयहरुलाई समेटिएको छैन। उल्टो कक्षा ११ देखि नै विज्ञान, व्यवस्थापन र मानविकी भनेर छुट्याइएको छ र प्राविधिक तथा व्यवस्थापन छनौट गर्ने विद्यार्थीले लिबरल आर्टसका विषयहरु वास्तै गर्नुपर्दैन। केही समयअगाडि नेपालको कक्षा १२ पास गरी अमेरिका आएर कम्प्युटर साइन्स पढ्न लागेका एक विद्यार्थीले लेखनकला पढ्नु परेपछि यस पंक्तिकारसँग दुखेसो पोख्दैथिए– हामी कम्प्युटर पढ्ने मान्छेलाई किन यो दुःख दिएको होला?

त्यसमाथि, नेपालमा पहिले पढाइने गरेका केही लिबरल आर्टस्सम्बन्धी विषय पनि हटाइएका छन्। नेपाली र अंग्रेजी विषयलाई अनिवार्य विषयको रुपमा समेटिएको छ तर यी विषयलाई पनि क्रियटिभ तथा क्रिटिकल थिङ्किङको फराकिलो विधाको रुपमा नभई केवल कोरा भाषा अध्ययनको रुपमा मात्र सिमित गरिएको हुँदा यसको दायरा संकुचित हुनपुगेको छ।

त्यसैले अहिले नेपालले पनि सबै संकायका पाठ्यक्रममा केही मात्रामा लिबरल आर्टस्लाई समेटेर शैक्षिक नीति तथा पाठ्यक्रम बनाउनु जरुरी भइसकेको छ। यसरी दुवै पक्षको सन्तुलन मिलाउँदा एकातर्फ हाम्रो विकास र आर्थिक पक्षलाई अघि बढाउन अति नै आवश्यक परेका पेसागत दक्षतासहितका कुशल जनशक्ति उत्पादन हुन्छन् भने समाजमा आवश्यक विश्लेषणात्मक चेतसहितका नागरिक र अगुवाहरुको पनि सँगसँगै विकास हुनेछ।

जसरी मानविकीको कुनै औचित्य छैन भनी सबैले विशुद्ध व्यावसायिक विषय मात्र रोज्ने र डाक्टर, इन्जिनियर बन्ने पछिल्ला लहडले हाम्रो समाजलाई एकलकाँटे बनाउँदैछ, त्यसैगरी सबै उत्कृष्ट विद्यार्थीले आर्टस् नै पढौं भन्नु अर्को अव्यवहारिक सोच हुनसक्छ। एउटा अतिवादबाट अर्को अतिवादतर्फ हाम फाल्नु अहिलेको समस्याको समाधान होइन। व्यक्ति स्वयं, बजार र समाज तीनै पक्षका आवश्यकतालाई समेटेर शिक्षालाई समग्रतामा पूर्णता दिनु नै अहिलेको नेपालको शिक्षा प्रणालीमा गर्नुपर्ने एक अत्यावश्यक सुधार हो।

(खेमकुमार अर्याल हाल अमेरिकाको आर्कान्स स्टेट युनिभर्सिटीमा सिर्जनशील लेखन र साहित्य पढाउँछन्) साभार : नेपाल खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५