Erani Mahal
पाल्पामा पीसीआर मेसिन सञ्चालन : काेराेना जाँच गर्न सहज हुने
pcr_kit
पाल्पा – पाल्पामा कोरोना जाँच गर्ने पीसीआर मेसिन सञ्चालनमा आएको छ । पीसीआर मेसिन जडान सकिएपछि नयाँ बिरामीको स्वाब परीक्षणका लागि सङ्क्रमणमुक्त गर्ने काम आइतबारदेखि नै भएको छ । ल्याब भएको स्थल संक्रमणमुक्त गरेपछि जाँच भईसकेका १० जनाको स्वाब परीक्षण भएपछि नयाँ स्वाब परीक्षण हुने पाल्पा अस्पतालले जनाएको छ ।   पाल्पा अस्पतालका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले ल्याब सङ्क्रमणमुक्त गर्ने कार्य भईरहेका बताउनुभयो । ल्याबलाई शुद्धिकरण गरेर भैरहवाबाट प्राप्त स्वाब नमूना परीक्षण गरेपछि सोमबारदेखि नयाँ बिरामीको स्वाब परीक्षण हुने उहाँले जानकारी दिनुभएको छ ।   पाल्पामा पीसीआर मेसिन सञ्चालनमा आएपछि पाल्पा र छिमेकी जिल्लाबाट प्राप्त स्वाबकाे छोटो समयमै परीक्षण गर्न सहज हुनेछ । पाल्पामा स्वाब परीक्षण गर्न व्यवस्था नहुँदा पाल्पाबाट पठाइएका स्वाबको रिपोर्ट ढिला आउने गरेको थियो । यसबाट क्वारेन्टाइनमा बसेका मानिसहरू तीन सातासम्म मानसिक समस्यामा गुज्रनु गरेकाे थियाे ।   पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले पाल्पामा स्थापना गरिएको पीसीआर मेसिनबाट प्रतिघण्टा ९६ वटा स्वाब परीक्षण गर्न सकिने बताउनुभयो । उहाँले अब पाल्पा, गुल्मी, बुटवल, स्याङ्जा सहित देशभरिबाट आएका स्वाबको परीक्षण गर्न सकिने जानकारी दिनुभयो । पीसीआर मेसिन संचालनमा सहयाेग गर्ने सबैलाइ उहाँले धन्यवाद दिनुभयाे ।   अस्पतालले नेपाल सरकारले तोकेअनुसारको शुल्क लिएर सर्वसाधारण नागरिकको समेत कोरोना परीक्षण गर्ने जनाएको छ । कोरोना सङ्क्रमण बढेका बेला पाल्पामै कोरोना जाँच हुने भएपछि कोरोना नियन्त्रणमा सहयोग पुग्ने विस्वास गरिएको छ । जिल्ला समन्वय समितिको काजीपौवास्थित जीर्ण भवनलाई पाल्पा अस्पताल र पाल्पाका स्थानीय तहको सहयोगमा मर्मत गरेर एक महिनाअघि नै पीसीआर ल्याब तयार गरिएको थियो । तर विद्युत विस्तारमा एक महिना अबराेध भएपछि पीसीआर मेसिन संचालनमा ढिलाइ भएकाे थियाे ।     नेपाल सरकारले पाल्पा अस्पतालमा पीसीआर मेसिन राख्ने निर्णय गरेपछि गत भदौँ २ गते एक करोड रुपियाँ निकासा गरेको थियो । पीसीआर मेसिन सञ्चालन गरेपछि जिल्लाको कोरोना जाँच गरेर संक्रमणलाई नियन्त्रण गर्न सहज हुने पूर्वमन्त्री एवं संघीय सांसद सोमप्रसाद पाण्डेयले बताउनुभयो । पाल्पा अस्पतालले छाेटाे प्रकृयामार्फत झण्डै ८० लाखमा पीसीआर मेसिन खरिद गरेकाे हाे । २४ सैँ घण्टा काेराेना परीक्षणका लागि हाल ११ जना कर्मचारी खटाइएकाे छ । आवश्यक परेकाे बेलामा थप कर्मचारी खटाउने पाल्पा अस्पतालकाे याेजना रहेकाे छ ।    
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update