Erani Mahal
पाल्पामा ९० प्रतिशत भन्दा बढीले काेराेना जिते
corona
पाल्पा – पाल्पामा कोरोना सङ्क्रमितहरूमध्ये ९० प्रतिशतभन्दा बढीले कोरोना जितेर घरमा फर्किएका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७४० जना रहेकामा ६७६ जनाले कोरोना जितेर घर फर्किएका हुन् । सङ्क्रमितमध्ये हाल ६४ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । हालसम्म सङ्क्रमित भएकामध्ये चार जनाको मृत्यु भईसकेको छ । मृत्यु भएकामध्ये एक जना भारतबाट आएका थिए भने अन्य तीन जना समुदाय स्तरमै बसेका हुन् । हाल आइसोलेसन सेन्टरमा उपचाररत ६४ जनामध्ये तीन जनाको स्वास्थ्य अवस्था गम्भीर छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार कुल सङ्क्रमितको ०.५५ प्रतिशत मानिसको मृत्यु भएको छ । पाल्पामा हालसम्म आठ हजार १७९ जनाको पीसीआर परीक्षण भएको छ । त्यसमध्ये ७४० जना अर्थात नौँ प्रतिशतभन्दा बढी कोभिड–१९, बाट सङ्क्रमित देखिएका छन् । पछिल्लो समय समुदायमा समेत कोरोना भाइरस सङ्क्रमण फैलिन थालेपछि मृत्यु हुने र सङ्क्रमण हुनेको दर बढेको थियो । यद्यपी निको हुने दर बढी रहेको स्वास्थय कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । पछिल्लो समय स्वास्थ्यकर्मी, चिकित्सक, बैँकका कर्मचारी, शिक्षक, जनप्रतिनिधि र व्यापारीमा समेत कोरोना सङ्क्रमण भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update