Erani Mahal
आरन पेशाबाट सन्तुष्ट झिरुवासका लिलाम्बर विश्वकर्मा !
Aaran (1)
पाल्पा- पहिले-पहिले गाउँघरमा पुराना पेसा व्यावसाय गर्नेहरु धेरै भेटिन्थ्यो। तर अहिले विज्ञान र प्रविधिको युग भनेर यस्ता पेसा व्यावसाय गर्नेहरु विरलै देखिन्छ। त्यो पनि पुराना र पाका उमेरकाले मात्रै गरेको भेटिन्छ। हाल यस्तो काम गर्नेलाई सम्मान र प्रशंसा गर्ने गरेको पाइन्छ। यस्तै सम्मानित पेसालाई निस्दीका लीलाम्बर विश्वकर्माले भने अहिलेसम्म निरन्तरता दिदै आउनुभएको छ। निस्दी गाउँपालिका ३ झिरुबास , आधामाराका ६८ वर्षीय विश्वकर्माले अरान कामबाट गाउँलेलाई सेवा गर्दै आउनुभएको छ। चार भाइ छोराहरु सबै मधेस र शहरमा झरेको बताउनुहुँदै उहाँले आफू र श्रीमती पैसाको लोभमा भन्दापनि गाउँलेकै लागि अरानको काम गरेर बसेको छु भन्नुभयो । विश्वकर्माले एउटा खुर्पा धारिलो परेको ६० रुपैया लिने गरेको बताउनुभयो । साथै उहाँले कृषि औजार कुटो , कोदाली , हासिया , खुर्पा फालीका साथै पञ्चेबाजाका दमहा , सनाई लगायतका फलामका अन्य औजारहरु निर्माण तथा मर्मत गर्दै आएको बताउनुभयो । अरान कामले हामी बुढाबुढीलाई खाना पुगेकै छ , धेरै गाउँका कृषकलाई सेवा गर्ने अवसर पाएको छु भन्दै उहाँ यो पेसाबाट सन्तुष्ट भएको बताउनुभयो । उहाँको अरान घरमा काम लिएर झिरुबास बाहेक मित्याल , गल्धा र सहलकोटकाबाट समेत आउने गरेको विश्वकर्मा बताउनुहुन्छ । काम गर्दै आउँदा अहिलेसम्म कसैले नराम्रो नभनेको बताउनुहुँदै कोइला गोल तयार पार्न भने अलि मेहनत लाग्ने उहाँ बताउनुहुन्छ । अरान घर व्यवस्थापनको लागि केहि वर्ष अगाडि साविकको झिरुबास गाविसले कर्कटपाटा र स्थानीय गाउँलेले काठ सहयोग गरेको विश्वकर्माले बताउनुभयो । उमेरले साथ दिँदासम्म यो पेसालाई निरन्तरता दिने इच्छा गर्नुभएको विश्वकर्मालाई सम्बन्धित निकायले थप प्रशंसा गर्ने कि ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update