Erani Mahal
कोरोना प्रभाव : पाल्पाका ठूला होटलको खर्च लाखमा, आम्दानी शुन्य !
1
पाल्पा – तानसेनको ध्रुबघाटमा रहेको होटल रोज रिसोर्ट हिजो आज सुनसान छ । यो होटल भागीरथ पौडेल, केशवराज पौडेलसहित पाँच जनाले गत मंसिरदेखि सात वर्षका लागि लिजमा लिएर संचालन शुरु गरेका थिए । तर, होटल संचालन शुरु गरेको केही महिनामै कोरोना भाईरस संक्रमण शुरु भएपछि यसको नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय बन्द गर्नुपर्‍यो । संचालक भागीरथले ईरानीमहलसँग भन्नुभयो, –‘कमाउला भनेर होटेल सुरु गरियो । तर, अहिले यसको भाडासमेत तिर्न नसक्ने गरी आर्थिक रुपमा थला परेका छौं । लकडाउनका कारण लामो समय बन्द भएको होटल खुलेपछि केही आम्दानी होला भन्ने सोचेँका थियौं । तर शुन्य छ ।’ होटलको मासिक भाडा मात्रै तीन लाख रुपैयाँ रहेको र अहिले अन्य खर्चसहित होटलमा मासिक छ लाख रुपैयाँ खर्च लागिरहेको उहाँले सुनाउनुभयो । लकडाउन अघि १४ कर्मचारी रहेको होटेलमा अहिले एक जना मात्र कर्मचारी छन् । होटलमा सेवाग्राहीको उपस्थिति नरहेकाले लकडाउन अघिदेखि बिदामा रहेका कर्मचारीलाई नबोलाएको अर्का संचालक केशवराज पौडेलले जानकारी दिनुभयो । अहिले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको ६ महिनापछि होटल व्यवसाय पूर्ण रुपमा खुलेका छन् । असोज १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर संचालनमा आएका छन् । तर, होटलमा ग्राहकको उपस्थिति नहुँदा संचालक निकै चिन्तित छन् । तानसेनको कैलाशनगरमा रहेको होटल श्रीनगरको अवस्थापनि उस्तै छ । होटेलमा सेवाग्राही आएका छैनन् । लकडाउन शुरु भएयता होटल पूर्णरुपमा बन्द भएका कारण आम्दानी शुन्य भएपछि बैंकबाट लिईएको ऋणबाट कर्मचारीलाई तलब तथा अन्य खर्च चलाउँदै आएको संचालक खिमप्रसाद श्रेष्ठले बताउनुभयो । ‘लकडाउन भएयता होटलमा मासिक दुई/तीन लाखसम्म खर्च भईरहेको छ । आम्दानी शुन्य छ । बैंकबाट लिइएको ऋणबाट खर्च चलाईरहेका छौं ।’– श्रेष्ठले ईरानीमहलसँग भन्नुभयो । लकडाउनअघि १८ कर्मचारी रहेको होटलमा अहिले १० कर्मचारी छन् । लकडाउनको समयमा पनि १० कर्मचारी होटलमै रहेको उहाँले बताउनुभयो । लामो समय बन्द रहेको होटलको ‘मेन्टेनेन्स’ मै लाखौं खर्च गर्नुपर्ने अवस्था छ । ‘मेन्टेनेन्स’कै लागि आठ लाख रुपैयाँ खर्च लागि सकेको र अझै त्यति नै खर्च लाग्ने संचालक श्रेष्ठको भनाई छ । सिल्खानटोलमा रहेको होटल गौरीशंकरका संचालक राजु महर्जनले होटेल खुलेपनि सेवाग्रही नआएको बताउनुभयो । उहाँले अहिलेको अवस्थामा कर्मचारी आधा कटौती गरेको बताउनुभयो । ‘पहिले १०/१२ जना कर्मचारी हुनुहुन्थ्यो । अहिले ५ जना हुनुहुन्छ’ उहाँले भन्नुभयो, –‘अहिले खर्च लाखमा भईरहेको छ भने आम्दानी छैन ।’ जिल्लाभित्र साना/ठूला गरेर एक हजार बढी होटल तथा रेष्टुरेष्टहरु रहेको पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले जनाएको छ । साना होटल तथा रेष्टुरेण्टमा केही व्यापार भएपनि ठूला होटेल संचालक मर्कामा छन् । पछिल्ला वर्षमा पाल्पामा ठूला होटलमा लगानी गर्ने क्रम व्यवसायी बढेका थिए । पछिल्लो पाँच वर्षमा मात्र जिल्लामा होटेल व्यवसायको क्षेत्रमा दुई अर्ब रुपैयाँ लगानी भएको पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । तर, कोरोना भाइरसले सिर्जित परिस्थितिका कारण अहिले होटेल व्यवसायमा लगानी गर्नेहरु ठूलो मर्कामा रहेको उहाँले बताउनुभयो । होटल इन्द्रेणी एण्ड रेष्टुरेन्टका सञ्चालक समेत रहनुभएका श्रेष्ठले कोरोनाले सिर्जित समस्याका कारण आफूले कर्मचारी ३० प्रतिशतमा झारेको र तलव आपसी समझदारीमा ५० प्रतिशत दिएको बताउनुभयो । होटेल संचालकहरु पर्यटक आगमन शुरु नहुँदासम्म आम्दानी नहुने बताउँछन् । लामो समय आम्दानी नहुँदा आफूहरूलाई बैंकको ऋणको किस्तार ब्याजतिर्न समस्या भएको उनीहरूको भनाई छ । आफूहरूको समस्या बुझ्दै सरकारले राहत प्याकेज ल्याउनुपर्ने उनीहरू बताउँछन् । कोरोना संक्रमणको यो परिस्थितिमा बैंकको किस्ता र ब्याज तिर्ने समयावधि बढाउनुपर्ने उनीहरूको माग छ ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update