Erani Mahal
‘परदेशी-२’ को छायाँकन पाल्पामा पनि गरिने
ss
पाल्पा - लकडाउनका कारण रोकिएको चलचित्र ‘परदेशी-२’को छायाँकन शुरु गर्ने तयारी गरिएको छ । एक सातापछि छायाँकन सुरु गर्ने तयारीका साथ वर्कशप सुरु गरिएको चलचित्रका निर्देशक एवं बरिष्ठ संगीतकार नारायण रायमाझीले ईरानीमहललाई जानकारी दिनुभयो । मंगलबार ईरानीमहलसंग कुरा गर्दै उहाँले भन्नुभयो, ‘आजदेखि वर्कशप शुरु गरेका छौं । सरकारले अनुमति दिए १७/१८ गतेदेखि छायाँकनमा जाने गरी तयारी थालेका छौं ।’ चलचित्रको ७० प्रतिशत छायांकन लकडाउन अगाडि सकिएको थियो । अब चलचित्रको कथा परिवर्तन गरेर छायाँकन गरिने निर्देशक रायमाझीले बताउनुभयो । ‘अहिलेको परिस्थितिलाई समेटनका लागि कथामा धेरै परिवर्तन गरिएको छ’– उहाँले भन्नुभयो । लकडाउनअघि चलचित्रको छायाँकन पोखरामा गरिएको थियो । अबको छायाँकन काठमाडौं, पाल्पासंगै विदेशमा गरिने रायमाझीले बताउनुभयो । विदेशमा तत्काल सम्भव छैन, नेपालको छायाँकन पाल्पाबाट सुरु गर्ने की काठमाडौंबाट भन्ने फाइनल भईनसकेको रायमाझीले बताउनुभयो । रमेश विजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझीले नै निर्माण गर्नुभएको हो । गायक प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ्, दिलिप रायमाझी, प्रकाशका भाई देबेन्द्र बब्लु लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्रलाई यो वर्षको दशैंमा रिलिज गर्ने तयारीका साथ छायाँकन शुरु गरिएको थियो । तर, कोरोना भाइरसका कारण यो संभव हुन सकेन । गायक क्षेत्रमा ख्याति कमाएका प्रकाश यसै चलचित्रमार्फत अभिनेताका रुपमा देखा पर्दैछन् । नारायण रायमाझीकाे निर्माण, प्रकाशको अभिनयमा डेब्यू भएका कारण चलचित्रलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । पाल्पाको माटोमा जन्मिनुभएका नारायणले निर्देशन गरेका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएका थिए । उहाँले आफूले बनाउने चलचित्रको छायाँकन पाल्पामा पनि गर्दै आउनुभएको छ । यसअघिका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि पाल्पामा छायाँकन गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update