Erani Mahal
रैनादेवी छहराकाे ठूलो चिउरी सामुदायिक वनमा विवाद
mmm
पाल्पा - पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित ठूलोचिउरी सामुदायिक वन उपभोक्ता समूहमा चरम विवाद उत्पन्न भएको छ । वनको वर्तमान कार्यसमितिले वन ऐन अनुसार पारदर्शी काम गर्न नसकेपछि विवाद उत्पन्न भएकोे हो । यसअघि सामुदायिक वन क्षेत्रमा डोजर लगाएर बाटो खनिएपछि विवाद उत्पन्न भएको थियो । मूलबाटोबाहेक सामुदायिक वन क्षेत्रमा डोजर लगाएर बाटो खन्न पाईदैन । अग्नी रेखा बनाउने नाममा साढे दुई लाख रकम खर्चेर कार्यसमितिले वनमा डोजर लगाएको थियो । वन ऐन विपरित काम भएको पाएपछि बल्ढेङगढी सव डिभिजन वन कार्यालयले वर्तमान कार्यसमिति भंग गरी नयाँ कार्य समिति बनाउन गतसाता पत्र लेखेको थियो । आम भेला राखी नयाँ कार्यसमिति निर्माण गर्न वनले पत्र लेखेपनि वर्तमान कार्यसमितिले त्यसलाई अंटेर गरेको छ । कार्यसमितिले सबै उभोक्तालाई भेला नगरी वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने निर्णय लिएपछि वन उपभोक्ता समितिमा झन् विवाद बल्झिएको हो । गत असोज १ गते आम भेला आयोजना गरिएको तर केही सीमीत उपभोक्तालाई मात्र पत्र काटेर बोलाईएकाले उक्त भेलामा उपस्थित नभएको वन उभोक्ता समिति सदस्य रमेश कार्कीले बताउनुभयाे । कार्कीले भन्नुभयाे, ‘हामीलाई भेलाबारे यथार्थ जानकारी पनि नदिएर सीमीत ब्यक्तिलाई बोलाइएकोले उपस्थित भएनौं ।’ कार्यसमितिका पदाधिकारीले आम उपभोक्ताको चाहना विपरित एकलौटी निर्णयले काम गर्दै गएकाले आफूहरु उपस्थित नभएको कार्कीले बताउनुभयाे । यो वनमा सुकादमार, जोगदमार र बुढीदमारका उपभोक्ताहरु सहभागी छन् । सुकादमारबाट ३३ जना मध्ये १० जनालाई मात्र बोलाइएकाले आफूहरु उपस्थित हुन नसकेको कार्कीले बताउनुभयाे । वर्तमान कार्यसमितिमा आर्थिक पारदर्शिता समेत नदेखिएकाले वन उपभोक्ताहरुमा निराशा बढेको अर्का सदस्य चक्रबहादुर खड्काले गुनासो गर्नुभयाे । जोगदमार क्षेत्रबाट पनि उक्त भेलामा सदस्यहरु उपस्थित नभएको अर्का सदस्य पुरन लम्तरीले बताउनुभयाे । उहाँका अनुसार भेलामा कार्यसमितिबाहेक बुढीदमारका मात्र केही उपभोक्ताहरु उपस्थित थिए । उता ठूलोचिउरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेरबहादुर पेङ्ग्नीले भने उपभोक्ताको चाहना अनुसार नै कार्यसमिति परिवर्तन नगरिएको दावी गर्नुभयाे । तर बल्ढेङगढी सव डिभिजन वन कार्यालयका प्रमुख प्रेम चौधरीले कार्यालयको पत्र अनुसार नगरेको भए त्यो मान्य नहुने बताउनुभयाे । वनका काममा विवादहरु देखिएकाले कार्यसमिति परिवर्तन गर्न पत्र पठाइएको उहाँको भनाई छ । विवादकै कारण वनका अन्य कामहरु समेत रोकिएका छन् । यसअघि सामुदायिक वन क्षेत्रमा डोजर लगाएर बाटो खनिएकोमा विवाद सृजना भएपछि वन कार्यालयले कारवाही स्वरुप कार्यसमिति परिवर्तन गर्न पत्र लेखेको हो । काठ निकासीको लागि डोजर लगाएर खनिएको उक्त बाटो पनि प्रयोग हुन नदिइने वन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update