Erani Mahal
वर्षात अझै केही दिन जारी रहने
rain-758x451
काठमाडौँ - यस वर्षको मनसुन अझै केही दिन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । तर मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहनेछ । गत वर्षझैँ यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन गतिविधि बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । देशभर कतै झरी र कतै भारी वर्षा हुने सम्भावना रहेकाे अर्यालले बताउनुभयाे । मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बङ्गालको खाडीमा ठूलो न्यूनचापीय क्षेत्र छ । जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा छ । त्यसैले दशभर भारी वर्षासहित झरी पर्ने सम्भाना छ । त्यसको केही भाग उत्तरतिर सर्ने भएकाले बुधबारसम्म देशका समग्र भूभागमा नै मनसुनी प्रभाव कायम हुने सम्भावना छ । दुई दिनपछि पश्चिम हुँदै घुमेर मध्य र पूर्वी भूभागमा सक्रिय हुनेछ । त्यस्तैगरी नेपालभन्दा अलिक पर भारतको मध्यप्रदेशमा न्यूनचापीय क्षेत्रको विकास भएको छ । अरब सागरबाट पनि जलवाष्पसहितको बादल न्यूनचापीय क्षेत्र नजिक आउँदै गरेको छ । यसले नेपालमा मनसुनी वायु चक्रझैँ दोहोरिने भएको हो । मनसुन सकिने मिति घर्किंदै गर्दा पश्चिमी वायुसमेत सक्रिय हुने भएकाले त्यसका लागि समेत अहिलेको मनसुनी वायुले भूमिका खेल्ने मौसमविद् अर्याल बताउनुहुन्छ । पश्चिमी वायु उच्च भएसँगै पूर्वी वायुलाई त्यसले धकेल्दै लगेर आफ्नो प्रभाव जमाएपछि बल्ल मनसुनको अन्त्य हुन्छ । त्यसपछि भने हिउँदे वर्षाको समय सुरु हुन्छ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update