Erani Mahal
पाल्पामा जिप व्यवसायीले यात्रुसँग दोब्बर भाडा असुल्दै !
IMG_0395
पाल्पा – पाल्पामा ग्रामीण क्षेत्रमा चल्ने जिप व्यवसायीले यात्रुसँग दोब्बर बढी भाडा असुल्ने गरेको पाईएको छ । जिल्लाका जिप व्यवसायीले ग्रामीण क्षेत्रबाट सदरमुकाम तानसेन आउजाउ गर्ने यात्रुसँग दोब्बर बढी भाडा असुल्ने गरेका हुन् । सरकारले अहिले सिट क्षमताभन्दा आधा यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन अनुमति दिएको छ । तर, पाल्पामा जिपमा यात्रा गर्ने यात्रुहरूले १ सय प्रतिशतभन्दा बढी भाडा तिर्न बाध्य छन् । यसअघि सदरमुकाम तानसेनदेखि रिब्दीकोट गाउँपालिका–७, मैनादीस्थित बतासे बजारसम्मको भाडा ७० रुपैयाँ थियो । अहिले व्यवसायीले यसको ५० प्रतिशत बढी अर्थात १०५ रुपैयाँ लिन पाउँछन् । तर, जिप चालकले आफूसँग १५० रुपैयाँ भनेको बतासेका स्थानीय बासिन्दा श्रीधर घर्तीक्षेत्रीले गुनासो गर्नुभयो । [caption id="attachment_13280" align="alignnone" width="1161"] तस्विर : सुशिल नेपाल । [/caption] सोमबार तानसेन पेट्रोलपम्ममा भेटिनुभएका घर्तीले नजिकै रहेको जिपतर्फ देखाउँदै हामीसँग भन्नुभयो –‘यो जिपमा जान खोजेको हो । तर भाडा १ सय प्रतिशतभन्दा बढी लाग्छ भनेपछि यसमा नजाने भएँ । त्यति महङ्गो भाडा तिरेर के यात्रा गर्नु ?’ तानसेनदेखि रैनादेवी छहरा गाउँपालिका सोमादी जान जीपमा बस्नुभएकी एक महिलाले आफूले दोब्बर भाडा तिरेर यात्रा गर्न लागेको बताउनुभयो । ‘तानसेनदेखि सोमादीसम्मको भाडा १६५ रुपैयाँ थियो । तर, अहिले हामीले ३०० भाडा तिरेर यात्रा गर्दैछौं’– उहाँले हामीसँग भन्नुभयो । जिल्लाको पश्चिम क्षेत्र मात्र होइन् । उत्तरी क्षेत्रतर्फ जाने जीपले पनि यात्रुसँग दोब्बर भाडा लिने गरेको यात्रु गुनासो गर्छन् । आईतबार तानसेनदेखि बगनासकाली ७ बराङ्दीस्थित देउराली बजारसम्म जीपमा यात्रा गर्नुभएकी कला न्यौपानेले आफूले दोब्बर भाडा अर्थात १०० रुपियाँ तिरेको बताउनुभयो । यसअघि तानसेनदेखि यहाँको भाडा ५० रुपैयाँ थियो । काेराेना सुरक्षा मापदण्ड पूरा छैन् जिल्लामा सञ्चालित जिपहरुले कोरोना महामारीमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेका छैनन् । कोरोना संक्रमण हुने जोखिमलाई कायमै राखेर जिपमा क्षमताभन्दा बढी यात्रु राखिएको छ । सरकारले आधा मात्र यात्रु राखेर यात्रा गर्न पाउने व्यवस्था गरेपनि यहाँका जिप व्यवसायीले भने सीट क्षमताभन्दा बढी यात्रु बोकेका हुन् । कोरोनाबाट बच्न यातायात व्यवसायीले स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रावधान छ । तर, मास्कको प्रयोगबाहेक अन्य सुरक्षाका उपाय अबलम्बन गरिएको छैन । जसले गर्दा सार्वजनिक यातायातको आवतजावत कोरोना संक्रमणका हिसावले जोखिमपूर्ण देखिएको । बगनासकाली–७, बराङ्दीका बडा सदस्य तथा व्यवसायी समेत रहेका मिन प्रसाद न्यौपानेले बताउनुभयो । उहाँले बराङ्दी क्षेत्रमा सञ्चालनमा आएका यातायात व्यवसायीले कोरोना सुरक्षाका मापदण्ड पूरा नगरेको उल्लेख गर्नुभयो । ‘गाडीहरु टनाटन यात्रु राखेर आउजाउ गरेका छन्’ उहाँले भन्नुभयो ‘मानिस मानिस बिचको दूरी कायम गरिएको छैन्, यसमा ध्यान दिइएन भने कोरोनाले अझ भयावह रुप लिने देखिन्छ, त्यसैले सम्बन्धित निकायले कडाईका साथ अनुगमन गर्नुपर्छ ।’ ‘सूचना दिनुहोस्, कारवाही गर्छौ’ ट्राफिक प्रमुख काफ्ले जिल्ला ट्राफिक प्रहरी कार्यालयका पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्ले सवारीमा यात्रा गर्दा तोकिएको भन्दा बढी भाडा मागे १०० नम्बरमा फोन गर्न आग्रह गर्नुभयो । यद्यपी आफूहरूसँग बढी भाडा लिने गरेको गुनासो भने अहिलेसम्म नआएको उहाँले बताउनुभयो । सवारीसाधनको नियमित चेकजाँच भईरहेको बताउँदै काफ्लेले भन्नुभयो, ‘एकदमै कडाईका साथ जेकजाँच गरिरहेका छौँ । हामीलाई सरकारले अनुमति दिएको भन्दा बढी भाडा लिएको गुनासो अहिलेसम्म आएको छैन् । सवारीले बढी भाडा लिए हामीलाई खबर गर्नुहोस् तुरुन्त कारवाही गर्छौ ।’ ट्राफिक प्रहरी प्रमुख काफ्लेले विभिन्न स्थानहरूमा सवारी रोकेर चालक तथा यात्रुसँग सोधपुछ गरिरहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘हाम्रो उपस्थिति सबै ठाउँमा नहुन सक्छ । यात्रु तथा तपाईहरूले भनेपछि हामीलाई जानकारी हुने हो ।’ यदी सवारीले बढी भाडा लिए, यात्रु बढी राखेर यात्रा गराए आफूहरुलाई सूचना दिन उहाँले आग्रह गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update