Erani Mahal
माथागढीका नरबहादुर सत्तरी वर्षदेखि निरन्तर माैरीपालनमा
Untitled-2
पाल्पा – माथागढी–४, हर्नेटारका नरबहादुर पल्ली ८२ वर्ष पुग्नुभयो तर उहाँलाई अहिले पनि मौरीपालनमा रमाउने जाँगर मरेको छैन । विगत ७० वर्षदेखि मौरीपालन गर्दै आउनुभएको नरबहादुरलाई मौरीको स्याहारसुसार गर्न उमेरले छेकेको छैन । १२ वर्षको उमेरदेखि मौरीपालनमा लाग्नुभएका नरबहादुर थोरै लगानी र कम मिहिनेतको फाइदाले मौरीपालन निरन्तर रमाइरहनुभएको हो । नरबहादुरको घर, गोठ, बारीको कान्ला, खरबारी, कुनाकानी, ओडार मौरीका घारले छपक्कै ढाकिएको छ । परिवारको मुख्य आम्दानीको स्रोत मौरीपालन व्यवसाय भएकाले नरबहादुरले ७० वटा काठे घारमा मौरीपालन गर्दै आउनुभएको छ । थोरै लगानी, कम मिहिनेतमा धेरै फाइदा लिन सकिने रहेछ नरबहादुरले भन्नुभयो त्यसैले ७० वर्षदेखि मौरीपालन गर्दै आएको छु । मौरीपालनका लागि घारको व्यवस्थापन गाउँमै गर्न सकिन्छ भने मौरी चरणका लागि पनि वनजङ्गल प्रशस्त भएकाले मौरीपालन गर्न समस्या छैन । नरबहादुरलाई अहिलेसम्म घार किन्न परेको छैन, मौरी चराउन पनि समस्या छैन मह जति उत्पादन भएपनि घरबाटै बिक्री गर्न सकिने उहाँले बताउनुभयो । नरबहादुरले अहिले वर्षमा १५/२० पाथी मह उत्पादन गरिरहनुभएको छ । आफूले उत्पादन गरेको मह घरबाटै प्रतिमाना ७५० रुपियाँमा बिक्री भएको उहाँले सुनाउनुभयो । मह बिक्री गरेर घर परिवार चलाउने र केही समूहमा बचत गर्ने नरबहादुरको भनाई छ । मह बिक्रीबाट भएको आम्दानीबाट अपाङ्गता भएका कान्छो छोरा÷बुहारी, नाति, नातिनीसमेतको खर्च धानेको उहाँको भनाई छ । उमेरले चौरासी गर्ने बेला भएपनि नरबहादुरले मौरी हेर्ने, मह काड्ने, शत्रु जीवबाट जोगाउने र न्यानोमा राख्ने काम आफैँ गर्नुहुन्छ । आफू १२ वर्षको हुँदा मौरी पाल्न सुरु गरेका नरबहादुरलाई मौरी जतिको गुनी जीव र मह बिक्री जतिको राम्रो पेशा केही लागेको छैन । तर माउखाने, बछिउँ, अरिंगाल, कमिलाबाट भने मौरीलाई बचाउनुपर्ने उहाँले बताउनुभयो । माथागढी–४ को हर्नेटार, चौलानीगैरा, खापुक क्षेत्रका किसानहरूले अहिले पनि परम्परागत रुपमा मौरीपालन गर्दै आएका छन् । प्रायः हरेकको घरमा दुई÷तीन वटा मौरीको घार छ । मरमराका स्थानीय बासिन्दा वीरमान रानाले आधुनिक र काठे गरी करिव ३० घारमा मौरी पालेको बताउनुभयो । आफू मौरीपालन व्यवसायमा लाग्न नरबहादुरको प्ररेणा रहेको ५० वर्ष पुग्नुभएका रानाले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update