Erani Mahal
व्यक्तिगत प्यान लिन कर कार्यालय जानु नपर्ने,अनलाइन मार्फत लिन सकिने
Tax
पाल्पा- तपाइ व्यक्तिगत प्यान लिनकाे लागि कर कार्यालय जाने विचार छ भने अब कार्यालयमा धाउन पर्दैन किन भने व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनलाइन मार्फत पनि लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले भदौ १७ गते बुधबार देखि डिजिटल प्रक्रियावाट प्यान नम्बर दिन सुरुवात गरेकाे हाे । कोरोना महामारीका कारण अधिकासं जिल्लाहरुमा निषेधाज्ञा जारी भएको अवस्था र काेराेना महामारीमा कार्यालयमै गएर भीडभाड गर्नुभन्दा घरमै रहेकाे माेवाइल र कम्प्युटरकाे माध्यमबाट फारम भरेर माेवाइलमै प्यान दिने सुविधा कार्यालयले गरेकाे करदाता सेवा कार्यालय पाल्पाका प्रमुख सागर पाेखरेलले रानीमहललाइ बताउनुभयाे । करदाता यस्तो अवस्थामा कार्यालयसम्म पुगेर प्यान लिन नसक्ने भएकाले अनलाईन मार्फत दिने व्यवस्था गरेको उहाँले भन्नुभयाे “प्यान नम्बर लिन चाहने व्यक्तिले विभागको वेबसाइट मार्फत वा मोवाइल एप्लीकेसन मार्फत आवेदन दिन सक्नेछन,” पाेखरेलले भन्नुभयाे , “अहिलेको अवस्थामा व्यक्तिगत विवरण र नागरिकताको फोटो अपलोड गर्नु पर्नेछ, यसरी व्यक्तिगत विवरण भरेपछि प्यान नम्बर माेवाइल र इमेलमा नै उपलब्ध हुनेछ ।” यसरी उपलब्ध भएको प्यान नम्बर आफ्नाे कामकाजकाे लागि प्रयोग गर्न सकिने उहाँले बताउनुभयाे । तर, कोरोना महामारीको अवस्था सहज भएपछि अनलाइन मार्फत लिएको प्यान नम्बर र सक्कली नागरिकता सहित कर कार्यालयमा सम्पर्क गरेपछि प्यान प्रमाणपत्र पाइने समेत उहाँले बताउनुभयाे । विभागले आफ्नो वेबसाइटलाई अध्यावधिक गरेर विगतको तुलनामा धेरै एड्भान्स समेत बनाएको छ । कर छुट देखि तिर्न बाँकी रहेको विवरण सम्म वेबसाइट मार्फत नै हेर्न सकिने व्यवस्था गरेको छ । त्यसका साथै कर चुक्ताको प्रमाणपत्र समेत वेबसाइट मार्फत लिन सकिने व्यवस्था विभागले गरेको छ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update