Erani Mahal
ऐतिहासिक स्थल नुवाकोट- बल्ढेङ्गढी पदमार्गको शिलान्यास
ooooo
पाल्पा – पाल्पाको ऐतिहासिक क्षेत्र नुवाकोटदेखि बल्ढेङगढीसम्म निर्माण गर्न लागिएको पदमार्ग (फूट ट्रयाक) को सिलान्यास गरिएको छ । प्रदेश नं. ५ सरकारको पहलमा पदमार्ग निर्माण हुन लागेको हो । पदमार्गको प्रदेश सांसद तुलाराम घर्ती (बसन्त) ले शुक्रबार सिल्यान्यास गर्नुभयो । बल्ढेङगढीको धुलेनी डांडाबाट काम शुरु गरिएको छ । सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद घर्तीले बल्ढेङगढी ऐतिहासिक क्षेत्र पनि भएकाले यसलाई मुख्य पर्यटकीय क्षेत्र बनाउनुपर्ने उल्लेख गर्नुभयो । ऐतिहासिक तथा धार्मिक पर्यटनका हिसावले पनि प्रशिद्ध रहेका बल्ढेङगढी र नुवाकोटगढीलाई जोड्न गरी पदमार्ग निर्माण गर्ने योजना अघि सारिएको छ । पदमार्ग निर्माणको लागि पहिलो चरणमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्धारा गत आर्थिक वर्षको लागि एक करोड र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्धारा ५० लाख गरी कुल डेढ करोडको बजेट छुट्याएका थियो । कोभिड १९ को कारण यसको समय छ महिना थपिएको छ । यसको ठेक्का आकृति मालिका कन्स्टक्सनले पाएको छ । तराईको र हिमालको मनोरम दृष्य देख्न सकिने यो चुरे क्षेत्रको डाँडोमा पदमार्ग बनाउन लागिएको हो । करिव २७ किलोमिटरको दुरीमा रहेको यो पदमार्ग निर्माणपछि नुवाकोट र बल्ढेङगढीमा आन्तरिक तथा वाह्य पर्यटकको आवागमनामा वृद्धि हुनेछ । बुटवलदेखि उत्तरतर्फ सात किलोमिटरको दुरीमा रहेको ऐतिहासिक नुवाकोटगढीदेखि बल्ढेङगढीसम्म पुग्ने पैदलयात्री (ट्रेकिङ जाने) लाई सहज होस् भनेर ठाउँ ठाउँमा खानेपानी, आराम गर्ने स्थल, सेल्फी जोन, बास बस्न मध्यभागमा होमस्टे लगायतका संरचना बनाउने अवधारणा समेत लिइएको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले जानकारी दिनुभएको छ । पदमार्ग निर्माणपछि यो क्षेत्र विषेश पर्यटकीय क्षेत्रको रुपमा विकास हुने नेपालको अपेक्षा छ । नुवाकोट पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ मा पर्छ भने बल्ढेङगढी रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ मा पर्छ । यो पदमार्ग दुई वर्षभित्र निर्माण गरिसक्ने योजना छ । बल्ढेङगढीको विश्व नागरिक मञ्चका अध्यक्ष एवं लुम्बिनी शान्ति शहरका परिकल्पनाकार प्रोफेसर डा. योङहुन क्वाकले पनि अध्ययन अवलोकन गरिसकेका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी र हिमाल देख्न सकिने डाँडोको खोजी गर्दै आएका क्वाकले बल्ढेङगढी किल्ला नै त्यो स्थल भएको पत्ता लागाएका थिए, जहाँबाट अन्नपूर्ण हिमाल र लुम्बिनी देख्नि सकिन्छ । यसैबीच शुक्रबारै रैनादेवि छहरा वडा नं. ७ को सुकादमार र वडा नं. ८ को बुढीदमार जोड्ने कन्चन खोलामा पक्की पुल निर्माण गर्न प्रारम्भीक सर्भे गरिएको छ । प्राविविधकहरुसंगै स्थलगत अध्ययनमा गएका प्रदेश सांसद तुलाराम घर्तीले उक्त स्थानमा पुल बनाउन स्थानीय तथा प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update