Erani Mahal
दमकडा माध्यमिक विद्यालयद्वारा टोलटोलमा पुगेर कक्षा सञ्चालन
Damkada School 5
पाल्पा – दमकडा माध्यमिक विद्यालयले टोलटोलमा शिक्षा सञ्चालन गरेको छ । कोभिड १९ कोरोना भाइरसका कारण लामो समय विद्यालय बन्द भएपछि दमकडाले वैकल्पिक माध्यमबाट टोलटोलमा पुगेर शिक्षा दिन थालेको हो । टोलटोलमा आएका विद्यार्थीको ज्वरो परीक्षण गरी भौतिक दूरी कायम गरेर शैक्षिक क्रियाकलापमा सहजीकरण गर्ने कार्य गरिएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो । दमकडा, देउराली, टिन्टीआँप, कुन्सरे, पिप्ले, ठटिया, गोरसोत, सराई लगायतका १२ स्थानमा बाल कक्षादेखि १२ सम्मको पठनपाठन भएको छ । विद्यार्थीले मास्क, सेनिटाइजर सहित झोला बोकेर टोलटोलका कक्षामा उपस्थित भएका छन् । विद्यालयले हरेक टोलमा ३÷४ जनाशिक्षक परिचालन गरी दैनिक हाजिर गराई विद्यार्थीलाई शिक्षण गरेको छ । गाउँमै आएर शिक्षकहरुले छोराछोरी पढाइदिएर एकदमै राम्रो काम गरेको अभिभावक टोपबहादुर घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिकेका कुरा बिर्सिने अवस्थामा पुगेका बालबालिकालाई अप्ठेरो अवस्थामा पनि टोलटोलमा आएर पढाउने काम प्रशंसनीय छ ।’ विद्यालयले स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्रसँग समन्वय गरी विद्यार्थीहरुको तापक्रम मापन गरेको कुन्सरे टोलमा खटिनुभएका शिक्षक दिनेश नेपालले जानकारी दिनुभयो । दमकडा माध्यमिक विद्यालयले समुदायमा शिक्षक पठाएर पठनपाठन गर्न थालेपछि विद्यार्थी खुशी भएका छन् । प्रतिक्षालय, कृषि संकलन केन्द्र र सामुदायिक भवनमा चलेको कक्षाका अधिकांश स्थानमा छोराछोरी लिएर अभिभावक पनि सँगै आएका थिए । कक्षा ६ देखि १० सम्मका विद्यार्थीले दूरशिक्षा रेडियो कार्यक्रमबाट पढेका पाठ, दिएका गृहकार्य र नबुझेका केहीप्रश्नहरु शिक्षकलाई बुझाएका छन् । कतिपय विद्यार्थीले लकडाउनको अवधिमा बनाएका चित्र, सिर्जना र सिकेका ज्ञान पनि प्रस्तुत गरेका छन् । विद्यालयका एकेडमिक कोअर्डिनेटर होत्रीराज ढुंगानाले शिक्षक र बिद्यार्थी बीचको भेट नै शैक्षिक वातावरण कायम गर्ने बनेको बताउनुभयो । दमकडाले बन्दाबन्दीकै अवस्थामा२०७६ चैत्र ३० गते भर्चुअल माध्यमबाट परीक्षाफलप्रकाशन गरी बैशाख७गतेदेखि विद्यार्थीलाई परियोजना कार्य वितरण गरेको थियो । तीन चरण पाठ्यपुस्तकमा आधारित परियोजना कार्य वितरण गरेपछि विद्यालयले नै पाठ्यपुस्तक विद्यार्थीको घरघरमा पु¥याएको थियो । यस विद्यालयले बैशाख ३० गतेदेखि सामुदायिक रेडियो मदनपोखरासँगको सहकार्यमा कक्षा ६ देखि १० सम्मलाई रेडियोबाट पठाउँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update