Erani Mahal
कबुलियती वनले अर्चलेको लेकडाँडाको स्वरुप फेर्दै (फाेटाे सहित)
kkk
पाल्पा - बिगतमा गाई चरानको रुपमा मात्र प्रयोगमा आउने निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेको लेकडाँडा अहिले भने कबुलियती वन र गोलोघर निर्माणले स्वरुप फेरिदै गएको छ । गएको वर्ष देखि कबुलियती वनको रुपमा बिस्तार भएको लेकडाँडा यस पटक भने ३ वटा गोलोघर निर्माण भएपछि यसको महत्त्व बढेर गएको छ । कबुलियती वनबाट समूहका सदस्यहरुलाई आर्थिक लाभ होस् भन्ने उद्देश्यबाट शुरु भएको यस ठाउँमा पर्यटकीय स्थलको रूपमा समेत सम्भावना रहेको निस्दी गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष मेख बहादुर सुनारी बताउनुहुन्छ । उहाँले अगाडि थप्नुहुन्छ, यो वर्ष सांसद बिकास कोषबाट १० लाख रुपैयाँको लागतमा ३ वटा गोलोघर,एउटा पोखरी र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ वटा पोखरी गरि कुल ३ वटा पोखरी निर्माणकार्य सम्पन्न भएको छ,यातायातको सुबिधा होस् भन्ने उद्देश्यले गत वर्ष अपुरो भएको मोटरबाटो निर्माणकार्यका लागि यस वर्ष १० लाख रुपैयाँ गाउँपालिकाबाट विनियोजित गरेको बताउनुभयो । निस्दी-६,अर्चलेका सात्दोबाट,नारीभङ्ज्याङ,अधमारा र धोबलाका गरि जम्मा १५ वटा समूहलाई यो वर्ष प्रति समूह १ हजार ५ सय टिमूरको बिरुवा र ९ सयका दरले कागतीको बिरुवा रोपणका लागि वितरण गरिएको लेकडाँडा कृषि पशु वन व्यावसायिक उत्पादन समितिका अध्यक्ष कृष्ण बहादुर सुनारीले जानकारी गराउनुभएको छ । गत साल समूहले अम्रीसो,टिमुर,दालचीनी र ओखर लगाएको यो साल भने कागती र टिमुर लगाएको हो । यसैगरी लेकडाँडाको पश्चिमी भागमा यसै वर्ष देखि नै वडा नम्बर-७,ज्यामिरेको चारघरे,हुबास र दार्सिङ्गबासले समेत कबुलियती वन समूह गठन गरि दालचीनी,अमृसो लगायतका बिरुवाहरु रोपेका छन् । यस वर्ष विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण लकडाउनको बेलामा समेत स्थानीयबासी यसको अबलोकन गर्न दैनिक जसो गएका थिए । अर्चले वडा कार्यालयबाट पश्चिमी भाग तिर पर्ने लेक डाँडा पुगेर रमाइलो मान्दै आनन्द लिन सकिने त्यहाँका स्थानीय बताउँछन् । डाँडाको माथिल्लो भागमा समथर चौर र चौरको छेवैमा सत्यवती बज्यैको थान रहेको छ । धेरै वर्ष पहिले सत्यवती बज्यै यसै ठाउँमा रहेको र बज्यै बस्न अनुकुल नभए पछि ठाउँ परिवर्तन गरेको त्यहाँका स्थानीय बुढापाकाले यो पंक्तिकारलाई बताउनु हुन्छ । केही वर्ष देखि प्रत्येक साल कार्तिक पूर्णिमामा पूजा अनि मेला लाग्न रोकिए पनि अहिले पनि उक्त समयमा पूजा आज भने हुने गरेको समेत बताउँछन् । गोलोघर र पोखरी निर्माण स्थलबाट सफा मौसम भएको बेला दक्षिणी भागमा रहेको तराईको समथर भुभाग,नारायणी नदी र उत्तरी भुभाग बाट हिमाली शृङ्खलाहरु सहजै देख्न सकिन्छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update