X

गुल्मीकाे कालीगण्डकी गाउँपालिकामा घरलौरी कर, टिनको छानोलाई तीन सय !

रानीमहल संवाददाता || २९ असार २०७७,सोमबार ०९:१७

पाल्पा- गाउँ गाउँमा सिंहदरबारको अवधारणा आएपछि धेरैले आफ्नै घरआँगनमा सेवा सुविधाको चाङ लाग्ने सोचेका थिए । तर, गुल्मीको कालीगण्डकी गाउँपालिकाका बासिन्दाले चाहिँ गाउँमा सिंहदरबार होइन, पञ्चायती व्यवस्था आएको महसुस गरेका छन् ।

गाउँपालिकाले पाखामा टिनको छानो लगाएको घर देख्नासाथ करको दर बढाएपछि गाउँबासीले पञ्चायतकालको स्मरण गरेका हुन् । गाउँपालिकाले आफ्नो वार्षिक बजेटमा घरलौरी कर उठाउने निर्णय गरेको छ । यसरी उठाइने करको दरको एउटा आधार छानो कस्तो छ भन्ने आधारमा तय गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार पालिकाभित्र रहेका झण्डै साढे ३२ सय घरबाट तिरो, मालपोत र छानोबापत ‘घर कर’ शीर्षकमा २५ लाख रुपैयाँ कर उठाउने लक्ष्य लिइएको छ ।

थापाका अनुसार गाउँपालिकामा खरको छानो रहेको घरबाट वार्षिक १०० रुपैयाँ कर उठाउने निर्णय गरिएको छ । ढुंगा अथवा टिनले छाएको छानोबाट वार्षिक ३०० रुपैयाँ कर उठाउने निर्णय भएको छ ।

पक्की घर हुनेहरूको हकमा पहिलो एक तलासम्म ५०० रुपैयाँ र त्यसपछि तला अनुसार पाँच सय रुपैयाँको दरमा थप हुँदै जाने गरी करको दर निर्धारण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयाे ।

अनि, गाउँले जनताले कर तिर्न मानेका छन् त ? अध्यक्ष थापाले भन्नुभयाे ‘पञ्चायतकालतिर पनि यसरी घरको कर लगाउने गरिएको थियो । बीचमा जनयुद्धको समयमा कर उठाउने प्रचलन हरायो । हामीले पञ्चायतकालको त्यही प्रचलन अहिले अभ्यासमा ल्याउने कोसिस गर्दैछौं ।’ अध्यक्ष थापाका अनुसार अहिले ‘घर कर’ तिर्नका लागि गाउँबासीले आनाकानी गर्ने गरेका छन् । तर, गाउँपालिकाको अरू आम्दानीको स्रोत कम रहेकाले घरलौरी कर उठाउन थालिएको उहाँले बताएकाे अनलाइनखबरले समाचार छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys