Erani Mahal
लघुकथा  : धूर्त राजा
mp
एउटा निकै धुर्त र चलाख राजा थियो। उसलाई राजा भएकोमा ठूलो घमण्ड थियो। चाकरी चाप्लुसी गर्नेहरूलाई मात्र ऊ आफ्नो ठान्थ्यो । जसले सुझाव, सल्लाह दिन्थे र भलो चिताउँथे उनीहरूलाई उसले शत्रु ठान्थ्यो। उसको शासन गर्ने शैलीले जनता मात्र होईन, उसैका मन्त्रीहरू, दरबारीया र भाइभारदारहरू समेत खुशी थिएनन् । राजाको शासन गर्ने शैलीबाट वाक्क भएका दरबारीयाहरूले राजाले गद्दी त्याग गर्न र वनबास जान दवाब दिन थाले। राजालाई यो कुरा चित्त बुझिरहेको थिएन। उसले आफ्ना बिरोधीहरुलाई फुटाउने षडयन्त्रहरू गर्न थाल्यो। एक दिन राजाले आफ्ना बिरोधीहरू जति सबैलाई भोजको आयोजना गर्यो। भोजमा उसले मन्त्री, दरबारीया, भाइभारदारलाई समेत निमन्त्रणा गर्यो। त्यो भव्य भोजमा निकै मिष्ठान्न भोजन बनाइएको थियो। त्यो भोजनमा उसले अफिम मिसायो। राजाले सोच्यो कि " अफिमले मेरा शत्रुहरू एकअर्कामा झगडा गरुन्, लडून् , एकअर्काको कपडा च्यातुन् रैतिहरूलाई थाहा होस् कि यी सबै वास्तवमा बदमासहरू हुन, राजा असल हुन्।" भोज चल्यो, मानिसहरू मस्तले भोजन गर्न थाले, राजाले एउटा कुनामा बसेर तमासा कुरिरहेका थिए। जब सबैलाई अफिमको नशा चढ्दै गयो, नशा चढेसंगै उनीहरू एक अर्कोलाई चिन्न छोड्दै गए, लगाएका लुगा फुकाल्दै गए र निर्वस्त्र हुँदै गए। उनीहरू आफू निर्वस्त्र भएको चालै पाएनन् । तर राजाको बिरोध गर्न छाडेनन् । नाङ्गा दरबारीयाहरूले राजाकै सामुन्ने गद्दी त्याग गर्न र वन बास जान दवाब दिन थाले । स्थिति सम्हाल्न राजालाई हम्मेहम्मे भो। यत्तिकैमा एकजना सल्लाहकारको सल्लाह अनुसार राजाले पनि अफिम राखेको खाना भरपेट भोजन गरे। अफिमले लठ्ठ भएका राजा पनि अरु जस्तै सर्वाङ्ग नग्न भए। सबैको भिडमा गएर राजाले पनि " राजाले गद्दी त्याग्न र वनबास जान माग गर्न थाले।" उता रैतीहरू नङ्गाहरूको नाचबाट रमाइलो लिइरहेका थिए।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update