Erani Mahal
आँगन बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न
IMG_7618
पाल्पा – आँगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रारम्भिक साधारण सभा शनिबार तानसेनमा सम्पन्न भएको छ । सभाले भीमलाल भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ सहकारी सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा गोपालप्रसाद बश्याल, सचिवमा मिलन विश्वकर्मा, सहसचिवमा लक्ष्मी पाण्डे, कोषाध्यक्षमा अम्बिका पाण्डे रहेका छन् । सदस्यहरूमा रामप्रसाद भट्टराई, रामप्रसाद खनाल, कमला सारू, अञ्जु भण्डारी, सकुन शाक्य र श्रीप्रकाश ढुंगाना चयन भएको निर्वाचन उपसमितिका संयोजक घनश्याम भट्टराईले बताउनुभयो । उहाँका अनुसार समितिका नयाँ पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । यसैगरी भेलाले भबिन्द्र गौतम संयोजक रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सदस्यहरूमा बालकृष्ण बश्याल र मञ्जु रेग्मी रहनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सहकारीले जनमैत्री अभियान संचालन गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा केही वित्तीय संस्थाले विपन्न परिवारको उठिबास बनाएको उहाँले बताउनुभयो । केही लघुवित्त वित्तीय संस्था र सहकारीले धेरै विपन्न परिवारको उठिबास बनाएका छन्’ उहाँले भन्नुभयो ‘उठिबास होइन, घरबास बसाउने र उनीहरूको आर्थिक उन्नतीमा टेवा पुग्ने खालका कार्यक्रम ल्याउन आवश्यक छ।’ संकटका बेला मात्र नभई सामान्य अवस्थामा पनि नागरिकलाई सहकारीले सहयोगी भूमिका निभाउनु पर्नेमा प्रमुख शाहीले जोड दिनुभएको छ । निर्वाचन उपसमितिका संयोजक घनश्याम भट्टराइले सहकारी विपन्न परिवारको सारथी बन्नुपर्ने बताउनुभयो । कुमारी बैंक पाल्पा शाखा प्रमुख अम्बिकाप्रसाद बश्यालले पारदर्शी र जवाफदेही भएर संस्था सञ्चालन गर्न सुझाव दिनुभयो । वयोवृद्ध टीकाराम बश्यालले एकताको भाव लिएर सहकारीमार्फत जनताको दुख सुखमा सहकार्य गर्नुपर्ने बताउनुभयो । १२५ जना शेयर सदस्य रहेको यस सहकारीमा ३१ लाख बढी शेयर पूँजी रहेको छ । सभाले संस्था सञ्चालनका लागि विभिन्न नीति निर्देशिका सहित अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ । गएको पुस महिनामा तानसेन नगरपालिकामा दर्ता भएर सहकारीले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । सहकारीले सुपथ पसल सञ्चालन गरेर उपभोक्तालाई सस्तो र गुणस्तीरय खाद्यवस्तु उपलब्ध गराउने लक्ष्य लिएको अध्यक्ष भीमलाल भट्टराइले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update