Erani Mahal
पाल्पामा काेराेना भाइरसकाे सङ्क्रमण दर किन बढ्दैछ ?
hh
पाल्पा (समाचार टिप्पणी) – पाल्पामा किन कोरोना सङ्क्रमण बढिरहेको छ । दिनहुँजसो कारोना सङ्क्रमितको संख्या बढ्दो छ । पाल्पामा हालसम्म १ हजार ६९५ जनाको कोरोना परीक्षण भएकोमा ४७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यो संख्या हेर्दा पाल्पाको क्वारेन्टाइनमा बसेका हरेक १०० जना व्यक्तिमध्ये २८ जना (कोभिड–१९) कोरोना भाइरस सङ्क्रमित छन् । यो सङ्ख्या प्रदेश पाँचमा सबैभन्दा धेरै हो । पाल्पामा पीसीआर जाँच नै धेरै भएकाले सङ्क्रमितको संख्या बढेको दावी सरकारी अधिकारीहरूको छ । तर सरकारी अधिकारीहरूको भनाईलाई मात्र विस्वास मान्ने आधार भने छैन । भारतबाट नेपाल आउँदै सङ्क्रमित भएर आएको हुन सक्ने भएकाले पनि पाल्पामा सङ्क्रमित बढेको दावी गरिएको छ । तर अन्य जिल्लामा सङ्क्रमितको दर हेर्ने हो भने भारतबाट आएका अधिकांशमा सङ्क्रमण भइरहेको छ भन्न सकिदैन । अब प्रश्न रह्यो किन सङ्क्रमण दर पाल्पामा बढ्दैछ ?
कतिपयले क्वारेन्टाइनमा असाबधानीपूर्वक भईरहेको आपसी सम्पर्क र सम्बन्धका कारण कोरोना बढेको दावी गर्छन् । क्वारेन्टाइनमा बसेका मानिसहरूका बीचमा भएको खानपान, बसाई तथा सम्बन्धका कारण कोरोना सरेको भन्न सकिने केही उदाहरण पनि छन् । जस्तो कि एउटै कोठामा धेरै मानिस बस्नुपर्ने, सामूहिक रुपमा भोज खाने, बसाई तथा खेलकुदमा दुरी कायम नगर्ने जस्ता गतिबिधि पाल्पाका क्वारेन्टाइनमा बढेको देख्न सकिन्छ । यही कारणले पाल्पामा कोरोनाको संक्रमण दर बढेको हो भन्ने दावीमा भने केही आधार छ ।
पाल्पामा धेरै संख्यामा कोरोना संक्रमण बढेपनि मानिसको स्वास्थ्य अवस्था भने सामान्य छ । अधिकांश १८ वर्षदेखि ६० वर्षमा मानिसमा कोरोनाको संक्रमण देखिएको छ । हालसम्म पूर्वखोला सिलुवाका ३६ वर्षका एक जना पुरुषको मात्र मृत्यु भएको छ । त्यसकारण कोरोनाबाट त्रसित र भयवित हुने अवस्था नरहेपनि समुदायमा कोरोना सर्नसक्छ की भन्नेतर्फ भने सचेत र सजग हुनुपर्ने भएको छ । किनकी अब हरेक गाउँमा कोरोनाको भाइरस पुगेको छ तर त्यो अहिलेसम्म गाउँसम्म, व्यक्ति–व्यक्तिसम्म पुग्न पाएको छैन । यद्यपी कोरोना माथागढीको चिदीपानी, रुप्सेमा समुदायसम्म फैलिएको छ की भन्ने भय कायमै छ । तर त्यो समुदायमा जाँच नगर्दासम्म थाहा हुने कुरै भएन । तानसेनस्थित गोरखदल गणका २ जना सेनामा पनि कोरोना देखिएपछि मानिसमा त्रास फैलिएको छ । आशा गरौँ अब सम्बन्धित निकायको सचेत पहलकदमी र आम पाल्पाबासीको सजगताबाट कोरोना समुदायसम्म सर्न पाउँदैन । भारतसहित विभिन्न देशबाट आएकालाई क्वारेन्टाइन राख्ने मानिसको संख्या अहिले पनि बढेको छ । आगामी दिनमा अहिलेसम्म क्वारेन्टाइनमा भईरहेको कमीकमजोरी हटाउन सके, संक्रमण दर पनि घटाउन सकिन्छ । संक्रमण दर घटे, थप आइसोलेसनमा बस्नुपर्ने खर्च र उपचार खर्च कम हुन्छ । अन्य व्यवस्थापनको खर्च कम हुन्छ । र यसले राज्यमाथि पर्ने आर्थिक भार पनि कम हुन्छ । मानवीय क्षति पनि कम हुन्छ ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update