Erani Mahal
पाल्पा अस्पतालमा कोरोना परीक्षणको लागि ल्याव राख्ने सरकारको निर्णय
pALPA hOSPITAL
पाल्पा अस्पतालमा कोरोना परीक्षण गरिने भएको छ । पाल्पा सहित १० स्थानमा कोरोना परीक्षणको ल्याव विस्तार गर्ने शुक्रवार सरकारले निर्णय गरेको हो । पाल्पामा पछिल्लो समयमा कोरोनाको विरामी बढ्दै गएको र पाल्पा सहित गुल्मी, अर्घाखाँची र बाग्लुङ्, स्याङ्गजा जिल्लाको समेत पिसिआर परीक्षण गर्नको लागि उपयुक्त स्थान भएकाले सरकारले पाल्पाका पिसिआर परीक्षण ल्याव स्थापना गर्ने निर्णय गरेको हो । हामीले पटक पटकको लिखित र मौखिक ध्यानाकर्षण र मागका आधारमा सरकारले पाल्पा अस्पतालमा पिसिआर मेसिन राख्ने निर्णय गरेको छ, पाल्पा क्षेत्र नं. २ का सांसद सोम प्रसाद पाण्डेले भन्नुभयो, यसले पाल्पा र आसपासका स्थानीयलाई सहजता ल्याउने छ । पाल्पामा तुरुन्तै मेसिन जडान गरेर सेवा सुचारु ग्रिने पाण्डेले बताउनुभयो । उहाँले पटक पटक स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव लगाएका विषयगत कार्यालयहरुमा पहल गर्दै आउनु भएको थियो । यस्तै पाल्पा क्षेत्र नं. १ का सांसद दलबहादुर राना, प्रदेश सभा सदस्य नारायण आचार्य, तुलाराम घर्तीले समेत पाल्पामा पिसिआर मेसिन जडानको लागि पहल गर्दै आउनु भएको थियो । सरकारले पाल्पा सहित १० स्थानमा ल्याव थप गरेको शुक्रवार एक सूचना जारी गर्दै सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको बैठकले सरकारी स्तरमा सञ्चालनमा रहेका थप १० वटा ल्याबमार्फत कोरोना परीक्षण गर्ने निर्णय गरेको हो । थप भएका १० वटा प्रयोगशालाहरु झापाको मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा पनि प्रयोगशाला सञ्चालन हुनेछ । हेनुहोस ः स्वास्थ्य मन्त्रालयको सूचना यसअघि नेपालभर सरकारी २३ वटा प्रयोगशालामा कोरोना परीक्षण भइरहेकामा अब ३३ वटा प्रयोगशालाबाट कोरोनोको पिसिआर विधिमार्फत परिक्षण हुनेछ । स्वास्थ्य मन्त्रलायले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना संक्रमण परीक्षण भएको छ । हालसम्म ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये २ हजार ६ सय ९८ जना निको भएका छन् । कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update