Erani Mahal
बगनासकालीको बजेट ४५ करोड ४ लाख, मुख्य प्राथमिकता स्वास्थ्य र कृषि
b 2
पाल्पा - बगनासकाली गाउँपालिकाको सातौं गाउँसभा आज सम्पन्न भयो । सभाले विशेष प्रस्तावसहित आर्थिक वर्ष २०७७/७८ को लागि ४५ करोड ४ लाख ६६ हजार २ सय ७४ रुपैयाँ बराबरको बजेट पास गरेको छ । गाउँपालिकाले आर्थिक विधेयक २०७७, विनियोजन विधेयक २०७७ साथै २५ विभिन्न शीर्षकका नीतिगत निर्णय सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो । आर्थिक विधेयकमा सम्पत्ती कर, भूमि कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, जडिबुटी कवाडी र जीवजन्तु कर, मनोरञ्जन कर, बहाल विरौटी शुल्क पार्किङ शुल्क, लगायतका १६ शीर्षकमा छलफलसहित पारित भएको हो । यस्तै विनियोजन विधेयकमा ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७/७८ को निमित्त बगनासकाली गाउँपालिकाको गाउँ कार्यपालिका, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यक्रमहरूको निमित्त विनियोजन गरिने जनाइएको छ । यस्तै चालु तथा पूँजीगत खर्च र वित्तिय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने गरी विनियोजन विधेय पारित भएको छ । गाउँपालिकाको कूल बजेट मध्ये कोभिड–१९ लाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको छ । जीवन रहे जीवन सुधार्न र सिंगार्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कोभिड– १९ को संक्रमणबाट बचाउन, संक्रमितहरूलाई उपचार गर्ने दायित्व बढेको भन्दै पालिकाले महामारी रोकथाम नियन्त्रण राहत, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन व्यवस्थापन, संक्रमित विरामीको उपचार लगायत अन्य विपद् व्यवस्थापनलाई सम्बोधन गर्ने गरी १ करोड विनियोजन प्रस्ताव गरेको छ । यस्तै कोरोना भाइरस संक्रमणको संवेदनसिल अवस्थालाई मध्येनजगर गर्दै स्वास्थ्यतर्फ ४५ लाख, बगनासकाली गाउँपालिकालाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउने अभियानलाई आ.व.०७७/७८ भित्रै मूर्तरुप दिन गत वर्षको अल्या रकमसहित यस वर्ष ५५ लाख विनियोजन गरिएको उपाध्यक्ष चिदिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा औंलाउनुभयो । गाउँपालिकाले कृषि विकासतर्फ समानिकरण बजेटबाट ५८ लाख ५० हजार र पशु विकास तर्फ ३१ लाख ५० हजार विनियोजन प्रस्ताव गरेको छ । कृषि र पशुमा गरिने लगानीबाट गाउँपालिकाले रोजगार सिर्जना भई आत्मनिर्भरतर्फ उन्मुख हुने अपेक्षा गरेपनि अपेक्षित बजेट विनियोजन गर्न सकेन । युवाहरूको लागि रोजगारी सिर्जना गर्न बैंक मार्फत साझेदारी गरी स्वरोजगरी अभियान संचालन गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन युवा स्वरोजगार कोषतर्फ २९ लाख विनियोजन गरिएको छ । यस्तै खानेपानी लिफ्टिीङ अनुदान विद्यतु महसुल अनुदान ४० प्रतिशत उपभोक्ता समितिलाई उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको र लिफ्टीङ खानेपानी आयोजनाका मोटर बिग्री मर्मत नहुने अवस्था सिर्जनाम भएमा खरिद गर्न ६० प्रतिशत रकम अनुदान उपलब्ध गराउनको लागि रकम विनियोजन प्रस्ताव गरिएको छ । नयाँ के छ ? आगामी आर्थिक वर्षमा बगनासकाली गाउँपालिकाले अभिभावकविहिन बालबालिकाहरूको स्याहार सम्भार र शिक्षाको निम्ति मासिक १००० का दरले राहत रकम उपलब्ध गराउन बालमैत्री कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेको छ । यस्तै पवित्र तिर्थस्थल राम्दीमा जन्मदेखि मृत्यु संस्कारसम्म उपयोगी हुने स्थायी संरचना निर्माणका लागि तानसेन नगरपालिका लगायत अन्य पालिका समेत साझेदारी हुने राम्दीघाट व्यवस्थापनमा लागि १५ लाख विनियोजन गरिएको छ । थोरै मात्र परम्परागत कार्यक्रम गाउँपालिकाले विनियोजन गरेको बजेटमा विगतका अधुरा योजनाहरूलाई पूरा गर्नेगरी प्राथमिकता दिई बजेट विनियोजन गरिएको, वडाहरूबाट आवश्यकता पहिचान भई आएका बजेट विनियोजन भई प्रस्ताव भई आएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिई निर्णाथ सभामा स्विकृतिका लागि प्रस्ताव गरिएको र शिक्षा स्वास्थ्य, पर्यटन, युवा तथा खेलकुद, गरिबी निवारण, सहकारी, सामाजिक परिचालन, सूचना तथा सञ्चार, बालबालिका, महिला, जेष्ठ नागरिक, आदिवासी जनजाती, अपाङ्ग, सीमान्तकृत बोटे र कुमाल जातिलाई परम्परागत शैलीमा बजेट विनियोजन गरिएको छ । मुख्य लक्ष्य गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा सीमित स्रोत र साधनको उच्चतम सदुपयोगका निम्ति राजस्वका दरहरू जनमैत्री तथा दायराहरू फराकिलो बनाउने नीति अवलम्बन गरिने जनाएको छ । यस्तै निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तण गरी जीवनस्तरमा क्रमीक सुधार ल्याउन कृषितर्फ कृषि उपज संकलन केन्द्रको सञ्चालन, प्रशोधन, संचय ढुवानी गर्ने कार्यक्रलाई कृषि सहकारीमार्फत सञ्चालन गर्ने जनाएको छ । यस्तैगरी युवालक्षित कृषि कार्यक्रममा कृषकहरूलाई आकर्षण गर्ने, पशुपालन व्यवसायलाई आधुनिक र व्यवसायीकरणतर्फ उन्मुख गराइने, विद्यालय भर्ना नभएका प्राथमिक उमेर समुहका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराउन वडा सदस्यहरू मार्फत प्रोत्साहित गरिने, विदेशबाट आउने नागरिकलाई क्वारेन्टाइनमा राखी अवधि पुगेपछि कोभिड–१९ को परीक्षण गरी घर पठाइने, बगनासकाली क्षेत्रका सम्भावित पर्यटकीय क्षेत्रहरूको पहिचानगरी व्यवस्थित गर्न पहल गरिने बताइएको छ । यस्तै युवा तथा खेलकुदतर्फ स्वास्थ्यका लागि खेलकुद आवश्यक महसुस गरी पालिकास्तरीय खेलकुद कार्यक्रम आयोजना गरिने, गरिव घरपरिवारहरूका लागि आर्थिक, सामाजिक विकासको लागि स्वरोजगारमूलक, सिपमुलक तालिमहरू सञ्चालन गरिने बताइएको छ । यस्तै गाउँपालिका क्षेत्रभित्रका सहकारीहरूको सञ्जाललाई सबल र सक्षम बनाउँदै छरिएर रहेका सहकारी संस्थाहरूलाई एकीकरण लागि पहल गरिने, सूचना तथा प्रविधिको उपयोगलाई सहज र सरल बनाउने नीति लिइने, लक्षित वर्गतर्फ महिला, बालबालिका, दलित, आदिवासी जनजाति, जेष्ठ नागरिक र फरक क्षमता भएकाहरूलाई विशेष बजेट विनियोजन गरी उत्थान, प्रोत्साहन र आत्मनिर्भरमा बजेट खर्च गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सभामा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकामा उपलब्ध स्रोत र साधनले धान्न नसकेका आयोजनाहरूलाई केन्द्र तथा प्रदेशमा पठाइने र साझा सहमतीका साथ प्रभावकारी कार्यान्वयनमा लाग्न सवैको सहकार्य आवश्यक रहनेमा जोड दिनुभयो । कोभिड–१९ को संक्रमण त्रासका कारण सामाजिक दुरी कायम गरी सभा छोटो छरितो गरिएको प्रमुख प्रशासकीय श्रेष्ठले बताउनुभयो । उहाँले विगतका वर्षमा जस्तो विशेष बनाउन सक्ने अवस्था नरहे पनि सभा सौहार्द वातावरणमा छोटो छरितो रूपमा सम्पन्न भएको औंल्याउनुभयो । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षतामा भएको सभामा उपप्रमुख सरस्वती चिदी दर्लामीले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update