Erani Mahal
रम्भा गाउँपालिकाकाे बजेट नीति तथा कार्यक्रम : कृषि,पशुपालन र विदेशबाट आएकालाइ प्राथमिकता
rambha budjet copy
पाल्पा - रम्भा गाउँपालिकाले "रम्भा गाउँपालिकाको शान, सुखी रम्भाबासी समृद्ध रम्भा हाम्रो अभियान " भन्ने नारालाई साकार बनाउने गरी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम र वजेटलाई केन्द्रित गरेको छ । गाउँपालिकाको अध्यक्ष विष्णू भण्डारी द्वारा प्रस्तुत नीति कार्यक्रममा कृषि तथा पशु पालनमा वैदेशिक रोजगारी गुमाएर फर्कनु भएका तथा देशमा रोजगारी गुमाई बस्नु भएका सम्पूर्ण रम्भाबासी नागरिकलाई कृषि व्यावसाय तथा पशु पालन व्यावसायमा उन्मुख बनाई आत्म निर्भर र स्वावलम्वी बनाउने उद्देश्यका साथ कृषि तथा पशु पालन पेशालाई उच्च प्राथमिकता दिइनेछ | कृषि पेशा प्रवर्द्धन तथा पशु पालन पेशालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउने कार्यक्रम ल्याईने छ | कृषि पेशालाई बढी प्रभावकारी बनाउन आधुनिक कृषि औजारहरु अनुदानमा उपलब्ध गराउने कार्यक्रम ल्याइने छ | उत्पादनमा आधारित अनुदानको प्रवन्ध मिलाइने छ | कृषि उत्पादकत्व वृद्धि गराउन उन्नत जातका विउ तथा मलको व्यवस्था अनुदानमा मिलाइने छ | रम्भा गाउँपालिकालाई आलुमा आत्म निर्भर बनाउने उदेश्यका लागि विगत वर्ष देखि आलुको विउमा दिदै आएको अनुदानमा वृद्धि गर्ने र उत्पादित आलु संरक्षण गर्न रम्भा-३, मा रहेको शीत भण्डार भरीपूर्ण गर्नका लागि सम्बन्धित कृषकहरुलाई शीत भण्डारको भाडामा छुटको प्रवन्ध मिलाइनेछ साथै आलुको विउको उत्पादनमा जोड दिइनेछ | फलफूलमा युवा भन्ने नारालाई अगाडी सर्दै युवा जनशक्तिलाई फलफूल खेती तर्फ आकर्षित गराउन आँप, लिची, कागती, जुनार, अमिलो, अनार जस्ता र लिची कागतीको व्लक स्थापना गर्ने कार्यक्रममा जोड दिनुका साथै खाली सावर्जनिक जग्गामा समेत फलफूलका विरुवा लगाउने कार्यमा जोड दिइने छ | स्वास्थ्यमा : पूर्ण संस्थागत सुत्केरी दिगोपनका लागि स्वास्थ्य संस्थामा संचालित वर्थिङ सेन्टरहरुलाई थप व्यवस्थित गर्दै सामुदायिक स्वास्थ्य इकाईहरुमा पनि वर्थिङ सेन्टर संचालन गर्ने कार्यक्रम ल्याइनेछ | स्वास्थ्य संस्थाहरुमा संचालनमा ल्याइएका प्रयोगशालाहरुमा गत वर्षबाट प्रारम्भ गरिएको निशुल्क सेवालाई निरन्तरता दिइनेछ | शिक्षामा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नारालाई आत्मसात गरी स्थापना भएको जन कल्याण माध्यमिक विद्यालय प्राबिधिक शिक्षालाई थप व्यवस्थित गर्दै यस आर्थिक वर्षमा रम्भा माध्यमिक विद्यालय ताहुँमा ईन्जिनियरिङ्ग विषयको प्राविधिक शिक्षा स्थापनामा जोड दिइनेछ | विद्यालयहरुमा कम्प्युटरको व्यवस्था गर्ने, ईन्टरनेट जडान गर्ने, स्मार्ट बोर्डको व्यवस्था गरी विद्यालयको पठनपाठनमा सूचना प्रविधि मैत्री बनाई प्रविधिलाई विशेष जोड दिइनेछ | कम्प्युटर शिक्षा, अंग्रेजी माध्यमको शिक्षालाई जोड दिइनेछ साथै अंग्रेजी माध्यमको कक्षा संचालन गरिएका विद्यालयको हकमा थप व्यवस्था मिलाईनेछ | प्रत्येक विद्यालयलाई बालमैत्री बनाई प्रत्येक एक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गरी ती विद्यालयको अनुसरण गर्न अन्य विद्यालयलाई उत्प्रेरित गराइने छ | खानेपानी तथा सरसफाई : स्वच्छ पिउने पानीको उपलब्धताका लागि एक घर एक धाराको व्यवस्था गर्ने नीतिलाई कडाईका साथ अवलम्वन गर्दै लिफ्ट खानेपानी तथा ग्राविटी खानेपानीका आयोजनाहरुलाई अगाडी बढाइने छ | अधुरा आयोजनाहरुलाई पूर्णता दिने काममा जोड दिइनेछ | यस आर्थिक वर्षमा १५०० घरमा धारा जोड्ने कार्य अगाडी बढाइने छ | स्वच्छ जीवनका लागि सुरक्षित पिउने पानी भन्ने अभियानलाई साकार बनाउन विगत वर्षबाट प्रारम्भ गरिएको फिल्टरको पानी तथा उमालेको पानी प्रयोग गर्ने विषय लाई पूर्ण रुपमा व्यावहारमा लागु गर्दै यस आर्थिक वर्षमा पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गरिने छ | सिंचाई : कृषि उत्पादकत्व वृद्धि गर्न कृषकहरुलाई आत्म निर्भर र स्वावलम्वी बनाउन स्थलगत सिंचाई, लिफ्ट सिंचाई, थोपा सिंचाई तथा भूमीगत सिंचाई आयोजनाहरु संचालनमा ल्याइनेछ | रम्भा गाउँपालिका भित्र संचालनमा ल्याइएका विभिन्न कुलाहरुको मर्मत तथा विस्तारका लागि विशेष योजना अगाडी बढाइने छ | साना सिंचाई कार्यक्रमको व्यवस्थापनमा विशेष जोड दिइनेछ | वर्षादको पानी संकलन गर्न अग्ला भागहरुमा पोखरी निर्माणमा जोड दिइनेछ साथै सिंचाइको लागि खेर गएको पानी व्यवस्थापन गरी आवश्यक बाँधको निर्माण गर्ने काममा जोड दिइनेछ | विद्युत : बाँकी रहेका काठका पोलहरुलाई विस्थापित गरी स्टिल पोलको व्यवस्थापन गरिने छ | गत आर्थिक वर्षमा टुकी रहित उज्यालो गाउँपालिका घोषणा गर्ने कार्यक्रम विशेष कारणले सम्पन्न गर्न नसकिएकोले यस आर्थिक वर्षमा घोषणा गरिनेछ | सडक : रम्भा गाउँपालिकालाई सडक संजालमा जोडिन बाँकी रहेका क्षेत्रहरुलाई सडकको पहुँच पुर्याउने कार्यलाई उच्च प्राथमिकता दिइनेछ | यस आ.व.लाई सडक स्तरोन्नती वर्षको रुपमा अगाडी बढाउदै ट्रयाक खुलेका सडकहरुमा पक्की नाली निर्माण गर्ने, ग्रावेल गर्ने, ग्रेड मिलाउने जस्ता कार्यमा जोड दिइनेछ | सहकारी : गाउँ-गाउँमा सहकारी घर-घरमा रोजगारी भन्ने नारालाई सफल बनाउन गाउँपालिका भित्र संचालित सवै सहकारीहरूलाई थप व्यवस्थित बनाउदै सकृय बनाइने छ | कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरु मार्फत विभिन्न प्रकारका आय-आर्जन तथा शीपमूलक तालिमहरु संचालनमा ल्याइने छ | पर्यटन : आय-आर्जनको मुख्य श्रोत पर्यटन व्यावसाय भएको हुँदा रम्भा गाउँपालिका भित्र रहेका धार्मिक एवं पर्यटकीय गन्तव्य स्थलको पहिचान, गुरुयोजना तयार संरक्षण तथा विस्तार गर्ने कार्यमा उच्चा प्राथमिकता दिइनेछ | पर्यटन क्षेत्रको प्रचार प्रसारको लागि रम्भादेवी, रिमिघा र कालीगण्डकी महोत्सव २०७७ संचालन गरिने छ | पर्यटन व्यावसायको मेरुदण्डको रुपमा रहेको होमस्टे व्यावसाय संचालनमा ल्याईनेछ | हेर्नुहोस बजेट नीति कार्यक्रमको पूर्णपाठ नीति तथा कार्यक्रम
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update