Erani Mahal
आज सूर्यग्रहण : कुन राशि भएकालाइ शुभ, कसलाइ अशुभ (हेर्नुहाेस)
garan
काठमाडौँ — आज कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान १० बजेर ५० मिनेट जाँदा ग्रहण सुरु हुनेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयाे । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाँले बताउनुभयाे । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । आजको सूर्यग्रहण मृगशिरा र आद्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयाे । सूर्यग्रहणको फल रशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष नेपालबाट सूर्यग्रहण आजको मात्र रहेको समितिले जनाएको छ । तर वैज्ञानिक मूल्यमान्यताअनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । आजको सूर्यग्रहण विश्वका केही भागबाट पूरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ । काठमाडौ‌बाट मध्याह्न १२ बजेर ४ मिनेट जाँदा सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिनेछ । आजको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताउनुभयाे । चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका दृष्टसमेत गुम्नसक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ । ग्रहण हेर्न बनाइएको विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यबिम्बको प्रतिबिम्ब बनाइ छाया हेर्नु नै हो । कहाँबाट हेर्न सकिन्छ सूर्यग्रहण ? सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित एउटा कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update