Erani Mahal
पाल्पामा किन बढ्दैछ काेराेना संक्रमितकाे संख्या ?
Coronavirus-
पाल्पा – पाल्पामा हालसम्म ४० जना कोरोना संक्रमित पुगेका छन् । भारतबाट पाल्पा आउने मानिसको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या समेत दिनहुँ बढेको छ । हालसम्म कोरोना परीक्षणको अवस्था हेर्ने हो भने भारतबाट आएका प्रत्येक १०० जनामा गरिएको पीसीआर परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । जबकी राष्ट्रिय अवस्था हेर्ने हो भने प्रत्येक १०० जनाको जाँचमा ४ जनामात्र देखिएको छ । यो अवस्था हेर्दा पाल्पाको कोरोनाको संक्रमणको दर राष्ट्रिय तुलनामा दोब्बर छ । हुनत भारतबाट आएका मानिसलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्न नसक्दा कोरोनाको संक्रमण फैलिएको हल्ला पनि चलेको छ । केही दिनअघि माथागढी गाउँपालिकाको बहादुरपुरस्थित क्वारेन्टाइनमा बसेका सबै रमाइलो भोजमा सहभागी हुँदा कोरोना फैलिएको हल्ला जिल्लाभर नै व्यापक बनेको छ । यस्तै पछिल्लो पटक संक्रमित भएका १७ जनामध्ये १६ जना रम्भा गाउँपालिकाले निर्माण गरेकाे एउटै क्वारेन्टाइनमा बसेका मानिसहरु रहेका छन् । यसले क्वारेन्टाइनबाटै संक्रमित हुने मानिसको संख्या बढेको छ भन्न सकिन्छ । क्वारेन्टाइनमा बसेकाबाट असुरक्षित व्यवहारका कारण काेराेना फैलिएकाे छ भन्न सकिन्छ । नत्र २९ जनाकाे परीक्षण गर्दा १७ जना संक्रमित हुने अवस्था कसरी भयाे ? यस्तो अवस्थामा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्दा संक्रमित भएका र नभएका मानिसलाई एकै स्थानमा राख्दा पनि कोरोना संक्रमणको दर पाल्पामा अझ बढ्ने निश्चित नै छ । हालको कोरोना संक्रमण दरलाई हेर्ने हो भने केही साताभित्रै पाल्पामा कोरोना संक्रमितको संख्या सयौँले बढ्ने देखिन्छ । जिल्लाका कतिपय क्वारेन्टाइन अव्यवस्थित हुँदा कोरोना संक्रमण बढ्ने निश्चित नै छ । क्वारेन्टाइनमा समूहमा बस्नुपर्ने बाध्यताले कोरोना संक्रमणको जोखिम बढेको छ । यस्तै क्वारेन्टाइनभित्र बसेका मानिसले अपनाउनुपर्ने आवश्यक सजगता नअपनाउँदा पनि कोरोनाको संक्रमण बढेको छ । गाउँपालिकाले क्वारेन्टाइनमा बस्ने र खाने व्यवस्थापन त गरेका छन् । तर त्यहाँ बस्दा उनीहरुको दैनिक व्यवहारमा भौतिक दुरी कायम गरिएको छ की छैन ? क्वारेन्टाइनभित्र बसेका मानिसलाई खानपान र बसाई व्यवस्थापन राम्रो गर्न सके कोरोनाको संक्रमण कम हुने देखिन्छ । अहिलेसम्म समुदायमा कोरोना संक्रमण देखिएको छैन । तर क्वारेन्टाइनमा बस्ने मानिसलाई असुरक्षित रुपमा भेट्न जाने, खाना तथा खाजा क्वारेन्टाइनमै परिवारका मानिसले छोड्न जाने र गाउँमा फर्कने कार्यले कोरोना समुदायसम्म सर्ने प्रबल सम्भावना रहेको छ । यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने देखिन्छ । हाल आएर स्थानीय तहले क्वारेन्टाइनमा बसेका सबैको पीसीआर गर्ने गरी गरेको पहललाई राम्रो मान्न सकिन्छ । तर क्वारेन्टाइनभित्र बसेका मानिससँग नियमित भेटघाट र व्यवस्थापनमा रहेका स्वास्थ्यकर्मी, जनप्रतिनि र सुरक्षाकर्मी समेत खुलेआम बाहिर घुमिरहेका छन् । उनीहरुबाट पनि कहीकतै कोरोना समुदायमा जाने सम्भावना छ । यसतर्फ पनि अहिले नै सचेत र सजग हुनुपर्ने देखिन्छ ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update