Erani Mahal
'सिद्धार्थ आर्थिक कोरोडोर' याेजनालाई अघि बढाउन बैठक हुने
unnamed
पाल्पा – सिद्धार्थ आर्थिक कोरोडोरलाई कार्यान्वयन तहमा लैजान शनिबार ५ नं. प्रदेश र गण्डकी प्रदेशका स्थानीय तहहरूको सहभागितामा भर्चुअल बैठक हुने भएको छ । सिद्धार्थ आर्थिक कोरिडोर संचालनका लागि योजना, अर्थ, विज्ञ तथा जनप्रतिनिधिहरुको सहभागितामा बजेट पूर्व तयारी बैठक हुन लागेको हो । बैठकमा सिद्धार्थ आर्थिक कोरिडोरलाई कसरी अगाडि बढाउने, प्रदेश, स्थानीय सरकारले गर्न सक्ने काम, योजना तथा बजेटका बारेमा छलफल हुने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । सिद्धार्थ आर्थिक कोरिडोरले १५ वटा स्थानीय तहका जनताको आर्थिक तथा समाजिक जीवनमा सकारात्मक सुधार ल्याउने नगरप्रमुख शाहीले उल्लेख गर्नुभयो । गत मंसिर १५ गते तानसेनमा भएको गण्डकी र ५ नं. प्रदेशका १५ वटा स्थानीय तहका प्रमुखहरुको भेलाले तानसेन घोषणापत्र समेत जारी गरिसकेको छ । घोषणापत्र अनुसार काम अगाडि बढाउन भर्चुअल बैठकको आयोजना गरिएको हो । बैठकमा पोखरा महानगरपालिकाका प्रमुख, बुटवल उपमहानगरपालिकाका प्रमुख, ५ नं. प्रदेश र गण्डकी प्रदेशका योजना आयोगका उपाध्यक्ष र सिद्धार्थ राजमार्गले छोएका स्थानीय तहका प्रमुखहरुको सहभागिता रहनेछ । विगतमा बनेको सिद्धार्थ राजमार्ग क्षेत्रमा जोडिएका स्थानीय तहहरुले एकीकृत रुपमा विकास तथा अन्य सामाजिक गतिबिधि गर्ने र पहाडबाट बसाईसराई रोक्ने तथा समान विकास गर्ने उद्देश्यले आर्थिक कोरिडोरको प्रस्ताव अघि सारिएको हो । यो प्रस्तावलाई अघि बढाउन युएनडिपी, इपिआइ र एसिया फाउण्डेसनले सहयोग गर्दै आएको तानसेन नगरपालिकाका अधिकृत विष्णु पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update