Erani Mahal
पाल्पा र गुल्मीमा कोरोना विरुद्धको तयारी फितलो, संक्रमण फैलिने जाेखिम
pcr-palpa
माधव अर्याल पाल्पा — कोरोना संक्रमण रोकथामका लागि पाल्पा र गुल्मीमा तयारी फितलो छ । परीक्षण किट पर्याप्त छैनन् । आइसोलेसन बेड थोरै मात्र छन् । स्वास्थ्य सामग्रीकै अभाव छ । गम्भीर प्रकृतिका संक्रमितलाई राख्न भेन्टिलेटर व्यवस्था गरिएको छैन । सिमाना जोडिएका रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुमा संक्रमितको संख्या बढिरहँदा यहाँ पनि भारतबाट नागरिकहरू आउने क्रम जारी छ । पाल्पामा १ सय २० आइसोलेसन बेड बनाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय छ । तर अहिलेसम्म सुनिश्चित गरिएको छैन । पाल्पा अस्पतालमा एक, रामपुर अस्पतालमा दुई, मिसनमा तीन र लुम्बिनी मेडिकल कलेजमा ९ बेड मात्र आइसोलेसनका लागि छुट्ट्याइएका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेका अनुसार रामपुर र तानसेनमा ५०/५० साथै खस्यौली र ताँहुमा १०/१० बेडको आइसोलेसन कक्ष बनाउने निर्णय भएको छ । ‘निर्णय भए पनि अझैसम्म तयारी छैन,’ उनले भने, ‘भेन्टिलेटर राख्न समस्या छ, अक्सिजनसम्म व्यवस्थापन गर्न सके राम्रो हुन्थ्यो भन्ने छ ।’ लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव निर्दोष खनालका अनुसार कोभिड सेन्टरका रूपमा सय बेडको आइसोलेसन कक्ष निर्माण सुरु भएको छ । कलेजले छात्रा होस्टेलको एउटा ब्लकलाई आइसोलेसन कक्षका रूपमा प्रयोग गर्न दिने भएको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीका अनुसार ३ हजार क्वारेन्टाइन बेड बनाउने योजना भए पनि अहिलेसम्म ९ सय ३८ बेड तयार भएका छन् । तिनमा शनिबारसम्म २ सय १० जना बसेको रेकर्ड छ । पाल्पामा ४ सय ३४ जनाको आरडीटी र ७४ जनाको पीसीआर गरिएको छ । आइतबारसम्म २ सय पीसीआर र १ हजारजति आरडीटी किट बाँकी छन् । ‘केस पोजिटिभ देखिनेबित्तिकै ट्रेसिङ गर्न पर्ने हो भने सामग्री केही पनि पुग्दैनन्,’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख न्यौपानेले भन्नुभयाे । भारतबाट घर फर्किएकालाई राख्न तानसेनमा सय बेडको ‘होल्डिङ क्वारेन्टाइन’ निर्माण गरिएको छ । कम्तीमा एक रात ‘होल्ड’मा बसेपछि स्थानीय तहले आफ्ना नागरिक लैजान सक्ने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताउनुभयाे । जनप्रिय मावि बर्तुङ र विज्ञान क्याम्पस बतासेमा क्वारेन्टाइन बनाइएको हो । होल्डिङ क्वारेन्टाइनमा एउटा बस र जिपको व्यवस्था गरिएको छ । त्यहाँ बस्नेहरूको नियमित स्वास्थ्य जाँच गरिनेछ । पालिकाहरूले प्रत्येक दिन भारतबाट आउने व्यक्तिको विवरण जिल्ला प्रशासन कार्यालयमा अपडेट गराउनुपर्ने, लुकीछिपी आउनेलाई रोक्न पालिकास्तरमा निगरानी समूह खटाउने निर्णयसमेत गरिएको छ अहिलेसम्म दुई संक्रमित देखिइसकेको गुल्मीमा पनि पर्याप्त स्वास्थ्य सामग्री छैनन् । पुर्कोट दहका संक्रमितको तम्घासस्थित आइसोलेसन कक्षमा उपचार भइरहेको छ । केही दिनअघि पुर्कोटदहका ४१ वर्षीय शिक्षकको कोरोनाले मृत्यु भएपछि सम्पर्कमा रहेका ३० जनाको परीक्षण गर्दा एक जनाको पोजेटिभ देखिएको हो । दाङको तुलसीपुर नगरपालिका घर भएका उनी मदाने गाउँपालिकामा निजी बैंकका जागिरे हुन् । उनको सम्पर्कमा रहेका ७ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले बताउनुभयाे । ‘उनीहरूको कन्ट्र्याक्ट ट्रेसिङ भइरहेको र भेटिएका सबैको स्वाब परीक्षण गरिनेछ,’ उहाँले भन्नुभयाे, ‘संक्रमितको अवस्था सामान्य छ ।’ गुल्मीमा अहिलेसम्म १ सय १२ जनाको पीसीआर र २ सय १७ जनाको आरडीटी गरिएको छ । १ हजार ५ सय ८९ जना बस्न मिल्ने क्वारेन्टाइन छ । अहिले त्यहाँ १ सय ३१ जना बसेका छन् । तम्घासमा २० बेडको आइसोलेसन कक्ष मात्र छ । जिल्लामा पीपीई ७९ र सर्जिकल मास्क पनि ८ सय थान मात्र रहेको शर्माले बताउनुभयाे । इकान्तिपुरबाट ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update